
News Summary
Generated by OK AI. Editorially reviewed.- डहरे खोलाले गुल्मीमा मंगलबार बिहान ११:४५ बजे बीएए००१७ नम्बरको कार ५० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
- कार बगाउँदा कुनै मानविय क्षति नभएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताउनुभयो।
- डहरे खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा सडक अवरुद्ध र सवारीसाधन बगाउने समस्या निरन्तर भइरहेको छ।
२० साउन, गुल्मी । अविरल वर्षासँगै आएको भेलले गुल्मीको डहरे खोलाले कार बगाएको छ । सत्यवती गाउँपालिका वडानम्बर–६ उर्लीखोला स्थित डहरेखोलामा शान्तिपुरबाट बुटवल तर्फ जाँदै गरेको बीएए००१७ नम्बरको कार बगाएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान ११:४५ बजेको समयमा डहरे खोलाले बगाएर कार ५० मिटर तल पुर्याएको थियो । स्थानीय र ट्याक्टरको सहायताले कार खोलाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
खोलाले बगाउँदा कारमा क्षति पुगे पनि मानविय क्षति भने नभएको गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । पक्की पुलको अभावले यस क्षेत्रका नागरिकले वषौंदेखि सास्ती खेप्दै आएका छन् ।
आइतबारदेखि गुल्मी लगायतका ठाउँमा निरन्तर वर्षा भइरहेको छ । वर्षातले डहरे खोलामा पानीको बहाव बढेकोले सडक अवरुद्ध हुँदै आएको थियो । डहरे खोला हुँदै वामिटक्सार र छिमेकी जिल्ला बाग्लुङबाट बुटवल छुटने सावरीसाधनहरू वर्षातको समयमा खोला बढ्दा बाटोमै घण्टौं कुरेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
रिडीदेखि वामिटक्सार सम्मको सडक अन्तर्गत चार स्थामा पक्की नहुँदा वर्षातको समयमा सवारी साधनहरूले सास्ती खेप्दै आएको छ । सडक सुचारु भएको वषौं बित्दा समेत डहरे खोलामा पुल नहुँदा खोला तर्ने क्रममा सवारीसाधनहरू बगाउने समेत गरेको छ ।
सवारीसाधनको अत्यन्तै चाप रहेको उक्त सडकमा पक्की पुल र सडकको अवस्था अत्यन्तै दयनीय छ । पक्की पुल नहुँदा डहरे खोलामा अत्यन्तै जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको मुसिकोट नगरपालिका वडानम्बर–४ भुवाचिदीका समाजसेवी ज्ञानहरी सापकोटाले बताए ।
सडक डिभिजन कार्यालय पाल्पा मार्फत सत्यवती गाउँपालिकाको नादेवा खोला पुलशाहाघाट, सत्यवतीकै डहरे खोला पुल, सत्यवती र चन्द्रकोट गाउँपालिकाको भार्से खोला पुल चोरकाटेमा निर्माण कार्य भइरहेको छ ।
त्यस्तै चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको गिद्दी खोलामा पुल बनिरहेको छ ।
रिडी रुद्रावेनी वामिटक्सार सडक हुँदै गुल्मी र छिमेकी जिल्ला बाग्लुङसम्म पुग्ने सवारीसाधन आउजाउ गर्ने गर्दछन् । यो सडक गुल्मी जिल्लाको निकै पुरानो सडक हो ।
प्रतिक्रिया 4