+
+
Shares

सेयर बजारमा कारोबार रकम घटेको घट्यै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार घट्दै गएपछि कारोबार रकम पनि घट्दै गएको छ, साउन २० गतेसम्म कारोबार रकम आधाभन्दा कममा झरेको छ।
  • स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिँजापतिले भने, 'बजार घट्न थाल्यो त्यसपछि थप करेक्सनको आसले पैसा बजारमा एकैपटक नआउने'।
  • लगानीकर्ता सुवासचन्द्र ढुंगानाले घट्दो बजारमा सेयर मूल्य कम हुँदा कुल कारोबार रकममा असर परेको र यो अवस्था स्वभाविक रहेको बताउनुभयो।

२० साउन, काठमाडौं । सेयर बजार घट्दै जान थालेपछि कारोबार रकम पनि सुक्दै गएको छ । गत वर्षको साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँको धितोपत्र कारोबार भएको रेकर्ड छ ।

गत साता आइतबार (११ साउन)मा भएको कारोबार रकम त्यसयताकै उच्च हो । गत साता आइतबार २६ अर्ब ५७ करोडको कारोबार भएको थियो । गत साता सोमबार १९ अर्ब ३६ करोड, मंगलबार १८ अर्ब ५२ करोड, बुधबार १६ अर्ब ४४ करोड तथा बिहीबार १५ अर्ब ९८ करोडको कारोबार भयो ।

यो साता पनि कारोबार रकम घट्दै गएको छ । आइतबार १३ अर्ब ७ करोड, सोमबार १० अर्ब ८२ करोड तथा मंगलबार ९ अर्ब ३३ करोडको कारोबार भयो । समग्रमा ८ कारोबार दिनमै यस्तो रकम आधाभन्दा कममा झरेको छ ।

बजारको अंक नै घट्दै गएपछि कारोबार रकम पनि घटेको जानकार बताउँछन् । ‘बजार बढ्दै जाँदा कारोबारीको नाफा पनि बढ्दै गयो, नाफासहितको रकम बजारमा घुमिरह्यो जसले गर्दा कारोबार रकम उल्लेख्य बढ्यो’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष नरेन्द्र सिँजापतिले भने ।

जब बजार घट्न थाल्यो त्यसपछि थप करेक्सनको आसले पैसा बजारमा एकैपटक नआउने उनले बताए । बजार घट्दै जाँदा थप घट्ने आशले लगानीकर्ता लागत मूल्यमा ‘एभरेजिङ’ गर्दै जान्छन् । यहीं कारण घट्दो बजारमा एकै पटक पैसा नआउने र त्यसले स्वतः कारोबार रकम पनि घट्दै जाने गर्छ ।

अर्कोतर्फ घट्दो बजारमा सेयर मूल्य पनि कम हुने भएकाले त्यसले पनि कुल कारोबार रकमलाई असर पार्ने गरेको लगानीकर्ता सुवासचन्द्र ढुंगाना बताउँछन् । तर बजार घट्दा कारोबार रकम घट्दै जानुलाई राम्रो संकेतमा रुपमा बुझिन्छ । यसले डराएर धेरै सेयर बिक्री गर्ने धेरै छैनन् भन्ने एउटा अर्थ लाग्छ, अर्कोतर्फ खरिद गर्ने पनि पर्खिएका छन् भन्ने अर्थ लाग्छ ।

घट्दो बजारमा उच्च रकममा खरिद भएको पैसा सेयरमै होल्ड हुनु र नाफा बुक गरेकाले थप घट्ने आशले थोरै थोरै मात्र बजारमा लगानी गर्नुले कारोबार रकम सुक्दै जानु स्वभाविक रहेको ब्रोकर सञ्चालक बताउँछन् ।

बजारबाट अन्य क्षेत्रमा पैसा जाने वातावरण बनेको छैन । घट्दो ब्याजदर र बैंकमा पर्याप्त लगानीयोग्य रकम भएकाले सेयर बजारको पैसा निक्षेपमा गएर बस्ने अवस्था नरहेको ढुंगानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?