
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन मेडिकल कलेजको आईसीयूमा उपचाररत ११ वर्षीय बालकले झार मार्न प्रयोग हुने पाराक्वेट विषादी सेवन गरेका छन्।
- डाक्टर विराज पराजुलीले बालकको अन्ननली, कलेजो र मिर्गौलामा विषादीले गम्भीर क्षति पुर्याएको उल्लेख गरेका छन्।
- अबदेखि घर भित्र कुनै पनि विषादी नराख्ने सोच बनाएको हरिराम शर्मा बताउँछन्।
२१ साउन, चितवन। सन्तानको उज्यालो भविष्यको खोजीमा हरिराम शर्मा (नाम परिवर्तन) दुई वर्षअघि श्रीमती, छोरी र छोरासहित काभ्रेबाट हेटौंडा बसोबास गर्न आए । व्यवसायिक खेती गर्ने भनेर एउटा सानो कच्ची घरसहित ६ बिघा जग्गा भाडामा लिए ।
त्यही जग्गामा धान, मकै, आलु र गहुँ खेती गरे । बेलाबेला मल हाल्थे, विषादी प्रयोग गरेर उत्पादन बढाउँथे । त्यही बेचेर खर्च चलाउँथे । गोठमा केही दुहुना भैंसी पनि थिए । छोराछोरीलाई खुवाएर बचेको दूध बेच्थे ।
१७ वर्षीया छोरी र ११ वर्षीय छोरालाई नजिकैको एक विद्यालयमा भर्ना गरेका थिए । छोरा अध्ययनमा तेज थिए । कक्षा चारमा उनी फस्र्ट भएर कक्षा ५ मा यसै वर्ष भर्ना भएका थिए । त्यतिबेला रिजल्ट लिन विद्यालय गएका हरिरामका खुसीका आँसु झरे ।
उनलाई लागेको थियो– मैले पढ्न नसकेर दुःख पाए पनि छोरोले अब सुख पाउने छ । तर त्यही छोरा यही साउन १३ गते नागपञ्चमीको दिन झार मार्ने रासायनिक विषादी सेवन गरेर इन्तु न चिन्तु भएपछि शर्माको सपनामा बज्रपात भएको छ । हेटौंडा अस्पताल हुँदै चितवन मेडिकल कलेज (सीएमसी)मा ल्याइपुर्याइएका बालक आईसीयू बेडमा दिनहुँ गल्दै गएको हेर्न शर्मा विवश छन् ।
अस्पताल परिसरमा अनलाइनखबरसँग कुरा गर्दै शर्मा भन्छन्, ‘छोरो आजसम्म त होसमै छ । बाबा घर कहिले जाने भन्छ ।’ बालकको उपचारमा संलग्न चिकित्सक डा. विराज पराजुलीका अनुसार झार मार्न प्रयोग हुने पाराक्वेट नामको विषादी ती बालकले सेवन गरेका थिए ।
उनी भन्छन्, ‘बाहिरबाट सामान्य देखिए पनि भित्री अंगहरूमा गम्भीर क्षति पुगेको छ । विषादीले बालकको अन्ननली, कलेजो र मिर्गौलामा असर गरिसकेको छ । मिर्गौलालाई बचाउने कोसिसमा डायलासिस गर्ने तयारी छ ।’
डाक्टर पराजुली थप्छन्, ‘पिसाब कम भइरहेको छ, क्रेटिनिन बढेको छ, रगतको रिपोर्ट पनि राम्रो छैन ।’ उनले भने, ‘पाराक्वेट विषादीको असर कम गर्ने औषधि नहुने भएकाले सपोर्टिभ उपचार मात्रै गर्ने हो । विषादीको मात्रा कति खाएको छ भन्ने कुराले बिरामीको अवस्था निर्धारण हुन्छ।’
उनका अनुसार चितवन मेडिकल कलेजको आईसीयूमा ६ दिन अगाडि भर्ना भएका बालकको अवस्था पहिलेको भन्दा कमजोर हुँदै गएको छ । आईसीयू कक्ष बाहिर बालकका बुबा, आमा र दिदी आश साँचेर बसिरहेका छन् । बुवा हरिराम शर्मा भन्छन्, ‘भगवानसँग प्रार्थना गरिरहेका छौं।’
सन्तानको खुसीका लागि सारा दुःखको नाम्लो आफ्नै थाप्लोमा थापेका शर्मा दम्पत्ति छोरो अस्पताल भर्ना भएदेखि बेचैन छन् । उनी आईसीयूमा बेलाबखत पुग्छन्, छोराको अनुहार हेर्छन् अनि फर्किन्छन् । दुःखजिलो गरेर सन्तानका आवश्यकता पूरा गर्दै आएका शर्मा दम्पत्तिलाई बेलाबखत आउने चाडपर्वको दिनले झन् पिरोल्छ । साउन १५ को दिन पनि पीडा भयो शर्मालाई।
‘साउन १५ गते खीर खाने दिन भनेर छोराले सम्झायो, खीर खाने भन्यो, अस्पतालमा कहाँबाट ल्याउने ? सोचेँ छोराको यही धोको पनि भोलि पूरा गर्न सकिनँ भने सधैंका लागि पछुतो हुन्छ भनेर मानवसेवा आश्रमबाट ल्याएर खीर खुवाएँ’ हरिराम भन्छन्, ‘मेरो त यही साहारा हो, आजसम्म यसका सबै चाहाना पुरा गरेकै थिएँ, यति किन नगरौं भनेर अस्पतालको बेडमा खीर खुवाएँ।’
आईसीयूको काउन्सिलिङ कक्षमा छोराबारे अनलाइनखबरसँग कुरा गर्दा उनी पटक-पटक भक्कानिए । किनकी आईसीयूमा भर्ना हुँदा डाक्टर तथा नर्सहरूसँग हाँसेर कुराकानी गरेका छोरा अहिले विस्तारै सिथिल हुन थालेका छन् । दिनदिनै छोरा गल्दै गएको देखेका हरिराम भन्छन्, ‘म छोराको पीडा हेर्न नसक्ने भएको छु ।’
उनलाई छोरोको स्वास्थ्य सुध्रिनेमा थोरै आशा भने बाँकी छ । उनका अनुसार छोराले खाएको विषादीको म्याद सकिन केही दिनमात्र बाँकी थियो । अनि छोरोले अहिलेसम्म हरेस नखाएको उनलाई लागेको छ ।

‘विषादी खाएको थाहा पाउनासाथ साबुन–पानीको झोल खुवाएर बान्ता गराइएकाले असर धेरै परेन कि भन्ने लाग्छ । तर डाक्टरले भनेको सुन्दा चिन्ता लाग्छ,’ शर्मा निराश हुन्छन् ।
छोरा गल्दै गएपछि उनले श्रीमती र छोरीलाई पनि आफूसँगै अस्पताल ल्याएका छन् । ‘श्रीमतीलाई पनि असैह्य पीडा छ, घरमा कसरी एक्लै छाड्ने ?’ शर्मा भन्छन्, ‘छोराको चिन्ताले श्रीमतीलाई पनि केही भइहाल्यो भने के गर्ने भन्ने डरले आफूसँगै अस्पतालमा ल्याएँ । कम्तीमा मैले यहाँ सम्झाउन त पाएको छु ।’
उनले काकाकी एक छोरी पनि विषादीले बितेको कुरा छोराछोरीलाई सम्झाउँथे । कहिल्यै चलाउन हुँदैन भनेर सम्झाउँथेँ । तर आफ्नै छोरोबाट कसरी यस्तो गल्ती भयो भनेर उनले सोच्न पनि सकेका छैनन् ।
‘काभ्रे उति टाढाबाट आएको हाम्रो कोही छैन बाबु, मैले नपढेर दुःख पाएँ तर तिमी पढेर फस्ट हुनुपर्छ है भनेर सम्झाइरहन्थेँ, पढाइभन्दा ठूलो केही हैन भनेर सम्झाउँथेँ,’ हरिराम भन्छन्, ‘बच्चाको भविष्यबाट हामीले आँखा देख्ने हो जस्तो लाग्थ्यो, बाठो थियो, टाठो पनि थियो, म त मेरो संसार नै यही ठानेको थिएँ ।’

यसपटक पहिलो सत्रको परीक्षा चलिरहेको थियो । केही दिन अगाडि छोरालाई मौरीले खुट्टामा टोक्यो। ‘४/५ दिन अगाडिबाट एकदमै निदाउने गर्दथ्यो, हामीलाई पनि रोपाइँको चटारो थियो, परीक्षाको तनावले होला भनियो, सम्झाउने काम पनि गरियो’ बुबा हरिराम भन्छन्, ‘तर एकदमै झर्किने, खाना खान पनि उति मन नगर्ने, परीक्षा नै छाड्ने अवस्था आयो। उसलाई केही चिजले दुःख दिएको जस्तो लाग्यो।’
‘पहिला निकै बिरामी हुन्थ्यो बाबु, औषधि पनि आफैं खोजेर आफैं खान्थ्यो, अहिले त धेरै नै बुझ्ने भएको थियो,’ हरिराम भन्छन्, ‘अहिले बेलाबखत हामी कहिले घर जाने भन्छ बाबुले। निको भएर जाने भनेको छु । बाबा मैले झुक्किएर विषादी खाएँ, गल्ती गरेँ, अब कहिल्यै छुन्न, अब कहिल्यै यस्तो गर्दिनँ भन्छ । उसका कुरा सुन्दा झन् पीडा हुन्छ।’
नागपञ्चमीको अघिल्लो दिन रोपाइँ भएको खेतमा झार नआउने विषादी हाल्न भनेर हरिरामकी श्रीमतीले भर्याङ्गको माथिल्लो भागमा अड्काएर राखेको विषादीको बोरा निकालिन् । तीन महिना अगाडि किनेर ल्याएको तर थोरै मात्रै बाँकी रहेको पाराक्वेट विषादी त्यहीँ थियो। मकै बारीको आलीको झार मार्न ल्याएको पाराक्वेट हरिरामकी श्रीमती धारामा विषादी छर्केने भाँडो (पम्प) लिन गएको बेला मोबाइल हेरिरहेको छोराले आएर कतिबेला खाए पत्तो भएन।
‘गरिबलाई विष हाल्न लगाउने रहेछन्’
बालीनालीमा प्रयोग गर्ने विषादीले मान्छेलाई पनि गम्भीर असर गर्छ भन्ने कुरा आफूले हेटौंडामा आएपछि मात्रै चाल पाएको हरिराम बताउँछन् । व्यावसायिक खेती गर्नेहरु र केही सम्पन्न मान्छेहरुले अरु गरिब तथा विपन्न मानिसहरु खोजेर विषादी हाल्ने गरेपछि आफूले यसबारे बुझेको उनले सुनाए ।
‘घण्टा अनुसार पैसा दिएर बिना सुरक्षा विषादी हाल्न लगाएको देखेपछि मैले थाहा पाएँ यसबाट असर हुने रहेछ,’ शर्मा भन्छन्, ‘ ८/९ वर्ष लगातार विषादीमा काम गरेपछि क्यान्सर जस्ता रोग पनि लाग्छ भन्ने थाहा पाएँ । त्यो कुरा थाहा पाएपछि मैले आफ्नो बाहेक अरुकोमा गएर विषादी हालेको छैन ।’
उनलाई लाग्छ जसले विषादी बनाएको छ, उसले नै औषधि पनि बनाओस्, यस्ता कडा खालका रासायनिक विषादीहरु बेचबिखन गर्न रोक लगाइयोस् । उनी भन्छन्, ‘रासायनिक विषादीका अनेक विकल्पहरु रहेछन् तर हामीलाई कसैले भनेन । विषादी जे प्रयोजनका लागि ल्याएको हो, त्यहीँ प्रयोग गरेपछि सबै नष्ट गर्नुपर्छ भन्ने बुझेको छु।’

उनी अबदेखि घर भित्र कुनै पनि विषादी नराख्ने सोच बनाएको बताउँछन् । ‘घरभन्दा अलि पर छुट्टै ठाउँ बनाएर विषादी राख्ने र मानिसलाई कम हानी गर्ने विषादी मात्रै खेतबारीमा प्रयोग गर्नुपर्ने ज्ञान भएको छ,’ शर्मा भन्छन्, ‘रासायनिकको सट्टा सकेसम्म जैविक औषधि प्रयोग गर्नुपर्ने रहेछ।’
प्रतिक्रिया 4