
२१ साउन, काठमाडौं । लामो समयदेखि रिक्त रहेका चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ ।
हरेक प्रतिष्ठानका लागि १० भन्दा बढी आवेदन परे पनि मन्त्रालयले ६/६ जनाको नाम समावेश गरी सूची सार्वजनिक गरेको हो ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सत्ता साझेदार दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भागबन्डा टुंगिएपछि मात्र सर्टलिस्ट सार्वजनिक गरिएको हो । सत्तारूढ नेकपा एमालेले पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान आफ्नो भागमा पारेको छ भने नेपाली कांग्रेसको भागमा बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परेको छ ।
स्रोतका अनुसार पाटन प्रतिष्ठानमा उपकुलपतिका लागि प्रा.डा. बुद्धिप्रसाद पौडेलको नाममा सहमति जुट्न लागेको बुझिएको छ । उनको प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूमा प्रा.डा. गेहनाथ बराल, डा. दीपक थापा मगर, प्रा.डा. पवनकुमार शर्मा, प्रा.डा. विष्णुप्रसाद शर्मा र प्रा.डा. सृजना श्रेष्ठ छन् ।
एमालेकै भागमा परेको पोखरा प्रतिष्ठानमा भने एमाले नेतामाझ नै उम्मेदवार छान्ने रस्साकस्सी देखिएको छ । पार्टीनिकट चिकित्सकहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रा.डा. चण्डिका पण्डित वा प्रा.डा. भरतबहादुर खत्रीमध्ये एक जनालाई उपकुलपति बनाउन प्रस्ताव गरेका छन् ।
तर, पूर्वस्वास्थ्य मन्त्री तथा गण्डकी प्रदेशका प्रभावशाली नेता खगराज अधिकारी भने प्रा.डा. विधानिधि पौडेलको पक्षमा सक्रिय देखिएका छन् ।
अन्य प्रतिस्पर्धीमा प्रा.डा. नारायणसिंह गुरुङ, प्रा.डा. अर्जुन आचार्य र प्रा.डा. माया लामा छन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति चयन प्रक्रिया भने थप जटिल बनेको छ । एमालेले समर्थन गरेका भनिएका प्रा.डा. सञ्जीव शर्मा सर्टलिस्टमै नपरेपछि प्रतिष्ठान कांग्रेसकै भागमा पुगेको संकेत देखिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला बीपी कोइराला प्रतिष्ठानको उपकुलपति आफ्नै दलको सिफारिसमा हुनुपर्ने पक्षमा छन् । उनीहरूका लागि बीपी कोइराला प्रतिष्ठान छाड्नु राजनीतिक रूपमा स्वीकार्य नभएको स्रोतले जनाएको छ ।
किनभने बीपी कोइराला देशकै ठूलो प्रतिष्ठान हो । कांग्रेसनिकट उम्मेदवार प्रा.डा. रामेशराज कोइराला, प्रा.डा. रोहितप्रसाद यादव र प्रा.डा. प्रह्लाद कार्कीबीच कडा प्रतिस्पर्धा छ ।
सामाजिक सञ्जालमा सक्रिय र पार्टी नेतृत्वप्रति बेलाबेलामा टिप्पणी गर्ने प्रा.डा. कोइरालाप्रति कांग्रेस सभापति देउवा असन्तुष्ट रहेको बताइएको छ । तर कांग्रेस महामन्त्री गगनकुमार थापा र वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेल भने कोइरालाप्रति सकारात्मक छन् ।
यदि देउवाले कोइरालालाई रोकेमा प्रा.डा. कार्की वा प्रा.डा. यादव उपकुलपति बन्न सक्ने देखिन्छ । सर्टलिस्टमा परेका अन्य उम्मेदवारमा प्रा.डा. कृष्णकुमार राई, प्रा.डा. पशुपति चौधरी र प्रा.डा. बिक्रमप्रसाद श्रेष्ठ छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व पनि कांग्रेसले पाएको छ । यस प्रतिष्ठानका लागि सह-प्रा.डा. डबलबहादुर धामी र सह-प्रा.डा. पुजनकुमार रोकायालाई अगाडि सारिएको छ ।
उनीहरूसँगै सह-प्रा.डा. एलिजा श्रेष्ठ, डा. पवनजंग रायमाझी र प्रा.डा. श्रीकृष्ण गिरी पनि प्रतिस्पर्धामा छन् ।
पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका पद गत चैतको तेस्रो सातामा रिक्त भएका थिए ।
त्यस्तै, पाटन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति चैतको अन्तिम सातामा कार्यकाल समाप्त भएपछि पद खाली भएका हुन् ।
हाल चारै प्रतिष्ठानको नेतृत्व सम्बन्धित रेक्टरहरूले निमित्त उपकुलपतिका रूपमा सम्हालेका छन् ।
पोखरा प्रतिष्ठानमा डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ, कर्णालीमा रेक्टर डबलबहादुर धामी, पाटनमा रेक्टर प्रा.डा. पवन शर्मा, र बीपी प्रतिष्ठानमा रेक्टर प्रा.डा. सञ्जीवकुमार शर्मा निमित्त उपकुलपतिका रूपमा कार्यरत छन् ।
चारै प्रतिष्ठानमा उपकुलपति पद रिक्त भएपछि मन्त्रालयले ४ असारमा आवेदन आह्वान गर्दै सर्च कमिटी गठन गरेको थियो ।
समितिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल संयोजक छन् भने सदस्यमा स्वास्थ्य सचिव डा. विकास देवकोटा र योजना आयोगका सदस्य डा. आरपी बिच्छा छन् ।
स्वास्थ्य मन्त्री पौडेलले अब छिट्टै प्रतिष्ठानले उपकुलपति पाउने बताएका छन् । ‘अहिले उहाँहरूको कार्यानुभव र योग्यतालाई हेरेर आवेदन दिएका मध्ये केहीलाई सर्टलिस्टमा समावेश गरेका छौं,’ मन्त्री पौडेलले अनलाइनखबरसँग भने,
‘अब अन्तर्वार्ता र प्रस्तुतीकरणको मूल्यांकन गरेर तीन–तीन जनाको नाम निकालिनेछ ।’
अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सर्च कमिटीले उपकुलपति नियुक्तिका लागि तीन–तीन जनाको नाम कुलपति (प्रधानमन्त्री) समक्ष सिफारिस गर्नेछ। कुलपतिले तिनमध्ये एक जनालाई उपकुलपतिको जिम्मेवारी दिनेछन् ।
प्रतिक्रिया 4