
२२ साउन, काठमाडौं । मनसुनी वायुमा जलवाष्प कम भएकाले अघिल्ला दिनको तुलनामा मनसुन केही कमजोर जस्तो देखिएको मौसमविद्ले बताएका छन् ।
अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अर्थात् नेपालको तराई क्षेत्रमा अवस्थित भए पनि त्यसमा जलवाष्प कम भएकाले अघिल्ला दिनको तुलनामा कम वर्षा हुने मौसमविद् हरिप्रसाद दाहालको भनाइ छ ।
यसबारे थप प्रष्ट्याउँदै दाहालले भने, ‘नेपालमा आउने मनसुनका दुईवटा ब्रान्च हुन्छन् । एउटा अरेबियन सागरबाट आउने र अर्को बंगालको खाडीबाट आउने । हिजो अँस्तिसम्म अरेवियन सागरतिरबाट मजाले जलवाष्पयुक्त हावा आइरहेको थियो, मोइस्चर पनि प्रशस्त थियो । अहिले त्यताबाट जलवाष्पयुक्त हावा नआएकाले आजलाई वर्षा अलिकति कम भएको हो ।’
सामान्यतया मनसुनको न्यूनचापीय रेखा जहाँ अवस्थित हुन्छ, त्यहाँ धेरै पानी पर्छ । तर जलवाष्प कम भएकाले तराई क्षेत्रमा मध्यमखालको मात्र वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाका मौसमविदले गरेका हुन् ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।
आज राति पनि मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको मात्र सम्भावना छ ।
कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
मौसमविद दाहालले केही दिनपछि पुन: जलवाष्पयुक्त हावा आउने क्रम बढ्ने र पानी पर्ने क्रम पनि बढ्ने पूर्वानुमान गरे । ‘आगामी दिनमा बंगालको खाडीबाट विस्तारै विस्तारै जलवाष्पयुक्त हावा नेपालतिर आउनेजस्तो देखिन्छ,’ मौसमविद दाहालले भने, ‘आगामी दिनमा प्रणाली अलिकति बलियो भएर फेरि पानी पर्ने सम्भावना जस्तो देखिन्छ ।’
प्रतिक्रिया 4