
News Summary
Generated by OK AI. Editorially reviewed.- चीनसँगको उत्तरी सीमा नाका तातोपानी जाने अरनिको राजमार्ग अन्तर्गत कोदारीको इकोमा ८ दिनदेखि सडक अवरुद्ध छ।
- सडक अवरुद्ध हुँदा चीनबाट ल्याइएका स्याऊ, आँप, अङ्गुर, लसुन, प्याज लगायतका सामानहरू कुहिन थालेका छन्।
- सडक खोल्न सडक डिभिजन कार्यालय चरिकोटले पहिरो पन्छाउँदैछ, तर भोलिसम्ममा सडक खुल्ने निश्चित छैन।
२५ साउन, काभ्रेपलाञ्चोक । चीनसँगको उत्तरी सीमा नाका तातोपानी जाने अरनिको राजमार्ग अन्तर्गत कोदारीको इकोमा ८ दिन देखि सडक अवरुद्ध छ ।
भोटेकोशी गाउँपालिका-२ मा पर्ने इकोमा सडक अवरुद्ध हुँदा चीनबाट ल्याइएका सामानहरू कुहिन थालेका छन् ।
इकोमा सडक अवरुद्ध भएपछि नेपाल छिरेका कन्टेनरको सामान मान्छेलाई बोकाएर पहिरो कटाउन थालिएको व्यवसायी शारदाप्रसाद पराजुलीले जानकारी दिए ।
८ दिन देखि नेपाल भित्रिएका स्याऊ, आँप, अङ्गुर, लसुन, प्याज लगायतका सामानहरू कुहिन थालेपछि कन्टेनरबाट पल्टी गरेर सामान भन्सार यार्डसम्म लान थालिएको पराजुलीको भनाइ छ ।
नाकाको सडक खोल्न अझै केही समय लाग्ने भएकाले कुहिने सामान व्यवसायीले बोकाएर भन्सार ल्याउन थालेका तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
कतिपय फलफूल बोकेका गाडी चीनको भागमा अड्किएको कन्टेनरमा समेत सामानहरू कुहिन थालेको उनीहरूको भनाइ छ ।
‘८ दिनसम्म सडक नखुल्दा सामनहरू कुहिन थाल्यो, एक हप्ता कुर्यौ तर सडक नखुलेपछि सामानहरू बोकाएर पहिरो तारिरहेका छौं ।’ स्याऊ व्यवसायी पराजुलीले भने, सडक बनिरहेको छ, जति बनाएपनि बगिरहँदो रैछ, सडकको भर लागेन, सबै कुहिने डरले त्यसपछि हामीले सामान बोक्न थालेका हौं ।’
शनिबारदेखि बोक्न थालिएकोमा हालसम्म १९ कन्टेनरका सामान बोकाएर पल्टी गरिएको छ ।
हिजो शनिबार ७ कन्टेनर र आज १२ कन्टेर सामान बोकाएर पहिरो कटाइएको छ ।
चीनबाट भन्सारसम्म ल्याउने ४० फुटे कन्टेनर बराबर नेपालमा ३ वटा कन्टेनर भरिन्छ ।
एउटा कन्टेनर बराबर सामान पल्टी गरेको १ लाख ३० हजार ज्याला तिरेको व्यवसायी पराजुलीको दाबी छ ।
‘हरेक वर्ष इकोमा पहिरो झर्ने गर्छ, वर्षातसँगै आएको पहिरोमा अहिले लेदो बग्दै गरेकोले पैदल यात्रा गर्न समेत गाह्रो भएको वडा अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।
‘माथिबाट आएको पहिरो पन्छाएर सडक खोल्न लागि परेका छौं, पहिरो माथि बस्ती छ’, त्यसलाई समेत जोगाएर सडक सञ्चालनमा ल्याउने अध्यक्ष श्रेष्ठले बताए ।
सडक खुलाउन सडक डिभिजन कार्यालय चरिकोट ८ दिन देखि लागिरहेको छ ।
सडक खुलाउन सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमितकुमार श्रेष्ठले पहिरो पन्छाइरहेको जनकारी दिए ।
‘पहिरो पन्छाउँदै छौं, झर्न रोकिएन, भुगोल नै त्यस्तै छ । लेदो माटो झरिरहेको छ । भाँसिने समस्या छ । भोलिसम्ममा खुल्छ की भनेर लागेका छौ’, श्रेष्ठले भने ।
नेपाली व्यावसायीहरूले सामान हालेको झन्डै ६ सय कन्टेनर लोड भएर चिनियाँ भुभागमा अड्किएको छ भने कतिपय सामान न्यालमको वयरहाउसमा छन् ।
बाढी र पहिरोले रसुवा नाका बन्द भएको कारण व्यावसायीहरू तातोपानी नाकाबाट आयात गर्न बाध्य छन् ।
यस्तै समस्या भइरहे दशैं तिहारका लागि ल्याइएका सामान समयमा नै बजारमा पुग्न नसक्ने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।
‘दशैं र तिहारको लागि हालिएको सामान तातोपानी नाका र चिनियाँ भागमा अड्किएका छन्’, बस्नेतले भने ।
प्रतिक्रिया 4