+

यू-२० महिला फुटबल : भारत र बंगलादेश एसियन कपमा छनोट, नेपाल फेरि असफल

२०८२ साउन  २६ गते १३:४७ २०८२ साउन २६ गते १३:४७
यू-२० महिला फुटबल : भारत र बंगलादेश एसियन कपमा छनोट, नेपाल फेरि असफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको यू२० महिला राष्ट्रिय फुटबल टोलीले भुटानमा सम्पन्न एसियन कप छनोटमा ४ अंक जोड्दै दोस्रो स्थानमा रहँदा छनोट हुन सकेन।
  • मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले उत्तर कोरियासँगको खेलमा ११ गोल खाइने आशा नरहेको र नानीहरुको इफोर्ट कदर गरेको बताए।
  • भारत र बंगलादेशले महिला फुटबलमा योजनबद्ध लगानीका कारण यू२० र सिनियर तहमा सफलता हात पारेका छन् भने नेपालले उमेर समूहमा कमजोर प्रदर्शन गरिरहेको छ।

२६ साउन, काठमाडौं । नेपालको सिनियर महिला राष्ट्रिय टोली एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको एक महिना मात्र बितेको थियो । नेपालको यू२० महिला राष्ट्रिय फुटबल टोली पनि सोही उमेर समूहको महिला एसियन कपमा छनोट हुन सकेन ।

जहिले पनि अन्तिम समयमा चुक्ने नेपाली महिला फुटबलको विगत छ । सिनियर टोली अन्तिम खेलमा उज्बेकिस्तानसँग पेनाल्टीसुटआउटमा पराजित हुँदा निकै नजिक पुगेर पनि एसिया कपमा छनोट हुन सकेन ।

सिनियरतर्फ नेपालको दुई छिमेकी भारत र बंगलादेशले महिला एसिया कपमा छनोट हुँदा नेपाल चुकेको थियो ।

जुनियरतर्फ पनि नेपालकै दुई छिमेकी भारत र बंगलादेशले फड्को मार्‍यो । दुवै टोली यू-२० महिला एसियन कपमा छनोट भयो । नेपाल भने फेरी छनोट हुन असफल रह्यो ।

यू२० महिला एसियन कप छनोटमा नेपालको प्रदर्शन र नतिजा दुवै कमी भयो । नेपाली यू२० टोली सिनियर टोलीको जस्तो उत्कृष्ट प्रदर्शन समेत गर्न सकेन । भुटानमा आइतबार सम्पन्न छनोटको समूह ए मा नेपाल उत्तर कोरिया भन्दा पछि दोस्रो स्थानमा रह्यो ।

अंकतालिका नेपालले १ जित १ बराबरी र १ हारबाट ४ अंक जोड्यो । साविक विजेता र यू२० महिला विश्वकप विजेता समेत रहेको उत्तर कोरिया सबै ३ खेल जितेर ९ अंक जोड्दै समूह विजेता बनेर छनोट भयो ।

भुटान जानुअघि नेपालले नेपाल यू२० महिला एसियन कपमा छनोट हुने महात्वकांक्षी लक्ष्य राखेको थियो । मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले पनि बारम्बार नेपालको लष्य छनोट हुने र त्यसमा आफू ढुक्क रहेको समेत बताएका थिए । उनको तर थियो ‘भुटान र साउदी अरेबियालाई हराउने अनी उत्तर कवरियालाई बराबरीमा रोक्ने ।’

नेपाल त्यसमा पूर्ण रुपमा असफल रह्यो । घरेलु टोली भुटानसँग नेपालले पहिलो मिनेटमै अग्रता लिएपनि १-१ को बराबरीमा रोकिँदा अंक बाँड्न बाध्य भयो । तुलनात्मक रुपमा कमजोर भनिएको साउदी अरेबियालाई हराउनै नेपालले निकै संघर्ष गर्नुपर्‍यो । वैक्लपिक खेलाडी सुक्रिया मियाँले ९०औं मिनेटमा गोल गरेपछि नेपालले बल्लतल्ल १-० को जित निकाल्यो ।

दुवै खेलमा नेपालको प्रदर्शन आफ्नो स्तरको थिएन् । प्रशिक्षकको रणनीति पनि खासै देखिएन । उनी वातावरण,समयलाई दोष दिन्थे ।

यस्तै उत्तर कोरियालाई बराबरीमा रोक्ने लष्य राखेको नेपाल अन्तिममा ११-० ले पराजित भयो । उमेर समूहको महिला फुटबलमा जायन्ट छवि बनाएको उत्तर कोरियालाई बराबरीमा रोक्छु भन्नु नेपालको लागि ठूलो महत्वकांक्षा नै थियो ।

अन्तिम खेलमा उत्तर कोरियाले आफू कस्तो टिम हो भनेर देखायो । खेलपछि नेपालका मुख्य प्रशिक्षक गुरुङले ११ गोल खाइन्छ भनेर नसोचेको बताए । ‘११ गोल होला जस्तो सोचेको थिएन । मेरो लक्ष्य डिफेन्सिभ खेलोस् भन्ने थियो । हामीले उनीहरुलाई ७ गोलमै रोक्नुपर्ने हो । हाई प्रेसिङ प्लस हाई लेभल टिमसँग खेल्दा गाह्रो भएको हो,’ गुरुङले उत्तर कोरियासँग हारपछि भने, ‘नानीहरुले शतप्रतिशत इपोर्ट दिएको हो । तर बलियो टिमसँग खेल्दा गाह्रो भएको हो । नानीहरुको इफोर्टलाई कदर गर्छु’ खेलपछि गुरुङको भनाई यस्तो थियो ।

उत्तर कोरियालाई हराउन नसकेपनि नेपालका लागि यू२० महिला एसियन कपको अन्तिम चरणमा पुग्ने अर्को अवसर थियो । तीन उत्कृष्ट उपविजेता भित्र परेर ।

तर नेपालले त्यो अवसर पनि गुमायो । किनकी नेपालले यसअघि सफ यू२० च्याम्पियनसिपमा दुई पटक सहजै हराएको प्रतिद्वन्दी भुटानलाई समेत हराउन सकेन ।

भुटान र साउदी अरेबियालई फराकिलो अन्तरले पराजित गरेर राम्रो गोल अन्तर बनाउन सकेको भए नेपालको पनि छनोट हुने चान्स हुन्थ्यो । किनकि उत्कृष्ट उपविजेता बन्दै छनोट हुने तीन टिम मध्ये दुई टिमको ६ अंक नै थियो । दोस्रो हुने ८ मध्ये ६ टिमले ६ वा त्यो भन्दा बढी अंक जोडेका थिए । जोर्डनले दोस्रव भएपनि ७ अंक जोडेको थियो । यस्तै बंगलादेश र चाइनिज ताइपेई गोल अन्तर प्लस भएको उत्कृष्ट तीन उपविजेता भित्र पर्दै छनोट भयो ।

बंगलादेश समूह एचमा अन्तिम खेलमा दक्षिण कोरियासँग ६-१ ले पराजित भएपनि लाओस र ६मोर लेस्टलाई हराएपछि गोल अन्तर राम्रो थियो ।

६ अंक जोडेर दोस्रो हुने मध्ये हङकङ, इरान र लेवनान गोल अन्तर माइनस हादा अभागी रह्यो । दोस्रो हुने मध्ये सबैभन्दा कम ४ अंक जोडेर नेपाल पूछारमा रह्यो ।

यस्तै नेपालको छिमेकी भारत समूह डी को विजेता बन्दै अन्तिम चरणमा छनोट भयो । म्यानमार र इन्डोनेसिया जस्ता टिम रहेको समूहमा भारत ७ अंक जोडेर विजेता बनेको थियो ।

पछिल्लो समय भारत र बंगलादेशले महिला फुटबलमा ग्रासरुट देखि नै योजनबद्ध तरिकाले लगानी गर्दा उनीहरुको नतिजा देखिँदै आएको छ । ग्रासरुटदेखि नै ध्यान दिँदा उनीहरुले उमेर समूह र सिनियर लेभलमा पनि सफलता हात पारेका छन् ।

नेपालले राष्ट्रिय टिमको आधार मानिने उमेर समूहमा कमजोर प्रदर्शन गर्न थालेको छ । सिनियर टिमको लागि फाउण्डेसन मानिने ग्रासरुट र उमेर समूहमै कमजोर प्रदर्शन हादा यसको असर भविष्यमा राष्ट्रिय टिममा पनि देखिनेछ ।

केही समयअघि बंगलादेशमै भएको साफ यू२० महिला च्याम्पियनसिपमा पनि नेपाली यू२० महिला टोली उपविजेतामै सीमित भयो । त्यतिबेला नेपालले च्याम्पियन बन्ने लक्ष्य राखेपनि घरेलु टोली बंगलादेशसँग दुवै खेलमा पराजित भयो ।

बंगलादेशले सिनियर टिम हेर्ने इंग्लिस प्रशिक्षक पिटर बटलरलाई नै उमेर समूहको प्रशिक्षण हेर्ने जिम्मेवारी दिदाँ अहिले त्यसको प्रभाव टिममा देखिएको छ र लगातार बंगलादेशको महिला फुटबल टिमले राम्रो प्रदर्शन गरिरहेको छ ।

यस्तै भारतले साफ यू२० महिला च्याम्पियनसिप खेल्नुको सट्टा उज्बेकिस्तान यू२० टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्दै यू२० महिला एसियन कप छनोटका लागि तयारी गरेको थियो । त्यसको प्रभाव पनि देखियो ।

भारतले म्यानमारलाई हराउँदै छनोटमा समूहको विजेता बन्नै त्यसको प्रभाव हो ।

केही दिनअघि नेपालको सिनियर महिला टोलीले फिफा वरियतामा ऐतिहासिक छलाङ मार्दै अहिलेसम्मकै उच्च स्थान (८७औं) मा पुग्दा एन्फा पदाधिकारी खुशीले गदगद थिए ।

तर उमेर समूहमा लगातार कमजोर प्रदर्शन र नतिजा आइरहँदा ग्रासरुट र उमेर समूहको फुटबलमा अझै पनि ध्यान केन्द्रित गर्न नसकेको देखिन्छ।

नेपाली यू-२० महिला टिम

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय