
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले पहिलोपटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई 'व्यवसायजन्य रोग' को कानुनी मान्यता दिएको छ।
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार व्यवसायजन्य रोगहरूको सूची राजपत्रमा प्रकाशित गरेको छ।
- व्यवसायजन्य रोगहरूलाई आठ श्रेणीमा विभाजन गरी कार्यस्थलको स्वास्थ्य समस्या कानुनी रूपमा सम्बोधन गर्ने व्यवस्था गरिएको छ।
२७ साउन, काठमाडौं। सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार यी रोगहरूको सूची राजपत्रमा प्रकाशित गरेको हो ।
यो निर्णयले कार्यस्थलको धुलो, रसायन, कोलाहल वा कामको प्रकृतिका कारण श्रमिकमा देखिने स्वास्थ्य समस्यालाई व्यक्तिगत समस्याको रूपमा नभई कानुनी रूपमा सम्बोधन गरेको छ । यसले लाखौं श्रमिकको स्वास्थ्य अधिकार सुरक्षित गर्न र रोजगारदातालाई आफ्नो कार्यस्थल सुरक्षित बनाउन थप जिम्मेवार बनाउनेछ ।
सरकारले मान्यता दिएका व्यवसायजन्य रोगहरूलाई विभिन्न आठ श्रेणीमा विभाजन गरिएको छ । कार्य गतिविधिहरूबाट उत्पन्न हुने एजेन्टहरूको सम्पर्कको कारण हुने व्यवसायजन्य रोगहरूमा रासायनिक एजेन्टहरूको कारण हुने रोगहरू, भौतिक एजेन्टहरूको कारण हुने रोगहरू, जैविक एजेन्टका कारण हुने संङ्क्राकम वा परजीवी रोगहरू रहेका छन् ।
जसमा क्रोमियम, लिड (सिसा), पारा (मर्करी), बेन्जिन, श्वासप्रश्वासमा अवरोध गर्ने ग्यास, सल्फर अक्साइड, जिंक, अर्गानिक सोल्भेन्ट्स, क्लोरीन र अन्य फार्मास्युटिकल एजेन्टहरूबाट हुने रोगहरू रहेका छन् ।
त्यस्तै भौतिक कारणले हुने रोगहरूमा श्रवण शक्ति ह्रास, विकिरणको असर, अत्यधिक तापक्रममा काम गर्दा हुने स्वास्थ्य समस्या रहेका छन् ।
जैविक तत्वबाट हुने संक्रामक रोगमा हेपाटाइटिस बी, सी र एचआईभी, ब्रुसेलोसिस र एन्थ्रेक्स, टिटानस, क्षयरोग र लेप्टोस्पाइरोसिस जस्ता खिया लागेका औजार प्रयोग हुने, जुनसुकै कार्यस्थल र पशुको मूत्रबाट सर्न सक्ने रोगहरू रहेका छन् ।
श्वासप्रश्वास प्रणालीका रोगहरूमा निमोकोनियोसिस, साइडरोसिस, ब्यागासोसिस, दीर्घकालीन अवरोधक पल्मोनरी रोग रहेका छन् ।
त्यस्तै छाला र हाडजोर्नीका रोगहरूमा छालाका रोगहरू रसायन वा अन्य वस्तुको सम्पर्कले हुने एलर्जी र डर्माटाइटिस रहेका छन भने हाडजोर्नी रोगमा कार्पल टनेल सिन्ड्रोम, टेनोसिनोभाइटिस र बर्साइटिस, मेनिस्कस लिजन्स रहेका छन् ।
त्यस्तै मानसिक तथा व्यवहारिक रोगमा आघातपछिको तनाव रोग (मानसिक समस्या) रहेका छन् । जुन कामको सिलसिलामा दुर्घटना वा हिंसा जस्ता भयानक घटना भोगेका श्रमिकमा देखिने मानसिक समस्या हुन् ।
त्यस्तै व्यवसायजन्य क्यान्सरमा एस्बेस्टोस, क्रोमियम, कोइला टार्स, कोइला टार पिचहरू वा सुट्स, बेन्जिन, आयोनिक विकिरण, टार, पिच, बिटुमेन, खनिज, तेल काठको धुलो, आर्सेनिक र यसका कम्पाउन्डहरू, क्याडमियम, र हेपाटाइटिस बी–सी भाइरस जस्ता तत्वहरूको सम्पर्कमा आउने कामहरूलाई क्यान्सरको जोखिमयुक्त मानिएको छ ।
श्रम ऐन २०७४ को परिच्छेद १२ मा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी व्यवस्था रहेको छ । जसमा कुनै व्यवसायजन्य रोग लागेमा प्रतिष्ठानले त्यस्तो रोगको उपचारका लागि तोकिए बमोजिमको उपचार खर्च तथा त्यस्तो रोगको उपचार हुन नसक्ने भएमा तोकिए बमोजिमको क्षतिपूर्ति रकम श्रमिकलाई दिनु पर्नेछ ।
हेर्नुहोस् सरकारले राजपत्रमा प्रकाशित गरेको रोगहरूको सूची :
प्रतिक्रिया 4