
२७ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको युवा संगठनभित्र विवाद थप बढेको छ ।
युवा संघ नेपालका इन्चार्ज लक्ष्मण केसीले जारी गरेको सर्कुलरप्रति इतर समूहका नेताहरूले सार्वजनिक असन्तुष्टि जनाएका छन् । युवा संघको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरिएको सर्कुलर जारी भएको छ ।
तर आयोजक कमिटी गठनको सर्कुलरप्रति सहसंयोजक सन्जीव राईले सार्वजनिक आपत्ति जनाएका छन् ।
‘कथित कार्यदल, कथित आयोजक कमिटी, कथित इन्चार्ज,’ राईले लेखेका छन्, ‘कथित महाधिवेशन आयोजक कमिटीको भ्रममा नपर्न संघ सम्बद्ध सम्पूर्ण कमरेडहरूलाई हार्दिक अनुरोध छ ।’
राईले युवा संघ नेपाल पुनगर्ठन गरिने चेतावनी पनि दिएका छन् । ‘अब असली युवा संघ नेपाल पुनर्गठन गर्दै समाजवादी आन्दोलनले सही दिशा पक्रने छ’, उनले लेखेका छन् ।
राई पूर्वप्रधानमन्त्री झलनाथ खनाल पक्षका नेता हुन् । युवा इन्चार्ज केसी पार्टी अध्यक्ष माधव नेपाल निकट हुन् । युवा संघमा देखिएको यो विवादले पार्टीभित्रको अन्तरसंघर्षलाई थप बढावा दिने देखिएको छ ।
किनकि सोमबार मात्र माधव नेपाल र झलनाथ खनालबीच एकअर्काविरुद्ध सार्वजनिक अभिव्यक्ति नदिने सहमति भएको थियो । तर भोलिपल्टै युवा इन्चार्ज केसीले एकपक्षीय सर्कुलर जारी गरेको भन्दै राईले आपत्ति जनाएका छन् ।
प्रतिक्रिया 4