
२९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकलाई न्यायालय प्रभावित पार्न भूमिका खेलेको गम्भीर आरोप लगाएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाकी सांसद डा. चन्दा कार्कीले यस्तो आरोप लगाएकी हुन् ।
उनले भनेकी छन्, ‘मानव तस्करीको कुरा मात्र होइन, न्यायलयमा उहाँ (गृहमन्त्री रमेश लेखक)को हस्तक्षेपको बारेमा पूर्वप्रधान न्यायाधीश शुशिला कार्की ज्युको स्पष्ट अभिव्यक्ति सार्वजनिक भइनै सकेको छ ।’
गृहमन्त्रीको सचिवालयमा उजुरी तयार पार्ने काम भएको उनको आरोप छ ।
‘गत सोमबार रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेज्युको निवेदनमाथि पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट सबैतिर पठाइएको सूचना र समाचारहरू छरपस्ट बाहिरिएका छन्’, सांसद कार्कीले भनिन् ।
उजुरीको कपि गृहमन्त्रीकै सचिवालयबाट जुन दिन पेसी चढेको छ उही दिन न्याय परिषद्मा परेको र यो योजनाबद्ध रहेको उनको आरोप छ । ‘… यसरी योजनावद्ध उजुरी परेपछि स्वतन्त्र न्याय कसरी हुन्छ ?’ डा.कार्कीको प्रश्न छ, ‘कानुन जान्ने व्यक्तिले यस्तो कदम चाल्दा समाजमा के सन्देश जान्छ ?’
केही सांसदहरूले कानुनमन्त्री र प्रधानमन्त्रीले पनि न्यायाधीशलाई फोन गरेको आरोप लगाएको उल्लेख गर्दै उनले यसबारे सरोकारवाला निकायको गम्भीर ध्यान जानुपर्ने उनले आग्रह गरिन् ।
प्रतिक्रिया 4