News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फुटबलको शीर्ष लिग शहीद स्मारक ए डिभिजन लिगको टुङ्गो नलाग्दा खेलाडीहरू बंगलादेशको प्रिमियर लिगमा अनुबन्ध हुन थालेका छन्।
- नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङसहित ८ खेलाडी बंगलादेशका विभिन्न क्लबमा अनुबन्ध भएका छन्।
- नेपालमा २६ महिना लिग नहुँदा राष्ट्रिय टिम र फुटबलमा ठूलो असर परेको नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले बताए।
३० साउन, काठमाडौं । नेपाली फुटबलको शीर्ष श्रेणीको लिग शहीद स्मारक ए डिभिजन लिगको टुङ्गो नलाग्दा नेपाली फुटबल खेलाडीहरूको नयाँ गन्त्वय बंगलादेशको फुटबल लिग बनेको छ ।
गत सिजन ए डिभिजन लिग आयोजना भएन भने यस सिजन पनि कहिले सुरु हुने टुङ्गो छैन । त्यसैले खेलाडीहरू बंगलादेशको लिगमा अनुबन्ध हुन थालेका छन् । राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङदेखि युवा खेलाडीहरू आयुष घलानसम्म बंगलादेशी क्लबमा पुगेका हुन् ।
पछिल्लो पटक नेपालमा ए डिभिजनमा कहिले भएको थियो भन्ने धेरैले बिर्सिसके होलान् । आजकल धेरैले प्रश्न पनि गर्छन् ए डिभिजन लिग कहिले हुन्छ ? लिग किन भएन ?
फुटबल पछ्याउने समर्थक र फुटबल प्रेमी बाहेक अन्य खेलका व्यक्तिहरूले पनि अब यो सोध्न थाले पनि यसको टुङ्गो छैन ।
फुटबलको नियमनकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्ष नै ए डिभजन लिग गर्ने भनेको थियो तर आयोजना गर्न सकेन । यस वर्ष पनि पुसदेखि ए डिभिजन लिग गर्ने भनेर क्यालेन्डरमा समावेश गरेको छ । तर ए डिभिजन लिग हुन्छ हुँदैन निश्चित छैन ।
नेपालमा शीर्ष लिग नहुँदा नेपाली खेलाडीहरूको गन्तव्य फेरिएको छ । यसअघि लिग नहुँदा अष्ट्रेलिया पलायन हुने गरेको नेपाली फुटबलको बाटो अब बंगलादेशतिर सोझिएको छ । यसपटक भने विदेश पलायन नभई फुटबल खेल्नकै लागि गएका हुन् ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ सहितका खेलाडीहरू अहिले बंगलादेशको शीर्ष डिभिजनको लिग बंगलादेश प्रिमियर लिग खेल्न पुगेका छन् ।
बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ)को गत जेठमा दक्षिण एसियाली राष्ट्रका खेलाडीहरूलाई ‘स्थानीय खेलाडी’को रूपमा गणना गर्ने निर्णय गरेपछि अहिले नेपाली खेलाडीहरू बंगलादेशको लिगमा अनुबन्ध हुन थालेका हुन् ।
कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित ८ खेलाडी बंगलादेश प्रिमियर लिगका विभिन्न क्लबमा अनुबन्ध भइसकेका छन् ।
जसमा कप्तान किरण र आयुष घलान बंगलादेश पुलिस क्लबमा अनुबन्ध भएका छन् । यस्तै डिफेन्डर अभिषेक लिम्बू रहमतगञ्ज एमएफएस र सेन्ट्रल ब्याक अनन्त तामाङ फर्सिट एफसीमा अनुबन्ध भएका छन् ।
पछिल्लो पटक बंगलादेशी क्लब ब्रदर्श युनाइटेडले एकैपटक चार नेपाली खेलाडी अनुबन्ध गरेको छ । जसमा नेपालका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्ट, मिडफिल्डर एरिक विष्ट र डिफेन्डरद्वय सनिश श्रेष्ठ तथा योगेश गुरूङ छन् ।
अन्जनले भर्खरै भारतका भइरहेको डुरान्ड कपमा रियल कश्मिरबाट खेलेका थिए । अहिले नेपाली राष्ट्रिय टिमकै प्रमुख खेलाडीहरू बंगलादेशको लिगका लागि अनुबन्ध भइरहेका छन् ।
भुटान र कम्बोडियामा पनि
नेपाली खेलाडीहरू बंगलादेशको लिगमा मात्र होइन दक्षिण एसियाकै अर्को राष्ट्र भुटान अनी एसियाली राष्ट्र कम्बोडियामा पनि लिग खेल्न गइरहेका छन् ।
बंगलादेशी लिगमा खेलाडीहरू अनुबन्ध हुनुअघि राष्ट्रिय टिमकै मिडफिल्डर लकेन लिम्बु कम्बोडियाको लिग खेल्न गएका थिए । उनलाई कम्बोडियाको शीर्ष डिभजनको क्लब किरिभोङ सोक सेन चे एफसीले अनुबन्ध गरेको थियो ।
यसबाहेक लकेनले गत सिजन भारतको भारतको आइ–लिग क्लब दिल्ली एफसीबाट खेलेका थिए ।
यस्तै युवा मिडफिल्डर सन्तोष क्षेत्रीले पनि भुटानको ट्रान्सपोर्ट युनाइटेडबाट खेलिरहेका छन् ।
नेपाली खेलाडी भारतकै क्लबहरूमा खेल्दै आएकोमा अब त्यो लहर बंगलादेशमा सरेको छ । भुटानमा पनि अघिल्लो सिजनहरूमा नेपाली खेलाडी गएर खेलेका थिए ।
‘घरमै लिग खेल्न पाउनुपर्यो’
यसअघि नेपालमा लिग नहुँदा खेलाडीहरू अष्ट्रेलिया लगायत अन्य देशमा पलायन हुनुपर्ने बाध्यात्मक स्थिति देखिएको थियो । अहिले राष्ट्रिय टिमकै केही खेलाडीहरू लिग खेल्न बंगलादेश लगायत छिमेकी देशमा पुगेका छन् ।
फुटबल खेल्न जानु राम्रो भएपनि यसमा सिमित खेलाडीहरू मात्र जाने भएकोले नेपालकै घरेलु लिग खेल्ने वातावरण बनाउनुपर्ने नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा बताउँछन् ।
‘जति पनि व्यावसायिक खेलाडी बाहिर खेल्न जानुभएको छ त्यो राम्रो हो । यसले यसले व्यक्तिगत प्रदर्शनमा सहयोग गर्छ र नेपाली फुटबलमा पनि राम्रो होला’ लामा भन्छन्, ‘तर ५-७ जना खेलाडीले मात्र विदेशमा खेलेर भएन । घरमै लिग खेल्न पाउनुपर्यो । २६ महिनादेखि डोमेस्टिक लिग भएको छैन । खेलाडीहरूले आफ्नै देशको लिग खेल्ने वातावरण बनाउनुपर्छ ।’
केही दिनअघि पनि खेलाडी संघले डिभिजन लिगहरू निरन्तर रुपमा आयोजना गर्न भन्दै एन्फालाई ज्ञापन पत्र बुझाएको थियो ।
यस्तै लामाले देशको फुटबलको स्तर मापन गर्न नतिजा आवश्यक भएपनि नतिजाका लागि असर गर्ने घरेलु फुटबल भएको बताए । ‘कुनै पनि देशको पुटबल स्तर मापन गर्ने राष्ट्रिय टिमको नतिजाले होला । तर राष्ट्रिय टिमको नतिजामा असर गर्ने भनेको घरेलु फुटबलले नै हो । जति खेलाडीले खेल्न पाउँछन् । हाई इन्सेन्सिटी म्याच खेल्न पाउँछ तब मात्र नतिजा आउनेछ’ उनले भने ।
लिग नहुँदा खेलाडी र नेपाली फुटबलमै ठूलो असर पुगेको लामाको भनाइ छ । ‘राष्ट्रिय टिम बलियो बनाउन पनि घरेलु फुटबल एकदमै महत्वपूर्ण छ । पछिल्लो समय २६ महिना लिग नहुँदा राष्ट्रिय टिम र नेपाली फुटबललाई ठूलो असर गरेको हो ।’
विगतमा पनि लामो समय ए डिभिजन लिग नहुने गरेको उदाहरणहरू छ । लिगको निरन्तरता नभएको यो पहिलो घटना भने होइन । ‘विगतमा पनि ३ वर्ष लिग नखेलेको अनुभव छ । अहिले त्यही फलो गरेजस्तो देखिन्छ’ लामाले भने ।
यसबारेमा एन्फाका प्रवक्ता सुरेश शाहसँग कुराकानी गर्न खोज्दा उनीसँग भने सम्पर्क हुन सकेन । राष्ट्रिय टोली भने हाल बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा व्यस्त छ ।
पछिल्लो पटक २०७९-८० को सिजन ए डिभिजन लिग आयोजना भएको थियो । जहाँ चर्च ब्वाइज युनाइटेडले उपाधि जितेको थियो । त्यसयता २०८०-८१ र २०८१-८२ को सिजन लिग हुन सकेन ।
प्रतिक्रिया 4