+
+
Shares

पर्वतारोहण संघको निर्वाचनका लागि फुर गेल्जे शेर्पा समूहको प्यानल घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्वतारोहण संघको निर्वाचनका लागि फुर गेल्जे शेर्पा नेतृत्वको प्यानल सार्वजनिक भएको छ।
  • फुर गेल्जे शेर्पा समूहले ३० बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै आर्थिक पारदर्शिता र पर्वतारोहण विकासमा जोड दिने बताएका छन्।
  • निर्वाचनमा कुलबहादुर गुरुङ समूहसँग प्रतिस्पर्धा हुने भएको छ र भदौ ७ गते नयाँ कार्यसमिति चयन गरिने छ।

३० साउन, काठमाडौं । भदौ पहिलो साता हुने नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनका लागि फुर गेल्जे शेर्पा नेतृत्वको प्यानल सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंको शंकर होटलमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्षका प्रत्यासी फुर गेल्जे शेर्पासहित प्यानलकै नाम घोषणा भएको हो । सो अवसरमा उक्त समूहको उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम गर्दै आधिकारिक प्यानल घोषणा गरिएको हो ।

भदौ ७ गते हुने एनएमएको नयाँ कार्यसमिति निर्वाचनका लागि दुई प्यानल मैदानमा देखिएका छन् । यसअघि बिहीबार कुल बहादुर गुरुङ समूहले पनि प्यानलसहित उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छ ।

अब निर्वाचनमा कुलबहादुर र पुल गेल्जे समूहबीच प्यानलसहित प्रतिस्पर्धा हुने भएको छ ।

फुर गेल्जे शेर्प प्यानलको वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पीडकाजी) द्वितिय उपाध्यक्षमा बोध राज भण्डारी, महासचिवमा राजेन्द्र बहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा उम्मेदवार रहेका छन् ।

यस्तै सदस्यको उम्मेदवारहरुमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलमल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डंगोल, डोल्मा लामा र निशा भोटे छन् ।

साझा, स्वतन्त्र, सक्षम र व्यावसायिक नेतृत्वको नारा लिएर फुर गेल्जेन शेर्पा समूह एनएमएको चुनावी मैदान उत्रेको हो ।

शेर्पाले आफ्नो नेतृत्वमा रहेको साझा, स्वतन्त्र, सक्षम र समावेशी व्यावसायिक समूहमार्फत ३० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।

यस्तो छ प्रतिबद्धता पत्र :

१. नेपाल पर्वतारोहण संघद्धारा स्थापित आरोहण कल्याणकारी कोषलाई पुनर्स्थापित गर्ने उद्देश्यले फुर गेल्जे शेर्पा समूहका अध्यक्ष पदका प्रत्यासी फुर गेल्जे शेर्पाद्धारा व्यक्तिगत रुपमा रु. २० लाख आवश्यक प्रक्रिया पूरा गरी जम्मा गर्ने घोषणा गरेमुताविक कोषलाई सूचारु गर्ने र उक्त कोषमा संस्थाद्धारा नियमित तथा अन्य दातृ निकाय तथा व्यक्तिहरुमार्फत थप अर्थ संकलन गर्ने अभियानलाई तीब्रता दिइने छ।

२. संघको स्वामित्वका रहेका पदयात्रा चुलीहरूको आरोहण अनुमति (Online) मार्फत सिधै जारी गर्ने वर्तमान प्रणालीलाई अझै परिस्कृत र सरलिकृत गर्दै सदस्यहरूको सेवालाई सर्वसुलभ पार्ने कार्यलाई निरन्तरता दिइने छ।

३. संघको विधानमा रहेका कतिपय अस्पष्टता र अव्यवहारिक प्रावधानहरूलाई समयसापेक्ष र संघ तथा सदस्यहरूको हित संरक्षण हुनेगरी परिमार्जन गर्न वृहत छलफल तथा अन्तरक्रिया मार्फत संशोधन प्रस्ताव तयार गरी कार्यकालको पहिलो साधारण सभामा पेश गरिने छ।

४. संघका गतिविधि र संघमा प्राप्त हुने राज्य तथा सम्बन्धित निकायका सूचनाहरू सदस्यहरुमाझ सहज रुपमा सम्प्रेषण गर्न आधुनिक सूचना प्रणाली तथा प्रविधिको विकास गर्दै सचिवालय मातहत प्रभावकारी सूचना संयन्त्रको विकास गरिने छ।

५. संघको आर्थिक पारदर्शितालाई मूल मन्त्रको रुपमा आत्मसात गर्दै यस संस्थाको आगामी कार्यसमितिका सम्पूर्ण आर्थिक गतिविधि तथा हरहिसाबलाई मासिक रुपमा संघका सदस्यहरूको बीचमा सार्वजनिक गर्ने व्यवस्था मिलाइने छ।

६. संघको आर्थिक गतिविधिहरुलाई पारदर्शी तथा विधिसम्मत ढंगले सञ्चालन गर्दै अनावश्यक तथा फजुल खर्च गर्ने प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गरिने छ।

७. यस संस्थाको स्वामित्वमा रहेका मनाङ पर्वतारोहण स्कुल, अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय पोखरा, ककनी अन्तर्राष्ट्रिय पर्वतारोहण उद्यानमार्फत अतिरिक्त आयआर्जन गरी संस्थालाई आर्थिक रुपले स्वायत्त संस्थाको रुपमा विकास गरिने छ।

८. विभिन्न हिमाल चुली अनुमति पत्र जारी गरेवापत यस संघलाई प्राप्त हुने निश्चित सलामी शुल्क तथा पोखरास्थित अन्तर्राष्ट्रिय माउन्टेन म्युजियमलगायत अन्य माध्यमबाट प्राप्त हुने आर्थिक आर्जनलाई वृद्धि गरी संघद्धारा सञ्चालन गरिने पर्वतीय पर्यटन र पर्वतारोहणको यथोचित विकासमा खर्च गर्न क्षेत्रगत आवश्यकता हेरी पारदर्शी ढंगबाट परिचालन गरिने छ।

९. नेपाल पर्वतारोहण संघलाई साँचो अर्थमा अन्तर्राष्ट्रिय स्तरको अल्पाइन क्लबको रुपमा विकास गर्न विभिन्न देशका अल्पाइन क्लबहरूसँग सम्बन्ध विस्तार गरी साझा योजनामार्फत नेपाललाई अन्तर्राष्ट्रिय रुपमै पर्वतारोहण गतिविधि केन्द्रको रुपमा विकास गर्ने। साथै, नेपाल सरकार परराष्ट्र मन्त्रालयको एक अभिन्न अंगको रुपमा रही अन्तर्राष्ट्रिय स्तरमा भाइचार र सम्बन्ध विस्तार गर्ने।

१०. यस संघको अधिनमा जीर्ण अवस्थाको मनाङ माउन्टेनियरिङ स्कुललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको हिमाल आरोहण तालिम केन्द्रको रुपमा विकास गर्ने र तालिम प्राप्त दक्ष जनशक्तिको विकास र विस्तार गर्न नीति लिइने छ। यसका लागि विभिन्न अन्तर्राष्ट्रिय दातृ निकाय, अल्पाइन क्लब तथा नेपाल राज्यसँग पहल र समन्वय गरी आर्थिक स्रोत परिचालन गरिने छ।

११. पर्वतारोहण पेशामा संलग्न रहेका पेशाकर्मीहरू — खास गरी आरोही, उच्च हिमाली क्षेत्रमा कार्यरत कामदार तथा कर्मचारीहरूको हितलाई मध्यनजर गरी उनीहरूको वृत्तिविकास, रोजगारीमा सेवा सुविधाको स्तरीकरण र प्रत्याभूत, तालिम, सीप विकास तथा वेमौसमी रोजगारी, रोजगारी पश्चात पाउनुपर्ने न्यूनतम सेवा सुविधाको सवालमा सरोकारवालाहरूसँगको परामर्शमा उचित व्यवस्थापनमा संघ क्रियाशील रहने छ।

१२. पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रमा कार्यरत पेशाकर्मी र रोजगारकर्मीहरूको तालिम, प्राविधिक सीप र क्षमतालाई मूल्यांकन गरी नेपाल सरकारको आधिकारिक निकाय वा प्राविधिक शिक्षा तालिम परिषदले तोकेको परीक्षण प्रणालीमार्फत आधिकारिक स्तरीयता निर्धारण गर्दै मानव संसाधन विकासमा गुणस्तरीयता कायम गरिने छ।

१३. पर्वतारोहण पेशालाई अझ बढी मर्यादित र व्यवस्थित गर्न नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग सहकार्यमा हिमाल आरोहण अवधिमा सम्पर्क अधिकृतहरुलाई व्यवस्थित गर्ने र जोखिम न्यूनिकरणका लागि व्यवस्थापन युनिट स्थापना गरिने छ।

१४. विभिन्न सिजनमा सञ्चालन हुने हिमाल आरोहण गतिविधिहरुमा माथिल्ला बेस क्याम्पहरूमा फोहोर व्यवस्थापनका लागि सम्बन्धित आरोहण व्यवसायी तथा उनीहरूको संस्थासँग समन्वय गरी नेपाल सरकारको स्वीकृतिमा शुल्क निर्धारण र संकलन गरेर सफाइ कार्यमा संघलाई क्रियाशील बनाइने छ। यसले हिमालको सरसफाइ, जलवायु परिवर्तन र वातावरणीय दृष्टिले सुरक्षित र अप्रदूषित वातावरण बनाउन मद्दत पुर्‍याउनेछ।

१५. नेपालको पर्वतीय पर्यटन तथा पर्वतारोहण गतिविधिलाई मर्यादित, व्यवस्थित तथा सुदृढ गर्न आवश्यक नीति तथा ऐन निर्माणमा नेपाल सरकारले थालेको पहललाई सहयोग गर्दै व्यवसायी, स्थानीय समुदाय तथा स्थानीय सरकारलाई लाभ हुनेगरी दीगो पर्यटन सुनिश्चित गर्न नीतिगत पहल गरिने छ।

१६. राजधानीबाट करिब २४ किलोमिटर टाढा ककनीस्थित १४५ रोपनी क्षेत्रफलको अन्तर्राष्ट्रिय माउन्टेनियरिङ मेमोरियल पार्कलाई स्तरोन्नति गरी आर्टिफिसियल स्की, वाल क्लाइम्बिङ र अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने गरी आकर्षक गन्तव्य बनाइने छ।

१७. पोखरा अन्तर्राष्ट्रिय माउन्टेन म्युजियमलाई स्तरीकरण गर्दै हिमालयन रक गार्डेन तथा १०० रोपनीमा व्यवस्थित बोटानिकल गार्डेन निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक स्थलको रुपमा विकास गरिने छ।

१८. पर्वतारोहण अध्ययन-अध्यापनका लागि पर्वतीय पर्यटन विश्वविद्यालय स्थापना गर्न सरकारसँग पहल गरिने छ।

१९. रोल्वालिङ हुँदै टासी लाप्चा पास, मकालु हुँदै शेर्पानीकोल तथा आम्फुलाप्चा पास, कञ्चनजंघा बेस क्याम्प लगायत पदयात्रा क्षेत्रमा होटल/गेस्टहाउस अभाव भएकाले गेस्टहाउस निर्माण गरी स्थानीय समुदायलाई सञ्चालनको जिम्मा दिइने छ।

२०. आरोहीहरूले प्राप्त गरेका सीप र ज्ञानलाई माध्यमिक तहको पाठ्यक्रममा समावेश गराउन पहल गरिने छ।

२१. संघको वेबसाइटमा पीक प्रोफाइललाई अद्यावधिक गर्दै सबै हिमालहरूको अवस्थिति, पहुँच मार्ग, ढुवानी र उद्धार सुविधा समावेश गरिने छ।

२२. मेरा, आइस्ल्यान्ड, लोबुजे लगायत संघद्धारा सञ्चालित हिमाल चुलीहरूको बाटो निर्माण, फोहोर व्यवस्थापन र सुरक्षित आश्रयस्थलका साथै बेस क्याम्पमा शौचालयको व्यवस्था गरिने छ।

२३. ८२०१ मिटर उचाइको चोयू हिमाललाई नेपालबाट आरोहण गर्न बाटो निर्माणका लागि विशेष पहल गरिने छ।

२४. कीर्तिमानी आरोहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआइपी सुविधा दिलाउन पहल गरिने छ।

२५. जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि हिमाली क्षेत्रमा वृक्षारोपण, तटीय व्यवस्थापन र संरक्षण कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गरिने छ।

२६. हिमाल आरोहण क्षेत्रमा उद्धारस्थल, तालिम प्राप्त उद्धारकर्मी, उपकरण तथा स्वास्थ्य चौकीको व्यवस्था गर्ने र वार्षिक पुनर्ताजगी तालिम दिने।

२७. सगरमाथा दिवस तथा अन्य ८ हजार मिटर भन्दा अग्ला हिमालहरूको प्रथम आरोहण दिवसलाई आधार शिविरमा पर्वको रुपमा मनाइने।

२८. टान, इओएएन, एचआरए, एनटीभी लगायतसँग पर्वतीय पर्यटनका गतिविधिमा सहकार्य मजबुत बनाइने।

२९. पदाधिकारी वा जिम्मेवारीमा रहेका व्यक्तिले निजी व्यवसायमा संघको लोगो प्रयोग गर्ने वा लाभ लिने कार्य रोक लगाइने।

३०. एउटै संस्थामा पटक-पटक दोहोरिने गतिविधिलाई निजी स्वार्थमा प्रयोग नगरी अधिकार प्राप्त चुलीहरूको समानताका आधारमा प्रवद्र्धन गरिने र स्थानीय नागरिक, व्यवसायी तथा आरोहीलाई प्रत्यक्ष आर्थिक लाभ हुने वातावरण बनाइने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?