
News Summary
Generated by OK AI. Editorially reviewed.- गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल आउने पर्यटकको औसत बसाइ अवधि १३.३ दिन पुगेको छ, जुन अघिल्लो वर्षको १३.२ दिनभन्दा बढी हो।
- गत आवमा नेपालमा ११ लाख २८ हजार पर्यटक आएका छन्, जुन २०८०/८१ को ११ लाख १७ हजारभन्दा सामान्य बढी हो।
- पर्यटन विभागले पर्वतारोहण अनुमति प्रणाली, होटल व्यवस्थापन प्रणाली र क्यासिनो व्यवस्थापन प्रणाली विद्युतीय माध्यमबाट सञ्चालनमा ल्याएको छ।
३० साउन, काठमाडौं । नेपाल आउने पर्यटक औसत १३.३ दिन बस्ने गरेको पाइएको छ ।
पर्यटन विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा पर्यटकको औसत बसाइ अवधि सामान्य बढेको हो । अघिल्लो आव २०८०/८१ मा १३.२ दिन औसत बसाइ थियो ।
गत आव अन्तिमसम्म ११ लाख २८ हजार पर्यटक नेपाल आएको विभागको तथ्यांक छ । जुन २०८०/८१ को तुलनामा सामान्य बढी हो । त्यसबेला ११ लाख १७ हजार पर्यटक आएका थिए ।
सरकारले १६ लाख पर्यटक आउने लक्ष्य लिए पनि पूरा भने भएन । पर्यटक आगमन र औसत बसाइ सामान्य बढे पनि पर्यटकले नेपालमा गर्ने दैनिक खर्च भने घटेको विभागको तथ्यांक छ ।
विभागका अनुसार गत आव अन्तिमसम्म प्रतिपर्यटक प्रतिदिन खर्च ४०.८ अमेरिकी डलर छ । २०८०/८१ मा यस्तो खर्च ४१ डलर बराबर थियो ।
यस आवमा २८ अन्तर्राष्ट्रिय गन्तव्यसँग नेपाल जोडिएको छ । २०८०/८१ मा ३० गन्तव्यमा उडान जोडिएको थियो । यस वर्ष ग्रेट हिमालयन ट्रेलमा मात्र कुल ७५ किलोमिटर पदमार्ग निर्माण भएको छ । यससँगै कुल ६ सय ४० किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको विभागले जनाएको छ ।
पर्यटन विभागका अनुसार गत आवसम्म नेपालमा तारे होटलमा बेड संख्या २० हजार ३ सय ४० पुगेको छ । जुन २०८०/८१ मा १८ हजार ९ सय ७ थियो । नेपाल आउने अन्तर्राष्ट्रिय जहाजमा उपलब्ध सिट क्षमता वार्षिक ८७ लाख पुगेको समेत विभागको तथ्यांक छ ।
यस आवमा सुदूरपश्चिमको खप्तड र कर्णालीको रारा लक्षित गरी डोटी र मुगुमा पर्यटक प्रहरीको अस्थायी पोस्ट स्थापना गरिएको छ । अब सात वटै प्रदेशमा पर्यटक प्रहरीको सेवा उपलब्ध भएको समेत देखिएको छ ।
विभागले यस वर्षबाट पर्वतारोहण अनुमति प्रणाली, होटल व्यवस्थापन प्रणाली र क्यासिनो व्यवस्थापन प्रणाली विकास गरी विभागबाट प्रवाह हुने सबै सेवालाई विद्युतीय माध्यमबाट प्रवाह हुने व्यवस्था मिलाएको समेत जनाएको छ । यस आव अन्तिमसम्म तारे स्तरका २६ होटल तथा रिसोर्टले नयाँ इजाजत पाएका छन् ।
१८ होटल तथा साहसिक पर्यटन क्षेत्रका १८ आयोजनाको प्रारम्भिक वातावरणीय प्रतिवेदन स्वीकृत गरिएका छन् । २४ आयोजनाको टीओआर (कार्यगत सूची) स्वीकृति गरिएको छ ।
यस आवमा २ हजार ५ सय ४८ जनाले पर्वतारोहण अनुमति पाएका थिए । ९ हिमालमा स्किइङ र अन्य साहसिक खेलको अनुमति प्राप्त गरेको समेत विभागको तथ्यांक छ ।
प्रतिक्रिया 4