
३१ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालका राजनीतिक दलहरू निर्वाचन केन्द्रितमात्रै भएको बताएका छन् ।
राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित हुँदा देशको विकास हुन नसकेको बताउँदै उनले अहिलेको निर्वाचन जित्ने भनेको अर्को निर्वाचन जित्ने हो भन्ने स्थितिबाट राजनीतिक दलहरू अघि बढिरहेको टिप्पणी गरे ।
‘मुख्य कुरा सबै पार्टीहरू चुनावदेखि चुनावसम्म केन्द्रित भए । यो चुनाव किन जित्ने भन्दा अर्को चुनाव जित्नका लागि भनेको जस्तो स्थितिमा छ,’ न्युज एजेन्सीसँगको कुराकानीका क्रममा कार्कीले भने, ‘अहिले नेपालको राजनीतिको जो चक्र छ । त्यसमा राजनीतिक पार्टीहरूले ०८४ पनि हेरिरहेका छन् ।’
सचिव कार्कीले नेपालको राजनीतिको चक्रलाई राजनीतिक दलहरूले पनि ०८४ का रुपमा हेरिरहेको र आम नागरिक, किसान, मजदुरहरूले पनि परिवर्तनको चक्रमा रुमपा हेरिरहेको पनि कुराकानीका क्रममा बताएका छन् ।
‘जनताको पनि एउटा चक्र छ । परिवर्तनको एउटा चक्र छ । हरेक १०—१५—२० वर्षभित्र नेपालमा ठूला ठूला आन्दोलनहरू हुने गरेका छन्,’ कार्कीले ने, ‘जनताको असन्तोष, चाहना, आकांक्षाहरू परिलक्षित हुने गरेका छन् । त्यसो हुनाले एकातिर संसदीय दृष्टिकोणबाट हेर्दा देखिने ०८४ र अर्को कुरा जनताको पक्षबाट, मजदुर किसानको परिप्रेक्ष्यबाट हेर्ने ०८४ फरक छ ।’
नेपालको राजनीतिमा सक्रिय र प्रभावी रहेका राजनीतिक दलहरूको औचित्यमाथि नै प्रश्न खडा हुनेगरी अहिलेको परिस्थिति अघि बढिरहेको उनको बुझाइ छ ।
‘०८४ मा यी पार्टीहरू: जो अहिले नेपालको राजनीतिमा सक्रिय छन्, प्रभावी छन्,’ कार्कीले भने, ‘ती पार्टीहरूको रिलेभेन्स, औचित्यमाथि ठूलो प्रश्न पो खडा हुन्छ की भन्नेकुरा आइरहेको छ ।’
प्रतिक्रिया 4