+
+
Shares

सरकारले शून्य अंक दिएपनि नेपालीले विश्वास गर्छन् : कुलमान

‘नेपालमा वर्षेनी १५ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिने गरेको छ, त्यसमध्ये करिब ७ खर्ब खाडी मुलुकबाट आउँछ, तर, पनि राज्यले हामीहरूलाई अपमान गर्छ’, उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते २०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई कार्यसम्पादन मुल्याकंनमा शून्य अंक दिएको भन्दै दु:ख व्यक्त गरे।
  • घिसिङले आफ्नो ८ वर्षे नेतृत्वकालमा विद्युत प्राधिकरणले करिब ९० अर्ब रुपैयाँ नाफा कमाएको र ४ हजार मेगावाट उत्पादन भएको बताए।
  • एनआरएनए यूकेले आयोजना गरेको कार्यक्रममा घिसिङलाई सम्मान गर्दै बेलायतस्थित प्रथम गोर्खा भिसी कुलवीर थापाको सालिकमा श्रद्धान्जली अर्पण गरिएको थियो।

लण्डन । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई कार्यसम्पादन मुल्याकंनमा शून्य अंक दिए देश-विदेशमा रहेका नेपालीहरूबाट विश्वास प्राप्त भएको बताएका छन् ।

बेलायत भ्रमणमा रहेका घिसिङले राज्यले आफूलाई अपमान गरेको भन्दै दु:ख व्यक्त गरे ।

गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले उनको सम्मानमा शुक्रबार आयोजना गरेको ‘मिट एण्ड ग्रिट’ मा उनले भने, ‘सरकारले कार्यसम्पादनमूल्यांकनमा  शून्य दिएपनि वा कारबाही गरेपनि ४ महिनायता देश विदेशका नेपालीहरूबाट प्राप्त अथाह माया, सद्भाव र विश्वास नै मेरा लागि ठूलो हो ।’

विद्युत क्षेत्रमा आफ्नो ३० वर्ष र कार्यकारी भूमिका झण्डै १२ वर्ष अनुभव रहेको बताउँदै घिसिङले बेलायतकै सहयोगमा सन् १९११ मा बनेको फर्पिङ हाइड्रोपावर नै नेपालको पहिलो भएको स्मरण गरे ।

प्राधिकरणमा आफ्नो ८ वर्ष नेतृत्वकालमा शतप्रतिशत जनतामा बिजुली पुगेको दाबी गर्दै घिसिङले हाल ४ हजार मेगावाट उत्पादन र झण्डै ७ हजार मेगावाट बिजुली निर्माणाधीन अवस्थामा रहेको बताए ।

निजी क्षेत्र खुल्ला गरिएपछि ८ वर्ष यता झण्डै ५ गुणा बढी बिजुली उत्पादन भएको उनको भनाइ छ ।

अहिले नेपालले भारत र बंगलादेशमा करिब एक हजार मेगावाट विद्युत निर्यात गरिरहेको बताए । गत वर्ष १७ अर्ब निर्यात हुँदा आयात १२ अर्ब रुपैयाँ मात्र भएको उनको भनाइ छ ।

३० वर्षसम्म घाटामा रहेको विद्युत प्राधिकरणलाई आफ्नो ८ वर्षे कार्यकालमा करिब ९० अर्ब रुपैयाँ नाफा कमाएको उनको दाबी छ ।

‘नेपालमा वर्षेनी १५ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिने गरेको छ, त्यसमध्ये करिब ७ खर्ब खाडी मुलुकबाट आउँछ, तर, पनि राज्यले हामीहरूलाई अपमान गर्छ’, उनले भने ।

बत्तीको उज्यालो भएर मात्र देश नबन्ने भएकाले अब हरेक क्षेत्रमा समृद्धि, परिवर्तन, सामाजिक न्याय, नयां लिडरसीप र निराशालाई आशामा बदल्न आफूले अभियान थालेको उनले बताए ।

नेपाली समुदायले निकाले पञ्चेबाजासहितको र्‍याली

शुक्रबार भिजे डे अर्थात जापानमाथि विजय दिवस परेको दिन । प्रत्येक वर्ष १५ अगस्टमा यो दिवस मनाइन्छ जुन दिन सन् १९४५ मा जापानले मित्र राष्ट्रहरूसमक्ष आत्मसमर्पण गरेर लगभग छ वर्षपछि दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो ।

दिवसको सन्दर्भमा घिसिङले बेलायत अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा अवस्थित प्रथम गोर्खा भिसी कुलवीर थापाको सालिक पुगेर श्रद्धान्जली अर्पण गर्दै रिथ चढाए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले उनको सम्मानमा आयोजना गरेको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम अघि उनी त्यहाँ पुगेका थिए ।

सालिकमा रिथ चढाएपछि पञ्चे बाजा र पाइपर धुनका साथ बेलायत, नेपालको झण्डा बोकेका नेपालीहरू सहभागी र्‍यालीमा सहभागी भए ।

बेलायतका ५९ संघसंस्थाका प्रमुख, बुद्धिजिवी, व्यवसायी र सर्वसाधारण कार्यक्रमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?