
२ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलबीच चालु आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।
सहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चालु आव गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता गरेका हुन् ।
उपप्रधानमन्त्री सिंहले चालु आवमा गरिने कार्यसम्पादन छिटो र प्रभावकारी बनाउन आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए ।
उनले अघिल्लो आव समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएकोमा असन्तुष्टि जनाउँदै समयमा योजना किन सकिएनन् भन्दै प्रश्न पनि गरे ।
‘कर्मचारीले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुपर्यो । समयमा गर्नुपर्ने निर्णय समयमा हुनुपर्यो । पन्छिने प्रवृत्तिले समयमा काम हुन सक्दैन । गर्नुपर्ने काम समयमा गर्नुस्, जनतालाई छिटो रिजल्ट दिनुपर्छ,’ उनले भने, ‘सहरी विकास मन्त्रालय विकास निर्माणसँग सम्बन्धित मन्त्रालय हो । नागरिकको प्रत्यक्ष चासो जोडिएको हुन्छ । जनतालाई छिटो नतिजा दिने गरी काम गर्नुपर्छ । यसमा सबै गम्भीर बन्नुस् ।’
उनले अघिल्लो आव भएका कमजोरी नदोहोर्याउन सचेत गराउँदै चालु आर्थिक वर्ष मन्त्रालयका काम प्रभावकारी बनाउने गतिमा लाग्न सचिव सहित सबै विभागीय प्रमुखहरूलाई निर्देशन पनि दिए ।
सचिव सिग्देलले गत आव केही कारण आथिक प्रगति कम भए पनि भौतिक प्रगति राम्रो भएको भन्दै चालु आव कार्य लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उपप्रधानमन्त्री सिंहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।
प्रतिक्रिया 4