+
+
Shares

बागमतीका मुख्यमन्त्री बानियाँ र १३ मन्त्रीबीच कार्यसम्पादन सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते २०:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले १३ जना मन्त्रीसँग एक वर्षको कार्यसम्पादन सम्झौता गरेका छन्।
  • सम्झौताअनुसार सुशासन कायम गर्न र सरकारका काम प्रभावकारी बनाउन मुख्यमन्त्री बानियाँले प्रतिबद्धता व्यक्त गरे।
  • मन्त्री मधुसूदन पौडेलले संघीयतालाई बलियो बनाउने काम भाषणबाट नभई कार्यबाट दिनुपर्ने बताए।

१८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले १३ जना मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मुख्यमन्त्री बानियाँले मन्त्रीहरूसँग एक वर्षको कार्यसम्पादन सम्झौता गरेका हुन् ।

गत २० साउनमा गठित नेपाली कांग्रेस र नेकपा एँमालेको नयाँ संयुक्त सरकारमा कांग्रेसका ८ जना मन्त्री (मुख्यमन्त्रीसहित) र एमालेका ६ जना मन्त्री रहेका छन् ।

मुख्यमन्त्री बानियाँले एमालेबाट सरकारमा नेतृत्व गरेका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधारमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, स्वास्थ्यमन्त्री किरण थापा, वनमन्त्री भरत केसी, उद्योगमन्त्री बिन्दु श्रेष्ठसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

कांग्रेसका मन्त्रीहरू आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, सामाजिकमन्त्री कञ्चनचन्द्र बादे, युवा तथा खेलकुदमन्त्री उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ, सहकारीमन्त्री बिनु रायमाझी पौडेल र खानेपानी, उर्जा तथा सिँचाइमन्त्री कृष्ण तामाङसँग पनि सम्झौता भएको हो ।

प्रदेश सुशासन ऐनको दफा १९ बमोजिम सुशासन कायम गर्न र सरकारका काम कारबाही प्रभावकारी बनाउन कार्यसम्पादन करार सम्झौता गरिएको मुख्यमन्त्री बानियाँले बताए ।

उनले सुशासन, पारदर्शी र जवाफदेही भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विगतका मुख्यमन्त्री र मन्त्रीहरुले गर्न नभ्याएका कामलाई कानुन बनाएर पनि सम्पन्न गर्ने उनको दाबी छ ।

सरकारलाई गतिशिल ढंगले अगाडि बढाउन मन्त्री र सचिवबीच समन्वय गर्दै अगाडि बढ्नेमा उनले विश्वास व्यक्त गरे । जनताको मतबाट जितेर आउने मन्त्री र लोकसेवा पास गरेर यहाँसम्म आइपुग्ने सचिवमा दम्भ हुन नहुने र सहकार्य आवश्यक रहेको मुख्यमन्त्री बानियाँले बताए ।

कृषि तथा पशुपन्छी विकासमन्त्री पौडेलले संघीयतालाई बलियो बनाउने गरि कार्य गर्न कार्यसम्पादन सम्झौता भएको बताए ।

उनले संघीयतामाथि उठेका प्रश्नको भाषणबाट नभई कामबाट दिनुपर्ने बताए । मुख्यमन्त्री र मन्त्रीहरूबीच एक वर्षका लागि सम्झौता भएको मन्त्री पौडेलले बताए । कार्यसम्पादनअनुसारका काम सँगसँगै जनअपेक्षालाई सम्बोधन गर्नेगरी पनि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बागमतीका अघिल्ला सरकारमा पनि मुख्यमन्त्री, मन्त्री र प्रमुख सचिवबीच कार्यसम्पादन करार सम्झौता हुँदै आएका छन् ।

तर, सम्झौताअनुरूपको सुशासन कायम भए/नभएको र सरकार तथा मन्त्री र सचिवहरुको काम कारबाहीको प्रभावकारिताबारे कुनै मुल्याकंन भएको तथ्य भेटिँदैन । यस कारण कार्य सम्पादन सम्झौता औपचारिकतामै सीमित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?