२ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभी) का लागि काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमाया किएडललाई अनुबन्ध गरेको छ । काठमाडौं स्पाइकर्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा मिडल ब्लकर/अपोजिट ओउमायालाई अनुबन्ध गरेको घोषणा गरेको छ ।
काठमाडौं स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ ।
तीन फरक पोजिसनका खेलाडीलाई अनुबन्ध गर्दै काठमाडौं स्पाइकर्सले आफ्नो टिमको सन्तुलन बलियो बनाएको छ । पहिलो सिजनमा काठमाडौंबाट टर्कीए र बुल्गेरियका विदेशी खेलाडीले खेलेका थिए ।
एक दशकभन्दा लामो समयको अनुभव रहेको ओउमायमा कोडिएलले विशेषगरी मिडल ब्लकरको रुपमा खेल्दै आएकी छिन् । उनी अपोजिट हिटरमा पनि खेल्न सक्छिन् । स्लाइड अट्याकमा उनको विशेष दख्खल रहेको छ ।
मोरोक्कोमा जन्मिएकी कोडिएलसँग इटलीको इटली सरेपछि उनले इटलीबाटै खेल्न थालेकी हुन् । उनले इटली, फ्रान्स, मोरक्को, साउदी अरेबिया लगायत देशमा विभिन्न टिममा रहेर प्रतियोगिताहरु खेलिसकेकी छिन् । टिम र व्यक्तिगत रुपमा पनि उनले धेरै उपलब्धीहरु हासिल गरेकी छन् ।
उनले पछिल्लो समयमा साउदी अरेबियाको अल इतिहाड एफसी, मोरोक्कोको अमान मार्राकेच र इटलीको सिर्देको पेस्कारा जस्ता टिमबाट व्यावसयिक भलिबल खेलेकी छन् ।
कोडिएलले सन् २०१९ मा मोरोक्को राष्ट्रिय टिमबाट अफ्रिकन गेम्समा कांस्य पदक जितेकी थिइन् । यस्तै सन् २०२१ मा किगालीमा भएको अफ्रिकन महिला भलिबल च्याम्पियनसिपमा पनि उनले मोरोक्कोका लागि कांस्य जितेकी थिइन् ।
पहिलो पटक नेपालमा लिग खेल्न आउन लागेकी कोडिएल निकै उत्साहित छिन् । ’नेपालमा एभरेष्ट महिला भलिबल लिगमा खेल्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो । यो मेरो लागि नेपालमा पहिलो पटक हो, र म देश बारे बुझ्न, फ्यानहरूलाई भेट्न र मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न साँच्चै उत्सुक छु,’ उनले भनिन् ।
यस लिगले खेलाडीको विकासमा सहयोग पुर्याउने र यसको हिस्सा बन्न उत्सुक रहेको बताइन् ।
‘मलाई लाग्छ नेपालमा यो महिला भलिबल लिगको दोस्रो संस्करण हेर्न पाउनु अद्भुत छ । यो खेलाडीहरूको लागि मात्र होइन, एसियामा महिला भलिबलको विकास र प्रगतिको लागि पनि महत्त्वपूर्ण कदम हो । म यो अनुभवको हिस्सा बन्न पाउँदा साँच्चै खुसी छु, म जुनसुकै तरिकाले योगदान गर्न सक्छु, र म यो यात्रालाई फ्यानहरू र मेरा टोलीका साथीहरूसँग साझा गर्न उत्सुक छु,’ उनले भनिन् ।
तीन विदेशी खेलाडी अनुबन्ध गरेपछि काठमाडौंको टिममा खेलाडी संख्या ११ पुगेको छ । अब ट्यालेन्ट हन्टबाट एक खेलाडी राख्न बाँकी छ ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारीलाई मार्की प्लेअरमा निरन्तरता दिएको काठमाडौंले खेलाडी अक्सनबाट ७ खेलाडी अनुबन्ध गरेको थियो ।
काठमाडौंले अक्सनबाट मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । कमलाले पहिलो सिजन पनि काठमाडौंबाटै खेलेकी थिइन् ।
दोस्रो संस्करणका लागि काठमाडौंले लोक बहादुर बुढालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौं स्पाइकर्सले दोस्रो सिजन अझ बलियो भएर आउने र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) हुनेछ ।
काठमाडौं स्पाइकर्स टिम : उषा भण्डारी (मार्की प्लेअर), मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द
मुख्य प्रशिक्षक : लोक बहादुर बुढा
गुडविल एम्बासडर : अदिती बुढाथोकी
प्रतिक्रिया 4