
२ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रूपमा कूटनीतिक पहल जारी राखेको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस्तो जानकारी गराएकी हुन् ।
‘परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एक वर्ष म उपस्थित भएका राष्ट्रसंघीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरूमा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु,’ उनले लेखेकी छन् ।
हमास समूहको नियन्त्रणमा रहेका विपिनको शीघ्र रिहाइको लागि परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको उनको भनाइ छ ।
विपिनको रिहाइ गर्नु सरकारको दायित्व भएको भन्दै उनले हाल परराष्ट्र मन्त्रालयको परामर्श र इजरायल सरकारको सहयोगमा विपिनकी आमा र बहिनी इजरायल पुगेको उनले स्मरण गराएकी छन् । विपिनको आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेटगरी विपिनको रिहाइको अपिल गरेको जानकारी समेत उनले गराएकी छन् ।
मन्त्री राणाले गत असोजमा राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला त्यहाँ उपस्थित विश्वका नेता, जी७७ प्लस, जी२०, एलडीसी समूह लगायतका बैठकलाई सम्बोधन गर्ने क्रममा पनि विपिनको रिहाइको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन् ।
त्यसैगरी गत असोजमा दोहामा आयोजित एसिडी सम्मेलनमा सम्बोधन र त्यसपछिका साइडलाइन भेटहरूमा पनि उनले सो विषय उठाएकी थिइन् ।
इजरायल र हमासबीच युद्धविरामको तयारी भएपछि त्यसमा संलग्न र सम्बद्ध देशका विदेशमन्त्रीहरूसँग फोनमा र ती देशका नेपालस्थित राजदूतहरूसँग भेटेरै वपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरेको उनले बताएकी छन् ।
विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई निरन्तर रूपमा जारी राखेको बताउँदै मन्त्री राणाले इजरायल सरकार र हमासका बीचमा युद्धविरामको गृहकार्य सुरु भएपछि तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दीहरू रिहा गर्न दबाब दिएपछि पनि कूटनीतिक पहललाई थप सक्रिय बनाएको बताइन् ।
उनले गत माघमा कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी पहिलो चरणमै विपिनको रिहाइका लागि आग्रह गरेकी थिइन् । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।
मन्त्री राणाले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् । हमासले अपहरण मुक्त गर्न लागेका भनिएका व्यक्तिहरूको पहिलो चरणमा नै विपिनको रिहाइका लागि इजरायल सरकारले पहल गरिदियोस् भन्ने आग्रह विदेशमन्त्रीसँग गरेकी थिइन् ।
त्यसैगरी उनले इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अति तथा इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरी विपिनको रिहाइका लागि विशेष पहल गरिदिन नेपाल सरकारका तर्फबाट आग्रह गरिन् ।
त्यसैगरी उनले गत चैतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग समेत नयाँ दिल्लीमा भेट गरी विपिनको रिहाइमा अमेरिकाको सहयोग मागेकी थिइन् । त्यस बखत राइसिना डायलगमा सहभागी हुन आएका विभिन्न देशका नेता र मन्त्रीसँग पनि मन्त्री राणाले सहयोगका लागि अनुरोध गरेकी थिइन् ।
उनले मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग पनि गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत् ध्यानाकर्षण गराएकी थिइन् ।
प्रतिक्रिया 4