
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यप्रति जनताको विश्वास दैनिक रुपमा कमजोर हुँदै गएको बताएकी छन्।
- भण्डारीले सुशासन र पारदर्शीताको अभावले नागरिकको विश्वास कमजोर भएको र जनताप्रतिको कमजोर जवाफदेहिताले गम्भीर नागरिक निराशा उत्पन्न भएको उल्लेख गरिन्।
- उनले राजनीतिक अस्थिरता, भ्रष्टाचार र आर्थिक असमानता लगायतका चुनौतीले नेपालको दिगो विकासमा बाधा पुर्याइरहेको बताएकी छन्।
२ भदौ, विराटनगर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यप्रति जनताको विश्वास दैनिक रुपमा कमजोर हुँदै गएको बताएकी छन्।
नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणापछि पहिलो पटक विराटनगर आएकी भण्डारीले उद्घोष दैनिक पत्रिकाको बार्षिकोत्सवलाई सम्बोधन गर्दै सुशासन र पारददर्शीताको अभावले नागरिकको विश्वास कमजोर भएको बताएकी हुन् ।
जनताप्रतिको कमजोर जवाफदेहिताले गम्भीर नागरिक निराशा उत्पन्न भएको उनको भनाइ छ ।
‘राज्यप्रतिको विश्वास दिनदिनै कमजोर हुँदै गएको छ र असन्तोष क्रमशः बढ्दो छ,’ उनले भनिन्,‘ जबसम्म सुशासनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सक्दैनौँ, तबसम्म विकास, न्याय र समानताको जनअपेक्षा पूरा हुने सम्भावना न्यून रहन्छ।’
नेपालको विकासमा विभिन्न चुनौति र अवरोध रहेको उनको भनाइ छ। ‘नेपालको समग्र विकासको मार्गमा आज पनि विभिन्न चुनौती र अवरोधहरु रहेका छन्। जसमा राजनीतिक अस्थिरता, सुशासन र पारदर्शीताको कमी, भ्रष्टाचार, आर्थिक असमानता, सामाजिक पछौटेपन तथा ग्रामीण र सहरी विकासमा असन्तुलन मुख्य कुरा हुन्,’ लिखित मन्तब्य दिएकी उनले भनिन्,‘ यी चुनौतीहरुले राष्ट्रिय स्रोतको सदुपयोगमा बाधा पुर्याउने मात्र नभई दिगो विकासका लक्ष्यहरु हासिल गर्न पनि कठिनाइ उत्पन्न गरिरहेको छ।’
प्रतिक्रिया 4