+
+
Shares

पूर्वराष्ट्रपति भण्डारी फेरि मोरङ जाँदै, के-के छन् कार्यक्रम ?

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने र पार्टी सदस्यता नवीकरण नगर्ने एमाले निर्णयपछि राजधानी बाहिर हुन लागेको यो पहिलो भ्रमण हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते २०:०३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भदौ २ मा विराटनगर जान लागेकी छन्, उद्घोष दैनिकको २१औं वार्षिक उत्सव कार्यक्रममा सहभागी हुन।
  • एमालेले भण्डारीलाई पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरे पनि उनले राजनीतिक गतिविधि निरन्तर जारी राखेकी छन्।
  • भण्डारीले ५ भदौमा मदन भण्डारी ७५औं जन्मजयन्ती समारोहको नाममा स्थापना हुने कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुने छिन्।

१  भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भोलि विराटनगर जाने कार्यक्रम तय भएको छ । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको २१औं वार्षिक उत्सकव कार्यक्रमका लागि भण्डारी विराटनगर जान लागेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने र पार्टी सदस्यता नवीकरण नगर्ने एमाले निर्णयपछि राजधानी बाहिर हुन लागेको यो पहिलो भ्रमण हो ।

यसअघि जेठको अन्तिम साता झापामा आयोजित पार्टी कार्यक्रममा भण्डारीले भाग लिएकी थिइन् । चीन भ्रमणबाट फर्किए लगत्तै झापा र मोरङमा आयोजित कार्यक्रमहरुमा सहभागी भएकी पूर्वराष्ट्रपति भण्डारीले १४ असारमा सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रम मार्फत् भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि एमाले राजनीतिमा ठूलै हलचल आयो । विशेषगरी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका निम्ति भण्डारी चुनौती बनेको प्रचार भयो ।

यस्तो सन्देशबाट आत्तिएका ओलीले अघिल्लो वर्ष नै नवीकरण भइसकेको विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने निर्णय सुनाए । पार्टी पदाधिकारीहरुकै असहमतिबीच ओलीले भण्डारीको सदस्यता नवीकरण नहुने निर्णय सुनाएका थिए ।

तर पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयपछि पनि भण्डारीको सक्रियता रोकिएको छैन । ‘विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय कार्यान्वयन हुन नसक्ने सार्वजनिक घोषणा गरिसक्नु भएको छ । त्यसैले उहाँले पार्टी नेताकै हैसियतमा आफ्नो गतिविधि चलाइरहनुभएको छ’, भण्डारी निकट एक नेता भन्छन् ।

ती नेताका अनुसार भदौं तेस्रो साता गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनलाई ध्यान दिएरै पूर्वराष्ट्रपति भण्डारीले आफ्नो गतिविधि केन्द्रीत गरेकी छन् । ‘नेताहरुसँग निरन्तर कुराकानी भइरहेको छ । तल्लो तहसम्म छलफल भइरहेकै छ’, उनी भन्छन् ।

यद्यपि भोलि विराटनगर जाने कार्यक्रम भने राजनीतिक होइन । ‘पत्रिकाको कार्यक्रम हो, तर विराटनगर गइसकेपछि राजनीतिक भेटवार्ताहरु हुने नै भयो’, भण्डारी निकट नेता विनोद ढकाल भन्छन् ।

‘विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय कार्यान्वयन हुन नसक्ने सार्वजनिक घोषणा गरिसक्नु भएको छ । त्यसैले उहाँले पार्टी नेताकै हैसियतमा आफ्नो गतिविधि चलाइरहनुभएको छ।’

विराटनगरकै जस्तो कार्यक्रम वीरगञ्जमा पनि हुँदैछ । त्यहाँ पनि गैरराजनीतिक फोरमकै निम्ति पूर्वराष्ट्रपति भण्डारी जाने तयारी छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघले गर्ने सम्मान कार्यक्रममा भण्डारी प्रमुख अतिथि हुन लागेकी हुन् । ‘उद्यम गरेर सफल भएकी मधेशका महिला अगुवाहरुलाई सम्मान गर्ने कार्यक्रममा पूर्वराष्ट्रपतिलाई प्रमुख अतिथि बनाइन लागेको हो’ आयोजकले पत्रकार सम्मेलन गरेरै जानकारी गराएको छ ।

यो कार्यक्रम १४ भदौमा हुनेछ । स्रोतका अनुसार गैरराजनीतिक कार्यक्रम भएपनि त्यहाँ जाँदा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक भ्रमण नै हुनेछ ।

विराटनगर र वीरगञ्जको कार्यक्रम बीच मदन भण्डारी ७५औं जन्मजयन्ती समारोहको नाममा स्थापना हुने कार्यालय उद्घाटन कार्यक्रममा भण्डारी सहभागी हुँदैछन् । थापागाउँमा स्थापना हुने कार्यक्रम ५ भदौमा उद्घाटन हुँदैछ ।

मदन भण्डारी हिरक उत्सवको ब्यानरमा चलेपनि यो भण्डारीको सम्पर्क कार्यालय हुने नेताहरु बताउँछन् । ‘जबज, मदन भण्डारी र एमालेको आन्तरिक लोकतन्त्रकै कुरा हुने हो । त्यो मदन भण्डारीको जन्म जयन्तीसँग पनि सम्बन्धित छ, एमालेको आन्तरिक लोकतन्त्रसँग पनि जोडिएको छ’, भण्डारी निकट अर्का एक नेता भन्छन् ।

सदस्यता नवीकरण नगर्ने निर्णयको अर्थ नरहेको, र आफू नरोकिने सन्देश भण्डारीले ९ साउनमा पत्रकार सम्मेलन गरेरै जानकारी दिएकी थिइन् । एमालेको पूर्वउपाध्यक्षको हैसियतमा गरेको उक्त पत्रकार सम्मेलनमा भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले खान नसक्ने दावी गरेकी थिइन् । ‘२०३७ सालमा लिएको (सदस्यता), त्यतिखेर जननेता मदन भण्डारी कोशी–सगरमाथाको इन्चार्ज हुनुहुन्थ्यो, उहाँले शपथ खुवाउनुभयो मलाई । अब यहाँ कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्छ जस्तो लाग्दैन’, त्यसदिन भण्डारीले भनेकी थिइन् ।

सँगै आफ्ना समर्थकहरुलाई निर्धक्क भएर लाग्न पनि अपिल गरेकी थिइन्, ‘आफ्नो निर्णयबाट म विचलित हुने छैन । त्यसैले म सम्पूर्ण पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरुलाई आत्मसाथ गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आह्वान गर्दछु ।’

पत्रकार सम्मेलनको घोषणा बमोजिम भण्डारीले आफूलाई सक्रिय राखेको नेताहरु बताउँछन् । शुक्रबार मात्र बानेश्वरस्थित एक चिया पसलमा पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?