
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनगरमा करिब १ घण्टा भेटघाट गरेका छन्।
- पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीले आफूलाई अपमानित गरेको गुनासो गरेको मुख्यमन्त्री निकट स्रोतले बताए।
- नेकपा एमालेले भण्डारीलाई सदस्यता नदिने निर्णय गरिसकेको छ र पार्टी कार्यकर्तालाई भेटघाटमा नजाने उर्दी जारी गरेको छ।
३ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । विराटनगरमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग मुख्यमन्त्री कार्कीले सोमबार राति करिब १ घण्टा भेटघाट गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले पूर्वराष्टपति भण्डारीलाई भेटेको विषय गोप्य राख्न खोजिएको छ । यद्यपि, कार्कीको सचिवालयले भेटघाट अनौपचारिक भएको बताएको छ ।
भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीले आफूलाई अपमानित गरेको गुनासो गरेको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र सामाजिक विकासमन्त्री पाँचकर्ण राई पुगेका थिए ।
बिग होटलमा सामूहिक भेटपछि मन्त्रीहरू निस्किएका थिए । मुख्यमन्त्रीले भने करिब १ घण्टा वान टु वान छलफल गरेका थिए ।
प्रदेशका मुख्यमन्त्री र मन्त्रीले सुटुक्क भेटे पनि कार्यकर्तालाई भने पूर्वराष्ट्रपतिलाई नभेट्न नेकपा एमालेले उर्दी नै जारी गरेको छ ।
सोमबार विराटनगर आएकी भण्डारीले मंगलबार दिउँसो १२ बजेदेखि १ घण्टा पार्टी कार्यालय पाञ्चालिकमा कार्यकर्ता भेटघाट गर्ने सेड्युल छ । तर नेकपा एमाले विराटनगर इञ्चार्ज पर्शुराम बस्नेतले कुनै कार्यक्रम नभएको दाबी गर्दै त्यहाँ नजान कार्यकर्तालाई उर्दी जारी गरेका छन् ।
‘केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज मंगलबार दिउँसो १२ बजे नेकपा एमाले जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ,’ उनले लेखेका छन् ।
उनले थपेका छन्, ‘नेकपा एमालेको केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै पनि कार्यक्रम निर्धारण गरिएको छैन । साथै, जिल्ला कार्यालय वा विराटनगर महानगरपालिकाभित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन । तसर्थ, सो झुटो प्रचार प्रसारप्रति नझुक्किनु हुन सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टीप्रेमी जनसमुदायमा हार्दिक अनुरोध गर्दछु ।’
नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई एमालेले सदस्यता नदिने निर्णय गरिसकेको छ । भण्डारीका विषयमा छलफल बहस नगर्न पनि मातहतका कमिटीलाई निर्देशन दिइएको थियो ।
निर्देशनविपरीत भेटघाट कार्यक्रम राखेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले पूर्वराष्ट्रपतिलाई भेट्न नजान भनेको हो । तर विराटनगर महानगरको नेतृत्वमा विद्या भण्डारी समूहको बहुमत छ ।
बहुमत पक्षले भेटघाट कार्यक्रम आयोजना गरेपछि केपी शर्मा ओली पक्षधर नेताहरूले स्थानीय नेता तथा कार्यकर्तालाई फोन गरेर पार्टी कार्यालय नजान उर्दी जारी गरेको भण्डारी पक्षका नेताहरूले बताएका छन् ।
प्रतिक्रिया 4