+
+
Shares

अमेरिकाबाट उपसभामुखले भनिन्- खुला किताब हुँ, आरोप प्रमाणित भए जेल हाल्नू

‘अपराध गरेको प्रमाणित भए जेल हाल्न पर्‍यो नि । सामान्य विषयमा स्वार्थको लागि आरोप लगाउन मिल्छ ? कस्तो राजनीतिक संस्कृति हो ? यही हो लोकतन्त्र ?,’ उनले प्रश्न गरिन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ भदौ ३ गते २१:५१

३ भदौ, काठमाडौं । रातको १ बजेको थियो । अमेरिकामा रहेकी उपसभामुख इन्दिरा रानालाई तारन्तार फोन र म्यासेज आउन थाल्यो ।

‘यता त हटाउने तयारी भइरहेको छ नि,’ निकटस्थहरूले उनलाई सुनाए । तीनै निकटस्थ र पार्टीका केही साथीहरूले खबर गरेपछि आफूलाई हटाउने तयारी सत्तारुढ दलहरूले थालेको खबर थाहा पाइन् ।

यता, नेपालमा भने दुई दलबीचका नेताहरू हस्ताक्षर संकलनमा जुटिसकेका थिए ।

‘म त निद्रामै थिएँ । फोन र म्यासेजहरू आएपछि थाहा पाएँ,’ अमेरिकाबाट अनलाइनखबरसँगको टेलिफोन सम्पर्कमा रानाले सुनाइन् ।

कांग्रेस र एमालेले सामान्य विषयलाई नै संगीन आरोप लगाउनेगरी अघि बढाएको गुनासो उपसभामुख रानाको छ ।

‘बालबालिकाको क्षेत्रमा काम गरिरहेको व्यक्ति हुँ । बालबालिकाको लागि लडिरहेको छु । मेरो जिन्दगी नै खुला किताब जस्तो छ । राजनीतिक स्वार्थको लागि म माथि संगीन आरोप लगाइयो,’ उनले भनिन् ।

उपसभामुख रानाले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिइन् । ‘अपराध गरेको प्रमाणित भए जेल हाल्न पर्‍यो नि । सामान्य विषयमा स्वार्थको लागि आरोप लगाउन मिल्छ ? कस्तो राजनीतिक संस्कृति हो ? यही हो लोकतन्त्र ?,’ उनले प्रश्न गरिन् ।

उपसभामुख रानाले आफू १३ भदौमा नेपाल फर्किने बताइन् ।

‘म काममा आएको हुँ । डेमोक्रेसी सम्बन्धीको कार्यक्रम हो । एक दुई वटा मिटिङ अझैं बाँकी छ । १३ गते नेपाल फर्किन्छु,’ उनले भनिन् ।

उपसभामुख रानालाई हटाउने तयारी गरेपछि विपक्षी दलहरूले पनि आन्तरिक छलफल गरेका छन् । छलफलपछि उनीहरूले यो विषयको विरोधमा आफ्नो पार्टी उत्रने निष्कर्ष निकालेका छन् ।

यसैबीच, उपसभामुको विषय पटकपटक सत्तारुढ दलहरूले गिजोलेको भन्दै रास्वपाले जनतासामु नै लैजानपर्ने प्रस्ताव विपक्षी दलको बैठकमा राखेको थियो ।

जुन विषयमा विपक्षीहरूको सहयोग चाहिएको रास्वपाको भनाइ छ ।

शेखरसँग फोन संवाद

यस्ता विषयहरू निरन्तर मिडिया र आफ्नो फोनमा आएपछि उपसभामुख रानाले अमेरिकाबाटै सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासँग फोन संवाद गरिन् ।

रानाका अनुसार, कोइरालासँग उनले पछिल्लो तयारी र हुनसक्ने परिदृश्यबारे छलफल गरेकी थिइन् ।

‘मैले नेपालमा पछिल्ला दिनमा भइरहेका घटनाक्रमबारे जानकारी लिएँ,’ रानाले भनिन्, ‘उहाँले यो घटनाक्रममा मेरो साथ नै छ भन्नुभएको थियो ।’

कांग्रेस–एमालेले दुई तिहाइ पुर्‍याएर उपसभामुख हटाउने तयारी गर्दैगर्दा शेखर पक्षले भने हस्ताक्षर गरेको छैन ।

शेखर समूहको यो मुभलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ । स्मरणीय छ, करिब १ वर्षअघि पनि उपसभामुख रानालाई हटाउने प्रयास हुँदा शेखर विपक्षमा उभिएका थिए ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?