
५ भदौ, काठमाडौं । राजनीतिमा सक्रिय हुन थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय आज उदघाटन गर्दैछिन् ।
काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज सम्पर्क कार्यालय उदघाटन गर्न लागिएको हो ।
यद्यपि भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय भनेको छैन । त्यसलाई ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ । समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् ।
मूल व्यवस्थापन समितिकी संरक्षक समेत रहेकी विद्यादेवी भण्डारीले आज दिउँसो २ बजे कार्यालय उदघाटन गर्ने संयोजक पौडेलले जानकारी दिए ।
मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ ।
समितिले जनताको बहुदलीय जनवाद (जबज) र मदन भण्डारीका बारेमा वर्षभर विमर्शका कार्यक्रमहरू राख्ने बताइएको थियो । तर, पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने र उनको पार्टी सदस्यता नवीकरण नगर्ने एमाले निर्णयपछि परिस्थिति फेरिएको छ । यो बदलिएको परिस्थितिमा पूर्वराष्ट्रपति भण्डारी पक्षधरले मदन भण्डारी हिरक जयन्तीका निम्ति बनेको समितिमार्फत गतिविधि गर्ने योजना बनाएको छ । अर्थात् थापागाउँमा लिइएको यो भाडाको घरमार्फत एमालेभित्र अन्तरसंघर्षकै गतिविधि हुनेछ र विद्याले यसलाई आफ्नो सम्पर्क कार्यालयको रुपमा उपयोग गर्ने उनी निकट एक नेताले बताए ।
नेताहरूका अनुसार भाडामा अहिले लिइएको घरबाटै मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएका थिए ।
मदन भण्डारीको रहस्यमय निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि यही घरबाट चुनावी अभियान चलाएकी थिइन् । अहिले त्यही घरलाई भाडामा लिएर एमालेको अन्तरसंघर्षका गतिविधि गर्ने तयारी भइरहेको नेताहरू बताउँछन् ।
प्रतिक्रिया 4