+
+
Shares

‘चिठ्ठी’ निर्देशक भन्छन्- ठूला कलाकारको फिल्म भनेर डराएको छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ महिनामा आठ नेपाली फिल्म रिलिज हुँदैछन्, जसमा चाडपर्व र बिदाको कारण धेरै फिल्म प्रतिस्पर्धामा छन्।
  • निर्देशक माधवराज खरेलले आफ्नो फिल्म 'चिठ्ठी'लाई ठूला स्टारको फिल्मसँग भिड्ने डर नभएको बताए।
  • खरेलका अनुसार 'चिठ्ठी' सस्पेन्स थ्रिलर र डार्क कमेडी हो, जसले मनोरञ्जनसँगै सन्देश पनि दिन्छ।

काठमाडौं । असार-साउनमा सुस्त बनेको नेपाली फिल्म भदौदेखि गर्माएको छ । भदौ महिनामा ८ फिल्म रिलिज हुँदैछन् । चाडपर्वको आगमन र बिदाको कारण पनि यति धेरै संख्यामा फिल्म प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस महिना नाम र चलेका व्यस्त कलाकारका अनुहारले अभिनय गरेका फिल्मको चर्चा छ । कम चर्चा पाइरहेका फिल्म पनि ठूला चर्चित अनुहारसँग भिड्ने तयारीमा छन् ।

यही मेसोमा २० भदौमा माधवराज खरेल निर्देशित हरर कमेडी फिल्म ‘चिठ्ठी रिलिज हुँदैछ । सोही मितिमा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, बुद्धि तामाङ अभिनित ‘रिमै’ पनि प्रदर्शन तयारीमा छ ।

यस्तो अवस्थामा पनि निर्देशक खरेल आफ्नो फिल्मलाई लिएर ढुक्क सुनिए । उनले ठूला स्टारको फिल्मसँग आफू भिड्दैछु भन्ने कुरामा रत्तिभर नडराएको बताए ।

को र कति चर्चित कलाकार भन्दा पनि के र कस्तो कथा कुनै पनि फिल्मका लागि महत्वपूर्ण हुने बताए ।

‘सिनेमा त्यसले कास्ट गर्ने स्टारका आधारमा ठूलो र सानो भन्ने कुरामा म विश्वास गर्दिन । हुन त ठूला र चलेका कलाकार अनि साना कलाकार भन्ने वर्गीय सोच राख्न चलन छ तर दर्शकले स्वीकार गरेपछि ती कुरा गौण हुन्छन् र खासै ठूलो अर्थ राख्दैन’, उनले भने, ‘दर्शकले आफ्नो विषय र प्रस्तुतिलाई मनपराउनुभयो भने त्यसले केही फरक पार्नेवाला छैन ।’

उनले कलाकारभन्दा पनि फिल्म ठूलो हुने बताए । ‘जनरा अनुसारका दर्शकले आफ्नो सिनेमा रोज्नुहुन्छ भन्ने मेरो बुझाइ छ । त्यो हुनाले हामीलाई कुनै भय छैन’ उनी सुनिए ।

ठूला भनिएका अनुहारको फिल्मसँग चर्चाका लागि नभई आफ्नो फिल्मप्रतिको विश्वासका कारण रिलिज गर्न लागेको उनले दावी गरे ।

‘मलाई र हाम्रो टिमलाई जुधेरै पाइने चर्चाको आवश्यक्ता छैन । २५ वर्ष भन्दा बढि समयदेखि यो क्षेत्रमा काम गर्दै आइएको छ’, उनले भने ‘यो अवधिमा चर्चा पाउने कोण र शैली खोज्दै आजसम्म हिँडेको छैन ।’

खरेलका अनुसार ‘चिठ्ठी’ सस्पेन्स थ्रिलरका तत्व मिसिएको डार्क कमेडी फिल्म हो । ‘यो सिनेमा मनोरञ्जनका उद्देश्यले बनाएको भएतापनी यसभित्र सन्देशसमेत छ’, उनले भने ।

‘चिठ्ठी’ सिनेमाले दुई घण्टा १ मिनेट दर्शकलाई मनोरञ्जन दिने दावी निर्देशक खरेलले गरे । रिलिजका दौरान कम चलेका अनुहारका सिनेमाका बारेमा वितरक आदिलाई ‘कन्भिन्स’ गर्न असजिलो भएको समेत उनले बताए ।

यस्तो अनुभव भएपनि आफ्ना कलाकारलाई कम चिनिएको कलाकार भनिहाल्ने अवस्था नभएको बताए । ‘कम चिनिएका भन्ने पनि होइन, हामीसँग कमेडी च्याम्पियनका खड्क बहादुर पुन ‘खबपु’ , लामो समय हास्य कलाकारितामै ‘छन्दे’ उपनामबाट परिचित गोपाल ढकाल लगायतका कलाकार हुनुहुन्छ’ उनले भने ।

उनले भने, ‘केही तनाव नै नभएको त होइन प्रदर्शनका लागि । यद्यपि, वितरकलाई कन्भिन्स गर्नुपर्‍यो, दर्शकलाई कन्भिन्स गर्नुपर्‍यो, मिडियालाई कन्भिन्स गर्नुपर्‍यो । यस्ता कन्भिन्सिङ पाटोहरु धेरै छन् । यसले मलाई सिकाइ पनि रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?