+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सीमा विवाद निरुपण गर्न त्रिदेशीय सहमतीय ढाँचा प्रस्ताव गरौं : नेसपा नयाँ शक्ति

पार्टीले नेपालले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै भारत–चीन–नेपालबीच समानता, आपसी सम्मान र परस्पर विश्वासमा आधारित त्रिदेशीय सहमतीय ढाँचा निर्माण गर्नुपर्ने प्रस्ताव गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले भारत र चीनले पूर्वसहमति बिना लिपुलेक नाका व्यापार सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
  • पार्टीले यस कदमलाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति उपेक्षा र अपमानको रूपमा चित्रण गरेको छ।
  • सरकारलाई स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि आवश्यक कूटनीतिक र राजनीतिक कदम चाल्न पार्टीले अपिल गरेको छ।

६ भदौ, काठमाडौं । भारत र चीनले नेपालको पूर्वसहमति र परामर्शबिना लिपुलेक नाका व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने निर्णय गरेकोप्रति नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गम्भीर आपत्ति जनाएको छ।

पार्टीले शुक्रबार जारी गरेको विज्ञप्तिमा यस कदमलाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति देखाइएको गम्भीर उपेक्षा र अपमानका रूपमा चित्रण गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपालको स्पष्ट आपत्तिका बाबजुद पनि भारत र चीनले पुनः त्यही गल्ती दोहोर्‍याउनु दुःखद मात्र नभई छिमेकी मुलुकहरूको हेपाहा प्रवृत्ति हो।’

पार्टीले सीमा विवाद र कूटनीतिक संवेदनशील विषयहरूको समाधानका लागि नेपालले प्रभावकारी, सशक्त र परिणाममुखी पहल गर्नुपर्नेमा जोड दिएको छ।

पार्टीले नेपालले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै भारत–चीन–नेपालबीच समानता, आपसी सम्मान र परस्पर विश्वासमा आधारित त्रिदेशीय सहमतीय ढाँचा निर्माण गर्नुपर्ने प्रस्ताव गरेको छ ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेइजिङमा भएको सहमतिबाटै लिपुलेकलाई भारत–चीन व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने प्रयास भएको उल्लेख गर्दै पार्टीले त्यतिबेलै नेपाल सरकारले कूटनीतिक असहमति जनाएको स्मरण गराएको छ।

यस मामलामा नेपाल सरकारको कमजोरीलाई पनि औंल्याउँदै विज्ञप्तिमा भनिएको छ, ‘सरकारको कूटनीतिक सक्रियता र दृढताको अभावले सीमा र राष्ट्रिय हितसम्बन्धी संवेदनशील विषयलाई अझ जटिल बनाएको छ।’

विज्ञप्तिमा नेपाल कुनै पनि शक्तिको ‘हेपाइ वा चेपुवामा पर्ने देश नभएको’ र दुई विशाल अर्थतन्त्रबीच गतिशील पुलका रूपमा नेपालको भूमिका अझ मजबुत बनाउनुपर्ने बताइएको छ।

पार्टीका प्रवक्ता कृष्ण शर्माले जारी गरेको विज्ञप्तिमा सरकारलाई स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि आवश्यक कूटनीतिक र राजनीतिक कदम चाल्न जोडदार अपिल गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?