
६ भदौ, काठमाडौं । ललितपुरको धोबिघाटमा रहेको एउटा होस्टलमा अनौठो गतिविधि भइरहेको भन्दै अध्यागमन विभागले करिब एक महिना अघि सूचना पायो । भर्खरका किशोरकिशोरीहरुको आउजाउ भइरहने, ठूल्ठूला धार्मिक पुस्तक बोकेर विदेशी हिँड्ने गरेको विवरण विभागका अधिकारीहरुसम्म पुगेको थियो ।
‘विभिन्न प्रकारका भिसामा नेपाल आएका विदेशी त्यसअनुसारका गतिविधि गरिरहेका छन् कि छैनन् भन्ने निगरानी गर्ने जिम्मेवारी हाम्रै हो,’ अध्यागमन महानिर्देशक रामचन्द्र तिवारी भन्छन्, ‘त्यसैले सूचना प्राप्त हुनासाथ सुक्ष्म अनुगमनका लागि टोली खटाएका थियौं ।’
प्रारम्भिक जाँचमा प्राप्त सूचना अनुसार होस्टलमा किशोरकिशोरीलाई राखेर इस्लाम धर्म प्रचार भइरहेको देखिएपछि विभागका निर्देशक टिकाराम ढकाल नेतृत्वको टोली बुधबार शंकास्पद गतिविधि भएको भनिएको स्थानमा पुग्यो ।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले समेत यो टोलीलाई सहयोग गर्न प्रहरी खटाए ।
जब प्रहरी र अध्यागमन विभागका अधिकारीहरु हिमालय शिक्षा तथा हितेसी समाज नामक बोर्ड भएको घरको गेटबाट माथि प्रवेश गरे, त्यसबेला केही बालबालिकाहरुलाई कुअरान पढाउँदै गरेको देखियो । सामान्यत: मदरसाहरुले शिक्षा मन्त्रालयबाट अनुमति लिएरै नेपाली पाठ्यक्रमसँगै कुरआन पढाउँछन् ।
तर, त्यहाँ नेपाली पाठ्यक्रमको कुनै पढाइ भएको थिएन, धार्मिक ज्ञान मात्र दिने काम भइरहेको अधिकारीहरु बताउँछन् । पढ्ने विद्यार्थी पनि कतिपय हिन्दु धर्मसँग जोडिएकाहरु थिए ।
अनाथ बालबालिका ल्याएर कुरआन पढाइ
‘परिवारको आर्थिक पृष्ठभूमि एकदमै कमजोर भएका बालबालिकालाई कपिलवस्तु, सर्लाही, रौतहट, नेपालगञ्ज, दाङ लगायतका जिल्लाबाट सम्पर्क गरेर ल्याएको पाइयो,’ त्यहाँ पुगेका एक अधिकारीले अनलाइनखबरसँग सुनाए, ‘कतिपय बालबालिका त आमाबुबा नभएकाहरु पनि थिए ।’
विभागका निर्देशक ढकालका अनुसार, केही विदेशी नागरिकहरु देखेपछि उनीहरुको पृष्ठभूमिबारे सोधपुछ गरिएको थियो । ‘राहदानीसहितका कागजात पनि मागेका थियौं, त्यसक्रममा इन्डोनेसियाको नागरिक भएको खुल्यो,’ उनले भने।
विद्यार्थीलाई पढाइरहेका नेनेङ सिती मसपुपाह, तर्सिया आनन्दा तौफिक र मग्फिराह फाजिरा जाफ्नो अबिल्जरसँग काम गर्ने स्वीकृतिसहितको भिसा थिएन । ‘पर्यटक र अध्ययन भिसा लिएर काम गर्नु अध्यागमन ऐन विपरित थियो, त्यसैले नियन्त्रणमा लिएर विभागको हिरासतमा राख्यौं,’ ढकालले सुनाए, ‘संस्थाका अध्यक्षसँग समेत सोधपुछ गरिरहेका छौं ।’
स्रोतका अनुसार, हिमालय शिक्षा तथा हितेसी समाज नामक संस्था सैयद असरफ शाह नामक व्यक्तिले चलाउँदै आएका छन् । आफूलाई व्यवसायी बताउने उनले आफू संस्थाको अध्यक्ष भए पनि शिक्षकहरुलाई नचिन्ने दाबी गरेका छन् । ‘कुअरान सिकाउँदा टर्कीबाट पैसा आउँछ, उनीहरुले नै पढाउने मान्छे पठाउने हुन्,’ उनले भनेका छन्, ‘अहिले करिब ५० जनाले कुअरान पढिरहेका छन् ।’
उनीसँग सोधपुछ गर्ने क्रममा यही संस्थाको नाममा ललितपुरकै ज्वागलमा केटाहरुका लागि समेत होस्टल चलाउने गरेको खुल्यो । त्यहाँ समेत शुक्रबार विभागका अधिकृतहरुले छापा मारेका छन् । त्यसक्रममा मुहामद रहमत रिजिक पनि पर्यटक भिसामा आएर पढाइ रहेको भेटिएपछि पक्राउ परेका छन् ।
‘दुवैतिर पढ्ने विद्यार्थीको पृष्ठभूमि उस्तै प्रकृतिको पाइएपछि विस्तृत छानबिन सुरु भएको छ,’ विभागका अधिकारीहरु भन्छन् । उनीहरुले विद्यार्थी पढाउन ५ तलाको घर भाडामा लिएको भेटिएको निर्देशक ढकाल बताउँछन् ।
संस्थाका अध्यक्ष सैदयले आफूले समाज कल्याण परिषद्मा दर्ता गरेर संस्था चलाइरहेको बताएका छन् । तर, अन्य कागजातहरु परीक्षण भइरहेका छन् ।
टर्किस संस्थाका गतिविधि निगरानीमा
उनले बयानका क्रममा टर्कीको संस्था ‘साहा एगित्म कुतलुर भे दोस्तलुक देरनेगी’, साहा इन्टरनेश्नल र बेलायतको एउटा संस्थाबाट प्रत्येक वर्ष अढाइ करोड रुपैयाँ प्राप्त हुने गरेको बताएका छन् । त्यो रकम बैंकिङ च्यानल वा कुन माध्यमबाट आउँथ्यो भन्ने खुलिसकेको छैन ।
देरनेगी र साहा इन्टरनेश्नल टर्कीमा आधारित इस्लाम धर्म प्रचारक संस्था भएको उनले विभागका अधिकारीहरुसँग बताएका छन् । इन्टरनेटमा ती संस्थाबारे विस्तृतमा भेटिँदैनन् । इस्तानबुलमा केन्द्रीय कार्यालय भएको साहा इन्टरनेश्नल नामक एउटा संस्थाको एउटा वेवसाइटमा चाहिँ यसलाई मावतावादी संगठनका रुपमा चिनाइएको छ ।

बेलायतमा रहेको अर्को संस्थाबाट समेत सहयोग प्राप्त हुने भनिए पनि त्यसको विवरण प्राप्त भएको छैन । प्रारम्भिक जाँचमा अधिकांश रकम टर्कीबाटै आउने गरेको देखिएको अधिकृतहरु बताउँछन् ।
सन् २०१४ मा टर्कीको राष्ट्रपति निर्वाचित भएपछि रजेप तैयप एर्दोगानले विदेशमा धार्मिक र सांस्कृति पहुँच विस्तारलाई विदेश नीतिको एउटा अंग बनाएका थिए । त्यसपछि टर्कीले नेपालसहित मुस्लिम जनसंख्या भएको दक्षिण एसियाली मुलुकमा धर्म प्रचारमा सहयोग गर्दै आएको छ ।
राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का एक उच्च अधिकृतका अनुसार, खासगरी इस्लामी विश्वको नेतृत्वका लागि टर्की, साउदीसहितका खाडी मुलुकबीच तीब्र प्रतिष्पर्धा छ । त्यस्तोमा टर्की इस्लामी धर्म प्रचारमा विभिन्न देशमा लगानी लगेर आफ्नो सौम्य शक्ति विस्तार गर्न चाहन्छ ।
‘जतिसुकै संख्या भए पनि मुस्लिम समुदायको वसोवास भएको अधिकांश स्थानमा टर्कीले लगानी विस्तार गरेको छ,’ ती अधिकृत भन्छन्, ‘त्यसक्रममा नेपाल पनि उनीहरुको नजरमा परेको छ ।’
तर, कतिपय देशहरुले भने धर्म प्रचारका लागि भन्दै खोलिएका टर्कीका संस्था आतंकवादसँग जोडिएको भन्दै प्रतिबन्ध समेत लगाएका छन् ।
दक्षिण छिमेक भारतको बाह्य गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ) ले टर्कीका कतिपय त्यस्ता संस्थालाई कश्मिरमा इस्लामी प्रभाव विस्तार गर्ने गतिविधि गरेको आरोपमा निगरानी राखेको अधिकृतहरु बताउँछन् ।
नेपालमा चाहिँ टर्कीको आईएचएच नामक संस्थाले विगतमा कुरानको नेपाली अनुवाद परियोजनामा सहयोग गरेको छ भने भूकम्पपछि नेपालमा मस्जिद निर्माणमा सहयोग गरेको छ ।
भूकम्पपछि राहत परियोजनामा समेत यो संस्था जोडिएको छ । यही संस्थालाई इजरायलले चाहिँ हमास (जसलाई उसले आतंकवादमा संलग्न रहेको आरोप लगाउँछ) लाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो । जर्मनले पनि हमाससँगै जोडेर यसको गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।
नेपालमा टर्की दियानेट फाउन्डेसनले समेत धार्मिक गतिविधि गरिरहेको देखिने अधिकृतहरु बताउँछन् । पश्चिमा अधिकारीहरुले यो संस्थालाई टर्कीको धार्मिक एजेण्डा फैलाउने माध्यम भएको आरोप लगाउँछन् । तर, नेपालले यसका गतिविधिलाई विस्तृतमा नहेरेको अधिकृतहरु बताउँछन् ।
स्रोतका अनुसार, नेपालमा टर्कीमा आधारित अरु केही संस्थाका गतिविधि समेत नेपालीसँगै यहाँ सक्रिय विदेशी एजेन्सीहरुको नोटिसमा रहने गर्छ ।
नेपाल प्रहरीको प्रतिआतंकवाद मामिलामा काम गर्ने विशिष्टकृत निकाय विशेष ब्यूरोमा लामो समय काम गरेका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई नेपाल जस्तो मुलुकमा सहयोगको आवरणमा विभिन्न अवाञ्छित गतिविधि समेत हुनसक्ने भएकाले त्यसमा निगरानी हुनुपर्ने बताउँछन् ।
‘कतिपय मुलुकले त्यस्ता किसिमका संघसंस्था र तिनबाट प्राप्त हुने सहयोगमा प्रतिबन्ध समेत लगाएका छन्, त्यसैले नेपालमा समेत राज्य चनाखो हुनुपर्छ,’ उनले अनलाइनखबरसँग भने, ‘हाम्रो भूमि कुनै अवाञ्छित गतिविधिमा प्रयोग नहोस् भन्नेमा चनाखो हुनु राज्यको दायित्व पनि हो ।’
यहीबीचमा, गृह मन्त्रालयले चाहिँ विभिन्न गैरसरकारी संस्थाका नाममा लगाउने वैदेशिक सहयोगलाई निगरानी गर्ने गरी संघसंस्थासम्बन्धी विधेयक अघि बढाउन खोजेको छ । नेपालमा विदेशी चलखेलबारे निगरानी गर्न प्रतिजासुसी संयन्त्र गठन गर्ने गरी राष्ट्रिय अनुसन्धान विभागको विधेयक समेत संसद्मा पेश गर्ने तयारी सरकारले गरिरहेको छ ।
प्रतिक्रिया 4