
मेरो स्मरण शक्तिले भ्याएसम्म म ४/५ वर्षको उमेर हुँदादेखिको सम्झना मलाई अक्सर आउँछ । जतिखेर मेरो दैनिक जीवनको पार्श्वभूमिमा सँधै विभिन्न धुन, आवाज र बाजागाजाको ध्वनि गुञ्जिरहेका हुन्थ्यो । ती ध्वनिहरू मेरा लागि सामान्य थिए ।
मलाई यसमा कुनै आश्चर्य वा गजब लाग्दैनथ्यो । त्यसबेला मेरो पार्श्वमा ध्वनि बनी गुञ्जिरहेका ती धुनहरुले नेपाली गीत सङ्गीतको इतिहास कोर्दै थिए, एक पछि अर्को कोसेढुंगा थप्दै थिए र अनगिन्ती कालजयी गीतहरुलाई जन्माइरहेका थिए भन्ने कुराबारे म अनभिज्ञ थिएँ । अनि ती ध्वनिहरुका सर्जक मेरा बुवा गोपाल योञ्जन, मेरो मात्र नभइ सारा नेपाली गीत सङ्गीतकै पिता बनी नेपाली सङ्गीतलाई मलजल, लालनपालन र स्याहार गर्दै थिए भन्नेबारे पनि म बेखबर थिएँ ।
हाम्रो घरमा अनेकौं मानिसहरुको आउजाउ भइरहेको हुन्थ्यो । ती किन आइरहेका हुन्थे मलाई त्यसको कुनै अन्दाज थिएन । ती सबले बुवाका अघि श्रद्धाका साथ दुई हात जोड्थे र कोहीकोही त महिनौं दिनसम्म लगातार आउँथे र एउटै गीत रटेकोरट्यै गर्थे ।
यो किन हुन्थ्यो भनेर म अञ्जान थिएँ । स्कूलमा मेरा सिनियर दिदीहरुले मलाई, ‘गोपाल सरको छोरी’ भन्दै मेरा गालाहरु मायाले चिमोटिदिन्थे । म भने मेरा साना दुई हातले गालाहरु छोप्दै हैरान हुन्थेँ । तिनले किन त्यसो गर्थे त्यो पनि मलाई थाहा थिएन ।
गोपाल योञ्जन मेरा लागि, केवल एक असाध्यै स्नेही पिता हुनुहुन्थ्यो । मेरा साथीभाइहरु आफ्ना बुवासँग डराएजस्तो गरी उहाँसँग मैले कहिल्यै डराउनु परेन । उहाँ मलाई रमाइलारमाइला कथाहरु सुनाउनुहुन्थ्यो, मेरो पुतलीको हात वा टाउको भाँच्चिएमा मर्मत गरिदिनुहुन्थ्यो, र मलाई मोटरसाइकलको अगाडिपट्टि बसाएर घुमाउन लैजानुहुन्थ्यो । मेरा दुई भाइहरुमा, जेठो भाइ निर्वाण पढाइमा, विशेषगरी हिसाबमा अलि कमजोर थियो । यसैले बुवाले उसलाई सिक्न सजिलो होस् भनी २ एकान २ देखि माथिसम्मका गुणालाई लयबद्ध तरीकाले उसैलाई गाउन लगाई रेकर्ड गरिदिनुभएको थियो । निर्वाणको स्वर राम्रो भएकोले सानैदेखि उसलाई स्वरलिपी आउँथ्यो ।
‘पायो जी मैने राम रतन धन पायो’ जस्ता भजनहरु बुवाले उसलाई सिकाउनुभएको मलाई याद छ । ऊ ठूलो भएपछि उसलाई एक साँचो कलाकार बन्नका लागि प्रतिभा मात्र भएर पुग्दैन – लगन, मिहिनेत र ईमान्दारी चाहिन्छ भनी बुवाले उसलाई धेरै पटक धेरै अवसरहरुमा अर्ति दिएको पनि मलाई याद छ ।
सानो भाइ अहिंसा प्रतिभाशाली बालक थियो । ऊ स्कुले जीवनमा कक्षामा सँधै प्रथम हुन्थ्यो । बालक छँदा बुवाले बाँसुरी बजाउँदा, ऊ बुवाको खुट्टानेर आई मस्त निदाउँथ्यो । ११/१२ कक्षा पढ्दा ताका अहिंसाले आफ्नो साथीहरुसँग मिलेर आफ्नो म्युजिकल ब्याण्ड पनि खोलेको थियो । बुवाको शब्द तथा सङ्गीत रहेको गीत ‘शुभकामना नवयुगलाई’ अहिंसा र उसका साथीहरुले नै सङ्गीत संयोजन गरी रेकर्ड पनि गरेका थिए । सन् २००० को शुरुवातमा दिपेशकिशोर भट्टराइको स्वरमा पुन रेकर्ड गरिएको ‘मलाई माफ गरिदेऊ’ को भर्सन त्यसबेला निक्कै लामो अवधिका लागि नम्बर वन गीत बन्न सफल बनेको थियो । जसको नयाँ एरेन्जमेन्ट पनि अहिंसाले नै गरेको थियो ।
हामी तीन जनामा अहिंसा मभन्दा झण्डै ८ वर्ष सानो हो । म मेरी आमापट्टिको हजुरआमाकी प्यारी थिए भने ठूलो भाइ निर्वाण बुवापट्टिका हजुरआमाको मुटुको टुक्रा । कान्छो भाइ अहिंसा आमा बुवाको भागमा पर्न गयो । मैले, केजीदेखि एस्. एल्. सी. सम्म काठमाडौँको सेन्ट मेरिज हाई स्कूलमा पढेँ । निवार्णले प्रारम्भिक शिक्षा दार्जीलिङको प्रतिष्ठित बेथनी स्कुलमा हासिल गर्यो । अनि छोटो अवधिका लागि काठमाडौंको ई. पी. एस. स्कूलमा पढ्यो र पछि दुवै दाजुभाइ कालेबुङ निवासी आमापट्टिको हजुरआमा कहाँ बसेर स्कूल पढे ।
हामी तीनजनाको नाम बुवाले, श्रीजना (सृष्टि), निर्वाण (मोक्ष) र अहिंसा (मन, वचन र कर्मले कसैलाई हिंसा नगर्ने) राखिदिनु भएको थियो । उहाँले हाम्रो नाउँ धेरै ध्यानपूर्वक नै राखिदिनुभएको थियो जस्तो लाग्छ । हामी प्रत्येकले आफ्ना नामहरुलाई कतिको न्याय पुर्याउन सक्यौं भन्ने कुरा भने समयले देखाउला ।
मलाई फुपुले सुनाएअनुसार सानो छँदा म रोएँ भने, मेरो आँसुको थोपालाई आफ्नो औँलाले सोहोरेर बुवाले पिउनुहुन्थ्यो रे । अहिले त्यो प्रसङ्ग सम्झिँदा मेरा आँसुहरु झर्छन्, जस्लाई म आफैँ पुस्छु अनि आफैँ पिउँछु । हुर्कने क्रममा, थाहै नपाई बुवाबाट मैले स्वाभिमान, आत्मसम्मान र इमान्दारीको पाठ सिकेछु, जुन मैले आफ्नो निजी तथा व्यावसायिक जीवनमा लागू गर्न खोजेकी छु । आदर्शका बाटोमा हिँड्न खोज्दा त्यो बाटो कति कठिन, कति जटिल र कति असहज हुँदोरहेछ भन्ने कुरा बुझ्दै गएकी छु । आदर्शमार्गीहरुले जीवनमा बारम्बार अग्निपरीक्षा दिनुपर्ने रहेछ भन्ने पनि मलाई छर्लङ्ग भएको छ । यसबाट विचलित नहुन पनि मैले बुवाबाटै सिकेकी छु ।
आफ्नो सोच र कामको दायरा फराकिलो बनाउनुपर्छ भन्ने ज्ञान बुवाले सुनाउनु हुने विभिन्न कथाहरुमध्ये ‘कुवाको भ्यागुतो’ भन्ने कथाबाट मैले पाएँ । मिहिनेती, परिश्रमी, निस्वार्थी, उपकारी हुनुको महत्व उहाँका अनगिन्ती बालगीतहरुबाट सिकेँ । बुवाबाट मैले सिकेजति, बुझेजति ज्ञानहरु मेरा तीन छोरीहरुसित बाँडेकी छु । आज उनीहरु युवावयमा प्रवेश गरिसकेका छन् । उनीहरुको कुरा सुन्दा र उनीहरुको जीवनलाई हेर्ने तथा जिउने दृष्टिकोणलाई देख्दा मलाई लाग्छ, मैले सुनाएका ती कथाहरु र गीतहरु उनीहरुको मन मस्तिष्कमा पनि कुँदिएका रहेछन् ।
प्रत्येक वर्ष महेन्द्र पुलिस क्लबमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुले ममाथि पारेको छाप पनि अमिट छ । सानैदेखि ती कार्यक्रमहरुलाई एक प्रत्यक्षदर्शीका रुपमा घुलमिल हुँदै जाँदा, म नृत्यकला र कार्यक्रम व्यवस्थापन प्रति आकर्षित हुन पुगेछु । जानी-नजानी बुझी-नबुझी मैले कलेजका दिनहरूमा साथीहरुसँग मिलेर साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्न थालेको हिजै जस्तो लाग्छ । ‘चेलीको आवाज’ नामक गीति नाटक पद्मकन्या कलेजले प्रस्तुत गर्दा कार्यक्रम संयोजकको जिम्मा मैले पाएकी थिएँ । त्यसका सङ्गीतकार बुवा नै हुनुहुन्थ्यो । उक्त नाटक मञ्चनका लागि चाहिएको साउन्ड इफेक्ट मैले बुवाकै स्टुडियोमा बसी उहाँकै सहयोगमा तयार पारेकी थिएँ । कलेजका दिनहरुमा ठट्टैठट्टामा आयोजना गरेका कार्यक्रमहरु विस्तारै मेरा लागि गम्भीर रुचिको विषय र व्यावसायिक रुपले अँगाल्न सकिने पेसा बन्दै गयो ।
मैले चुनेको व्यवसायका कारण बुवाको गीत सङ्गीतसँग म झन् नजिकिन थालेँ । आज नयाँ साङ्गीतिक प्रोजेक्ट लिएर अगाडि बढ्ने क्रममा बुवाको अनुपस्थिति एकदमै खट्किन्छ । यस्तो बेला म उहाँले छोडेर जानुभएको सङ्गीतको ढुकुटी खोतल्न थाल्छु । अनि खोतल्ने क्रममा सँधै चाहेको खजाना भेट्टाउँछु र थप नयाँ ऊर्जा पाउँछु ।
समयसँगै म संसारको तौरतरिकासँग परिचित हुँदै गएँ । नयाँ सिकाइ, भोगाइ र नयाँ चुनौतीहरुको सामना गर्दै गएँ । विभिन्न अनुभव र चुनौतीहरुबारे म अपरिचित र अनभिज्ञ थिए । बुवाआमाको घरमा हुर्किंदा कहिल्यै आफूलाई छोरी भएका कारण भिन्न वा कमी भएको मैले महशुस गर्नु परेको थिएन । जीवनको मैदानमा उत्रेपछि पितृसत्ताले ग्रस्त नेपाली समाजले महिला र पुरुषबीच गर्ने विभेद र असमान व्यवहारलाई बुझ्दै गएँ । नारीलाई विभिन्न शक्तिशाली देवीका रुपमा पुज्ने समाजले वास्तविक जीवनमा नारीलाई सबै क्षेत्रमा कुल्चिएको पाएँ । अनि यो विभेदलाई अस्वीकार गर्दै प्रश्न उठाउन थालेँ ।
फलस्वरुप, मेरो सबैभन्दा प्रिय प्रोजेक्ट ‘सेलब्रेटिङ् वुमनहुड–नवदेवी सम्मान’ को जन्म भयो । यी प्रभावशाली देवीहरुसँग मेरो परिचय पनि बुवाकै सङ्गीतमार्फत भएको थियो । म पद्मकन्या क्याम्पसमा अध्ययनरत छँदा मिस वर्ल्ड युनिभर्सिटी प्रतियोगितामा भाग लिने मौका पाएकी थिएँ । ‘या देवी सर्वभूतेषु शक्ति रुपेण संस्थिता’लगायत देवी महिमाका श्लोकहरुमा आधारित एक शास्त्रीय नृत्य प्रस्तुतिका लागि बुवाले मेरो लागि एउटा गीत तयार पारिदिनु भएको थियो । सोही गीतमा मैले नृत्य प्रस्तुत गरें र सो प्रतियोगितामा मिस ट्यालेन्टको अवार्ड जित्न पनि सफल भएँ ।
मैले त्यही गीत छान्नुको कारण चाहिँ म त्यससँग परिचित थिएँ । ज्ञान, विद्या र कलाकी देवी सरस्वतीको पूजा एक साङ्गीतिक उत्सवका रुपमा हाम्रो घरमा बर्सेनी धूमधामले मनाइने गरिन्थ्यो ।
सन् ८० को दशकको सुरुसुरुमा काठमाडौंमा भि.सी.आर. डेक र भिडियो क्यासेटहरू भित्रिन थाले । त्यसबेलादेखि हिन्दी सिनेमाका सन् ८०/९० को मसाला सिनेमाका साथै सन् ५०, ६० र ७० का क्लासिक मुभिहरुसँग मेरो परिचय बुवाले नै गराइदिनुभएको हो ।
यसै क्रममा गुरुदत्त, वहीदा रहमान, राज कपूर, नर्गिस, देवआनन्द र साधना जस्ता सशक्त कलाकारहरुद्वारा अभिनित चलचित्रहरु बुवासँग बसेर हेरेको सम्झना ताजै छ । ती चलचित्रमार्फत सदाबहार हिन्दी चलचित्रका गीतहरुसँग म परिचित भएँ । अनि ती गीतहरुमार्फत हिन्दी चलचित्र सङ्गीतलाई सम्पन्न बनाइदिने गीतकार तथा सङ्गीतकारहरुसँग पनि मेरो परिचय भयो ।
हिन्दुस्तान र पाकिस्तानको विभाजनपछि विभिन्न ठाउँहरुबाट मुम्बइमा ओइरिएका कवि, शायर र सङ्गीतकारहरुले त्यसबेला हिन्दी सिनेमा सङ्गीतमा पुर्याएका योगदानबारे बुझ्ने मौका पनि मैले बुवाबाटै पाएकी हुँ ।
बौद्धिक समूहबाट सिर्जित उच्चकोटिका कविता, गीतहरुबाट हिन्दुस्तानी चलचित्र तथा सङ्गीतको प्रारम्भिक काल निर्देशित हुनु र ती कृतिहरुको उच्च कदर, संरक्षण र प्रवर्द्धन भएकाले हिन्दी गीत सङ्गीतले संसारभर प्रभुत्व जमाएको हो जस्तो मलाई लाग्छ । अनि आज जेजस्तो रुपमा हिन्दी सिनेमा र सङ्गीत भएपनि आफ्नो गौरवशाली इतिहास उनीहरुले बिर्सेका र बिर्सन दिएका छैनन् ।
गुरुदत्त, वहीदा रहमान र माला सिन्हा अभिनित एस.डी. वर्मनको सङ्गीत, साहिर लुधियानवीको शब्द तथा हेमन्त कुमारको स्वर रहेको चलचित्र ‘प्यासा’ को ‘जाने वो कैसे लोग थे जिनके प्यारको प्यार मिला’ र ‘यह दुनियां अगर मिल भी जाए तो क्या है’ बुवासँग बसेर सुन्दा र हेर्दा त्यसबेला ममाथि जुन प्रभाव परेको थियो त्यो आजसम्म पनि आलै छ ।
मलाई सो चलचित्रले स्तब्ध तुल्याउनुको साथै ओजस्वी सर्जकहरुको कामसँग परिचित गराएको थियो । ‘प्यासा’ ले त्यसबेला ममाथि जुन प्रभाव पारेको थियो, सोही खालको प्रभाव धेरै वर्षपछि मेरी कान्छी छोरी ४ वर्षको हुँदा राज कपूरको चलचित्र ‘श्री ४२०’ र सो चलचित्रका गीतहरुले उसलाई पारेको थियो । त्यस क्षण मैले बुवालाई एकदमै धेरै सम्झिएकी थिएँ ।
यसरी हिन्दीमात्र नभई पश्चिमा संसारको पनि गजबका प्रतिभाहरुको गीत सङ्गीतसँग मैले सानो छँदै परिचित हुन पाएँ । बीथोभेन, मोजार्ट, भिभाल्डी जस्ता विश्वविख्यात पश्चिमा क्लासिकलका हस्ती तथा ‘स्वान लेक’, ‘डा. जिभागो ’ देखि ‘हेन्री मेन्सिनी’ सबैलाई मैले घरकै रेकर्ड प्लेयरमा सुन्न पाएकी हुँ ।
यी सब रेकर्ड त्यसबेलाको नेपालको सीमित बजारमा पक्कै उपलब्ध थिएनन् । यसैले यहाँनेर मैले मेरी आमा रिन्छेन योञ्जनको नाम लिनैपर्ने हुन्छ । आफ्नो ट्राभलट्रेकिङ्ग व्यवसायको प्रवर्द्धनका लागि विदेश जाँदा उहाँले हाम्रालागि राम्रा राम्रा लुगा, खेलौना र किताबहरु ल्याइदिनुहुन्थ्यो भने बुवाको लागि लेटेस्ट साङ्गीतिक उपकरण र रेकर्डहरु ल्याइदिनुहुन्थ्यो ।
म हाई स्कूल पढ्दै गर्दा, माईकल ज्याक्सन, स्टीभी वन्डर, मडोनाका गीतसङ्गीतले ग्रामी अवार्ड जितेका थिए । तिनले म तथा मेरा साथीसङ्गीको मन जित्न पनि सफल भएका थिए । माईकल ज्याक्सन लगायत त्यसताकाका चर्चित कलाकारहरुका साथै अलि अगाडिको तर त्यसबेला पनि उत्तिक्कै लोकप्रियद्वय ‘एयर सप्लाई’ का गीतहरु मैले एकपल्ट बुवालाई सुनाएकी थिएँ । ती गीतहरु उहाँले बहुत चाखका साथ सुनेर सकारात्मक राय दिनुभएको थियो ।
एन्जल्स ब्यान्डका राजु लामालाई मैले हालसालै यु. एस. ए. मा भेटेकी थिएँ । युवा पुस्ताको चाखलाई खुल्ला मनले बुझ्न खोज्ने उहाँका गुणबारे उनले भेटमा भनेका थिए, “गोपाल दाई र उहाँको स्टुडियो नभएको भए, हामीजस्ता कति त्यसताकाका रक तथा पप व्याण्डहरुले आफ्ना गीतहरु रेकर्ड गर्नै पाउने थिएनौँ ।” उनी धेरै वर्षअघि गोपालय स्टुडियोमा रेकर्डिङ्ग गर्न आएका थिए ।
सन् ९० को दशकमा नेपाली गीतसङ्गीत एक रोचक मोडमा आईपुगेको थियो । युवा पुस्ता इलेक्ट्रोनिक वाद्ययञ्त्रहरुको ध्वनिमा आफ्नै प्रयोग गरिरहेका थिए भने सङ्गीतका ज्ञाता र पारखीहरु यस परिवर्तन विरोधी थिए । शायद बुवा नै त्यसबेला एक यस्ता सङ्गीतका हस्ती हुनुहुन्थ्यो, जसले ती युवाहरुका प्रयोगात्मक प्रयासलाई खुल्ला दिलले प्रोत्साहन गरि आफ्नो स्टुडियोमा न्यून शुल्क वा निशुल्कै पनि रेकर्डिङ्ग गरिदिनु हुन्थ्यो । गोपालय स्टुडियो एक यस्तो केन्द्र थियो जहाँ हर उमेरका, हर पृष्ठभूमिका, हर सुर र स्वरका मानिसहरुले निर्धक्क आई आफ्नो कलाको प्रदर्शन, प्रयोग र परीक्षण गर्न सक्थे । त्यहाँ कसैलाई भेदभाव गरिँदैन थियो ।
सङ्गीतसँग जोडिएका बाहेकका गुनासाहरु सुनाउन आउने र सहयोगको आश गर्नेहरुको पनि कमी थिएन । बुवाले कतिलाई डेरा भाडा, गाडी भाडा, खाना खर्च, बच्चाको फी, दशैँ खर्च बाँडेको मैले देखेकी छु । घर वा स्टुडियोमा आउने जाने कोही भोकै जाँदैनथे । साँच्चै भन्नुपर्दा, पद्मकन्या कलेजमा प्राध्यापक भई बुवाले पाउनुहुने पारिश्रमिक, हामी घरपरिवार माथि भन्दा उहाँका साङ्गीतिक लालाबालाहरुको लालनपालनमा खर्च हुन्थ्यो भन्दा पनि फरक पर्दैन । कतिले त नाजायज फाईदा पनि उठाए तर केही त्यस्तासँग बुबा रिसाएको मैले कहिल्यै देखिनँ ।
यस पुस्तकमा समेटिएका संस्मरणहरुमा पनि उहाँको उदार दिलको बयान पर्याप्त पढ्न पाइन्छ । बुवाको उदारताले गर्दा आमाले राजा हरिश्चन्द्र भनेर उहाँको दोश्रो नामै राखिदिनुभएको थियो । फरक यत्ति थियो कि हरिश्चन्द राजा थिए- अथाह सम्पत्तिका मालिक । गोपाल योञ्जन प्रवासबाट घर फर्केका एक स्वनिर्मित सङ्गीतसाधक ।
सम्पन्न राजा हरिश्चन्द्रलाई त आफ्नो वचन पूरा गर्न धौधौ परि आफू तथा आफ्नो परिवारका सदस्यहरुलाई बेच्न परेको थियो भने, गोपाल योञ्जनले कसरी धाने होलान् उनको भवसागर ? यसैले उहाँको उदारताबारे कुरा गर्दा उहाँको जीवनसङ्गी अर्थात मेरी आमा रिन्छेन योञ्जनको पनि कुरा गर्नै पर्ने हुन्छ ।
मेरी आमा आफू बाँचेको समयभन्दा धेरै पहिले जन्मिइन् । बेलायती सरकारको सबैभन्दा उच्च स्तरीय पदक भिक्टोरिया क्रसले विभूषित गञ्जु लामा तथा कालेबुङकी पहिलो महिला कमिश्नर बन्न सफल पद्मा डोल्माकी जेठी सुपुत्री थिइन् मेरी आमा । उनको आमापट्टिका हजुरबुवा लाह छिरिङ तत्कालीन ब्रिटिश ईन्डिया सरकारको इन्टेलिजेन्स् सर्भिसमा दार्जिलिङ तथा सिक्किमको पहाडी मूलका वासिन्दाहरुमध्ये सबैभन्दा उच्च पदमा कार्यरत थिए । उनको सम्भ्रान्त परिवारमा ब्रिटिशकै खानपान शैली, तौरतरिकामा हुर्कि बढि, सेन्ट जोसेफ कन्भेन्टमा शिक्षा हासिल गरेकी थिइन् मेरी आमाले ।
त्यसबेलाको काठमाडौँको समाजमा घुलमिल हुन उनलाई कति चुनौतिपूर्ण भयो होला भन्ने कुरा कमैले बुझेका होलान् ।
सन् ६०, ७० र ८० को दशकमा महिलालाई घरको परिधिभित्र परिभाषित गरि, महिलाको अस्तित्वलाई पुरुषसँग गाँसिएको नाताले मात्र स्वीकार्ने पितृसत्तात्मक समाजमा कसरी अटाइन् होला मेरी आमा ? सम्झिँदा पनि मलाई आश्चर्य लाग्छ । विवेकी, स्पष्टवक्ता र त्यतिबेला नै आफ्नै सफल व्यवसाय चलाएर, देशविदेश घुमेकी एवं आर्थिक रुपले सशक्त मेरी आमालाई त्यो रुढिवादी समाजले स्वीकार्न पचाउन मुश्किल तथा दुर्लभ कुरा थियो । अनि श्रीमतीलाई आफ्नो अधीनमा राखि आफूलाई शक्तिशाली ठान्ने पुरुष वर्गले मेरो बुवामा निहीत नारी सम्वेदनशीलतालाई बुझ्न नसक्नु कुनै आश्चर्यजनक कुरा थिएन ।
गोपाल र रिन्छेन योञ्जनको आपसी समझदारीमा आधारित बराबरीको पार्टनरशीप त्यसबेलाको समाजलाई बुझ्न गाह्रो मात्र नभई, अस्वीकार्य थियो । यसैले, “गोपाल योञ्जनकी श्रीमती यस्तीत्यस्ती” भन्नेहरुको कमी थिएन । पुरुषबाहेक अधिकांश नारीहरु पनि त्यही पितृसत्तात्मक सोचले पीडित हुनु अर्को दुःखद पक्ष हो । तर, पुरुषार्थ कायम गर्न नारीजातिलाई पितृसत्ताको साङ्गलोमा बाँध्न खोज्दा त्यही साङ्गलोको अर्को छेउमा आफू पनि जकडिएको नेपाली समाजमा कतिपयले बुझ्न थालेका छन्, र बिस्तारै सबैले बुझ्दै जालान् ।
खैर, गोपाल र रिन्छेनको जोडीलाई यो समाजले बुझुन् नबुझुन्, यो सत्य नेपाली गीत सङ्गीत क्षेत्रले स्वीकार्नै पर्छ कि गोपाल योञ्जनले दाल चामल जुटाउने टन्टा र घर परिवार चलाउने सांसारिक तनावबाट मुक्ति पाएकाले नै उनका सिर्जनाहरु स्वतन्त्र, फराकिलो र बुलन्द भई उड्न पाएका हुन् ।
बुवाको बुवा डा. बुद्धिमान तामाङ ब्रिटिश भारतका सरकारले प्रमाणित गरेको मेडिकल डाक्टर हुनुहुन्थ्यो । बुवा दश महिनाको छँदा दुर्भाग्यवश उहाँको निधन भएको थियो । यसैले बुवाको जीवनमा उहाँकी आमा र आमाका परिवारको ठूलो प्रभाव रह्यो । आमा छेगु डोल्मा नौ छोरीहरु र एक छोरा मध्येमा जन्तरी छोरी हुनुहुन्थ्यो । सोही परिवारका तीन दिदी बहिनीहरुको विवाह तीन दाजुभाइहरुसँग भएको थियो । त्यसमध्ये माईली दिदीको चाँडै मृत्यु भए पछि, मेरो माम (तामाङ भाषामा हजुरआमा) लाई उहाँकै दिदीको “सट्टा भर्ना” स्वरुप आफ्नो भेनासँग विवाह गरि पठाइएको रहेछ ।
साईँली, काईँली, मन्तरी र जन्तरी चार दिदीबहिनीहरु दार्जिलिङ शहरको एकै सडकमा अवस्थित ओल्लो पल्लो घरहरुमा बस्न पुगे । यसकारण यी दिदी बहिनीका परिवारहरु बीच घनिष्ट सम्बन्ध रहन पुग्यो । यो वृहत परिवारका सदस्यहरु अक्सर काठमाडौँ घुमघाम गर्न आउँथे । विशेषगरि जाडो महिनामा ।
काठमाडौँमा त्यसबेला हाम्रो घर तथा रीता सुब्बा फूपूको घरमा सबैजना अटाउँथे । सानो छँदा हामीलाई घरको त्यो रमझम असाध्यै रमाईलो लाग्थ्यो । मामहरु काठमाडौँ आउनुभएको बेला स्वयम्भू, बौद्धनाथ, पशुपतिनाथका साथ दक्षिणकाली र फर्पिङ्गको भ्रमण अनिवार्य हुन्थ्यो । दक्षिणकालीको दर्शन गरि फर्कदा फर्पिङ्गमा खाजा खाने कार्यक्रम बनाइएको हुन्थ्यो । भ्रमणका लागि मिनीबस भाडामा लिइएको हुन्थ्यो जसमा पाहुनाहरुका साथै दमवाला मट्टितेलको स्टोभ, कराई, स्टीलको प्लेट ईत्यादि तथा चिया, आलु, पुरी, तरकारी बनाउन चाहिने सम्पूर्ण सामाग्री प्याक गरिएको हुन्थ्यो ।
अनि फर्पिङ्ग गुम्बाको दर्शन सिध्याएपछि सबैका लागि चिया खाजा बनाउने मुख्य भूमिका मेरी आमाले नै निर्वाह गर्नुहुन्थ्यो । साथमा काकीहरु, फूपूहरु हुन्थे । बुढाबुढीलाई तातो तातो चिया, पुरी तरकारी थप्ने काम चाहिँ हामी केटाकेटीको भागमा पर्थ्यो ।
यस्तै रमाईला पलहरुका साथै, दार्जिलिङ र काठमाडौँका परिवारका सदस्य तथा साथीभाइहरुलाई समस्या परेमा हल गर्ने थलो नै हाम्रो घर थियो । बास लिन आएकालाई घरको बैठकभरि सुत्नका लागि आमाको ट्रेकिङ्ग कम्पनीको म्याटे«स र स्लीपिङ्ग ब्याग छँदैथ्यो । कतिपल्ट मान्छे हराएभने वा कसैले बदमाशी गरि पुलिस थानामा थुनिए भने तिनलाई उद्दार गर्न पनि आमाबुवा नै पुग्नुपर्थ्यो ।
मेरो वुवा अन्र्तमुखी, अलग र अद्भूत हुनुहुन्थ्यो । उहाँ जस्तो दयालु र निस्वार्थी पुरुष मैले भेटेकै छैन । लाइमलाईट उहाँले कहिल्यै खोज्नु भएन । बुवाको खूबी नै भन्नुपर्छ – स्वर, शब्द र सङ्गीतमा आफू स्वयं नै पूर्ण र प्रखर लहर भएपनि, उहाँले आफूलाई मात्र अगाडि कहिल्यै प्रस्तुत गर्न चाहनुभएन र गर्नुभएन पनि । बरु उहाँले आफ्नो लहरमा अरुलाई समेट्दै लैजानुभयो । धेरैले भन्छन्, यही लहरले नेपाली गीतसङ्गीतमा स्वर्ण युग पायो । सायद आजसम्म पनि गोपाल योञ्जन नै एक यस्ता गीतकार तथा सङ्गीतकार हुन् जस्को गीतहरु मार्फत सबैभन्दा धेरै संख्यामा गायकगायिकाहरु बहुचर्चित तथा सर्वश्रेष्ठ बनेका छन् ।
यदि उनले आफ्ना सबै गीतहरु आफै गाएका भए नेपाली सङ्गीतको मानचित्र कस्तो हुन्थ्यो होला ? नेपाली सङ्गीत आजको अवस्थामा आइपुग्न निश्चित रुपमा विभिन्न कलाकारहरुको योगदान छ, तर गोपाल योञ्जनलाई एकैछिन नेपाली सङ्गीतको मानचित्रबाट निकालेर हेरौँ, त्यसले नेपाली सङ्गीतलाई सही मार्गदर्शन गरि गन्तव्यतर्फ डो¥याउन सक्ला कि नसक्ला ?
म सानो हुँदा काठमाडौँ र काठमाडौँ बाहिर हुने विभिन्न स्टेज कार्यक्रमहरुमा बुवा, आमाको साथमा जान्थेँ । त्यतिबेला बुवाले स्टेजमा प्रस्तुति दिनुहुँदा उपस्थित सबैलाई हँसाएको, नचाएको र रुवाएको मैले प्रत्यक्ष देखेकी छु । म यस्तै ४/५ वर्षको हुँदा ब्याकस्टेजबाट बुवाको सङ्गीतको जादूले मलाई स्टेजमा तानेर लगी नाच्न बाध्य बनाएको अनुभवहरु पनि मसँग छन् । त्यस बेला अहिलेको जस्तो प्रविधि हुँदो हो त, ती पलहरु मेरो आफ्नो लागि पनि कति अमूल्य दस्तावेज हुने थियो ।
बुवाको सङ्गीतको शक्ति मैले प्रत्यक्ष महसुस गरेको एक अविष्मरणीय पल सम्झन्छु । सन् ९० को शुरुतिरको एन. टी. भी. नाईट हुँदै थियो । नेपाल टेलिभिजनले आफ्नो बार्षिक उत्सव मनाउन आयोजना गरेको सो वर्षको एन. टी. भी. नाईटमा वरिष्ठ देखि नवोदित चर्चित कलाकारहरुले ज्येष्ठताको हिसाबले आ–आफ्नो एकल प्रस्तुति दिने कार्यक्रम राखिएको थियो ।
बुवाको पालो केही वरिष्ठ कलाकारहरु पछि परेको थियो । सो टिकेटेड शोमा दर्शक अलि बढि नै उच्छृङ्खल देखिन्थे र कार्यक्रमको पहिलो भागतिर वरिष्ठ कलाकारहरुबाट प्रस्तुति हुँदा होहल्ला गरिरहेका थिए । बुवाको प्रस्तुतिको पालो आउँदा, उहाँ स्टेजमा आई प्लाटफर्ममा हार्मोनियमको अगाडि बसेर गीत सुरु गर्दासम्म पनि दर्शकले होहल्ला नै गरिरहेका थिए ।
बुवाले कार्यक्रममा एक राष्ट्रिय गीत गाउनुपर्ने थियो । तर, त्यस दिन त्यहाँको माहोललाई बुझेर उहाँले अचानक मेरो गीत म उभिएको धूलोले सुनोस् गाउन थाल्नुभयो । उहाँले गीतको पहिलो अन्तरा गाईसक्दा नसक्दै कोलाहल मच्चाईरहेका दर्शक एकाएक चुप हुन थाले र हलमा पिन ड्रप साइलेन्स छाउन पुग्यो ।
गीत पूरै गाईसक्नुभएपछि, बुवाले प्लाटफर्मबाट स्टेजमा खुट्टा झारी, आरामले जुत्ताको फित्ता बाँधि, बिस्तारै उठी स्टेजबाट ब्याकस्टेजतिर हिंड्न थालिसकेपछि बल्ल स्तब्ध बनेको दर्शकबाट तालीको गर्जन हुन थाल्यो । त्यसबेला दर्शकदीर्घामा बसेकी मैले मेरो बुवाको सङ्गीतको चमत्कारी भनूँ या ईश्वरीय स्वरुप प्रत्यक्ष देख्न पाए । त्यो मेरो लागि एक दिव्य अनुभव थियो । त्यसबेला दर्शकदीर्घामा बसेकी मैले मेरो बुवाको सङ्गीतको चमत्कारी भनूँ या ईश्वरीय स्व?प प्रत्यक्ष देख्न पाए । त्यो मेरो लागि एक दिव्य अनुभव थियो ।
000
यसैगरि बुवाको लाईभ दर्शकसँगको अर्को घटना म अझै सम्झन्छु । सन् १९९० मा बोद्धगयामा नेपाली गुम्बा र धर्मशाला निर्माण गर्नका लागि अर्थ संकलन कार्यमा हर्ताकर्ता बुवाकी ठूली आमा हुनुहुन्थ्यो । सो कार्यक्रमको लागि दार्जिलिङमा बुवाको एकल कार्यक्रम राखिएको थियो । मैले पनि कार्यक्रममा दुईतीनवटा नृत्यमा भाग लिएकि थिएँ र मञ्चको साइड विङ्गबाट कार्यक्रम हेरिरहेकि थिएँ । विभिन्न गीतहरुमध्ये बुवाले, बनेको छ पहाराले पनि गाउनुभएको थियो । जब सो गीतको, म झुक्दै नझुक्ने नेपालको छोरो भन्ने बुवाले गाउन थाल्नुभयो, तब पछाडि बसेका दर्शकको एक समूहले, म झुक्दै नझुक्ने गार्खाको छोरो भनी गाउन थालि उनलाई पनि त्यसै गर्न कर गर्न थाले । त्यसबेला दार्जिलिङमा ‘गोर्खाल्याण्ड’ आन्दोलन चलिरहेको थियो। तर बुवाले एकटकले, म झुक्दै नझुक्ने नेपालको छोरो भनी सोहिलाई दोहोराएको दोहाराएकै गर्नुभयो ।
माहोल निक्कै तनावपूर्ण बन्न गईरहेको थियो जब बुवाले नेपालको छोरो भन्न छोड्नु भएन र दर्शकको त्यो समूहले गोर्खाको छोरो भनी कराउन छाडेनन् । निक्कै लामो अन्तरालसम्म त्यो दोहोरी चलिरह्यो तर अन्तत बुवाले, म झुक्दै नझुक्ने नेपालको छोरो भनी गाएरै छाडे र दर्शकका ती केहीलाई चूप लाग्न कर लाग्यो । अहिले बुझ्दैछु बुवाको सोँचमा, नेपाली हनुको अर्थ कुनै ठाउँ वा परीधिभित्र सीमित नभई, कति वृहत रहेछ ।
कहिलेकाहीं म पनि सोँच्ने गर्छु – यदि गोपाल योञ्जनको सिर्जना नहुँदो हो त नेपाली गीतसङ्गीत स्वरुप कस्तो हुन्थ्यो होला ? अनि कता कता अल्मलिराखेको आजको नेपाली गीत सङ्गीतको माहोललाई हेरेर आफ्नो प्रश्नको जवाफ पाउँछु – शायद यही हो गोपालसङ्गीत विहीनको नेपाली सङ्गीत ।
गोपाल योञ्जनले हाँकेको नेपाली गीत सङ्गीत क्षेत्र आजकल रुग्ण हुँदै गएको पाउँछु । हल्ला मच्चाउन र कुनै समयलाई हाँक्नमा त धेरै ठूलो अन्तर हुन्छ । हाँक्नु भनेको समाजलाई दिशा निर्देश गर्नु र समाजलाई विषाक्त हुनबाट जोगाउनु पनि हो । यसैले शायद यो जिम्मेवारी वहन गर्न हरकोही पछि सरेका होलान् । हरेक पुस्तालाई आफ्नो एक्सपेरिमेन्ट गर्ने हक र छुट हुन्छ र प्रत्येक पुस्ताले त्यसो गरेका छन् पनि । तर, यस प्रक्रियामा आफ्नो साँस्कृतिक तथा साङ्गीतिक धरोहरहरुको बेवास्ता र उपेक्षा गरी आफ्नोपन नै बिथोल्ने र आफ्नो संरचना नै भत्काउने दुष्कर्म चाहिँ कसैले गर्न हुँदैन ।
आज नेपाली गीत सङ्गीत अलमलिएको स्थितिमा छ – सच्चा कलाका साधकहरुको आवाज रित्तो भाँडाहरुको कर्कश ध्वनिमुनि दबिएको छ । हरेक क्षेत्रमा आधुनिकता र परिवर्तनको नाममा हामी एक भ्रमित, खोक्रो अनि दरिद्र जमातले भरिएको समाज बन्दै गइरहेका छौँ । साङ्गीतिक रुपमा पनि हामीसँग आफ्नो पहिचान भनि गर्व गर्न सक्ने खालको र विशेषगरि नयाँ पुस्तालाई सुम्पिन सकिने विरासत बाँकी नरहन सक्ने स्थिति आइसकेको छ, जुन सोचनीय छ । तर, समकालीन सचेत पुस्ताले यस्ता बहुमूल्य सिर्जनाहरुको माग गर्लान् र खोजी गर्लान् भन्ने आशा राख्न भने मैले छाडेकी छैन ।
सबैले भन्छन्, गोपाल योञ्जन अल्पायुमै गए । एउटा छोरीको नाताले उनको भौतिक उपस्थ्तिि म पक्कै एकदमै मिस गर्छु । उहाँ यस धर्तीमा अझै हुँदो हो त, त्यस बेलाको मेरो अल्लारे बुद्धिले भन्दा, यो मेरो पाको विवेकले उहाँलाई ज्यादा बुझ्थ्यो होला । उहाँका गीतहरुको भाव र गुदी उहाँलाई नै सोध्न पाउँथेँ । मैले उहाँको सेवा गर्ने मौका पाउँथे । बुवा मैले जीवनमा गरेका साना ठूला उपलद्धिहरु देखेर कति खुशी हुनुहुन्थ्यो होला ।
मेरा छोरीहरुका बालापनका मीठा पलहरुमा रमाई, हुर्कने क्रममा उनीहरुले गरेका उपलब्धिहरु देखेर, अरु हजुरबुवाहरु जस्तै मेरो बुवा पनि गर्वले छाती फुलाउनहुन्थ्यो होला । तर, यी सब मेरा आफ्ना स्वार्थी आशय हुन् जस्तो पनि लाग्छ । ‘सबैभन्दा उज्यालो बत्ती सबैभन्दा छिटो निभ्छ’ भनी आफैंलाई थुम्थुमाउँछु ।
हो, गोपाल योञ्जन अल्प आयु लिएर यस धर्तीमा आए – तर उनका कृतिहरु उनीजस्तै अल्पायुमा गएका छैनन् । मलाई गर्व छ त्यस्ता पिताका सन्तान हुनुमा जसले आफ्ना कृतिहरुको शक्तिले कालमाथि पनि विजय प्राप्त गर्न सकेको छ । गवाही दिन उहाँका विविध विधाका कालजयी सिर्जनाहरु छन् । उहाँलाई माया गर्ने करोडौंले यस सत्यलाई स्वीकारेका छन् ।
त्यसबेला दर्शकदीर्घामा बसेकी मैले मेरो बुवाको सङ्गीतको चमत्कारी भनूँ या ईश्वरीय स्वरुप प्रत्यक्ष देख्न पाए । त्यो मेरो लागि एक दिव्य अनुभव थियो ।
यसैगरि बुवाको लाईभ दर्शकसँगको अर्को घटना म अझै सम्झन्छु । सन् १९९० मा बोद्धगयामा नेपाली गुम्बा र धर्मशाला निर्माण गर्नका लागि अर्थ संकलन कार्यमा हर्ताकर्ता बुवाकी ठूली आमा हुनुहुन्थ्यो । सो कार्यक्रमको लागि दार्जिलिङमा बुवाको एकल कार्यक्रम राखिएको थियो । मैले पनि कार्यक्रममा दुईतीनवटा नृत्यमा भाग लिएकि थिएँ र मञ्चको साइड विङ्गबाट कार्यक्रम हेरिरहेकि थिएँ । विभिन्न गीतह?मध्ये बुवाले, बनेको छ पहाराले पनि गाउनुभएको थियो । जब सो गीतको, म झुक्दै नझुक्ने नेपालको छोरो भन्ने लाइन बुवाले गाउन थाल्नुभयो, तब पछाडि बसेका दर्शकको एक समूहले, म झुक्दै नझुक्ने गार्खाको छोरो भनी गाउन थालि उनलाई पनि त्यसै गर्न कर गर्न थाले । त्यसबेला दार्जिलिङमा ‘गोर्खाल्याण्ड’ आन्दोलन चलिरहेको थियो।
तर बुवाले एकटकले, म झुक्दै नझुक्ने नेपालको छोरो भनी सोहि पंक्ति दोहोराएको दोहाराएकै गर्नुभयो ।
माहोल निक्कै तनावपूर्ण बन्न गईरहेको थियो जब बुवाले नेपालको छोरो भन्न छोड्नु भएन र दर्शकको त्यो समूहले गोर्खाको छोरो भनी कराउन छाडेनन् । निक्कै लामो अन्तरालसम्म त्यो दोहोरी चलिराख्यो तर अन्तत बुवाले, म झुक्दै नझुक्ने नेपालको छोरो भनी गाएरै छाडे र दर्शकका ती केहिलाई चूप लाग्न कर लाग्यो । नेपाली हुनुमा कति गर्व थियो उहाँलाई !
कहिलेकाहीं म पनि सोँच्ने गर्छु – यदि गोपाल योञ्जनको सिर्जना नहुँदो हो त
अनि धेरैले भन्ने गर्छन, गोपाल योञ्जनको निधनले नेपाली साङगीतिक क्षेत्रले ठूलो क्षति बेहोर्नु परेको छ । त्यसमा म नेपाली गीत सङ्गीत क्षेत्रसँग सम्बन्धित सबैलाई प्रश्न गर्न चाहन्छु – गोपाल योञ्जनको जम्मा ३३ वर्ष लामो औपचारिक साङगीतिक यात्रामा उहाँले जति कृतिहरु छोडेर जानुभयो – तिनलाई बुझ्न, अध्ययन गर्न र तिनबाट लाभ उठाउन सकिएको छ कि छैन ? तिनलाई सम्हालेर नयाँ पुस्तालाई बुझाउन के कस्ता योजना बनेका छन्? यस प्रश्नको जवाफ प्रष्ट छ – त्यसो हुन सकेको छैन । अनि गोपाल योञ्जनको सम्पूर्ण वेगलाई नेपाली गीत सङ्गीतले थेग्न सक्थ्यो होला त ? यसैले पनि गोपाल योञ्जनले जति दिनुभयो, त्यति मात्र दिएर अन्तै हिँड्नुभएको होला, एक यस्तो ठाउँमा जहाँ उहाँको प्रतिभाको यहाँभन्दा बढि कदर भइरहेको होला ।
निजी तवरमा, बुवाको निधन भएको क्षणलाई फर्केर हेर्नुपर्दा मलाई अझै पीडा हुन्छ । गोपाल योञ्जन एक महान साङ्गीतिक हस्ति भएकाले उहाँको निधन एक सार्वजनिक चासो र चर्चाको विषय बन्नु स्वाभाविकै थियो । तर, त्यही सार्वजनिक चासो र चर्चाले हामीलाई त्यसबेला र त्यसपश्चात पनि पर्सनल ग्रीफ गर्न पर्सनल स्पेस नै दिएन । नयाँ दिल्लीको एपोलो अस्पतालमा बुवाले देहत्याग गर्नुभएको बेलादेखि उहाँको पार्थिव शरिरलाई काठमाडौँ ल्याई दाहसंस्कार गरेको बेलासम्म र त्यसपश्चात हामी परिवारले सामना गर्नुपरेको क्रमबद्ध घटनाक्रमको पीडा अझै अकथित छ ।
एपोलो अस्पतालमा बुवा बित्नुभएको त्यो बिहान आमा फुटेर रोएको देख्दा मेरो मुटु एकाएक कडा बनेको थियो । मलाई लाग्यो म टुट्न हुँदैन र एक अनौठो अन्तरबलले मलाई मेरो आँसु थाम्न सघायो । त्यसको अघिल्लो दिनमात्र बुवालाई आई.सी.यु.मा विभिन्न चिकित्सक यन्त्रहरु बीच अचेत अवस्था देख्दा, म बेस्सरी रोएकी थिएँ । त्यसबेला मेरी आमाले मेरो शक्ति बनी मलाई हौसला दिनुभएको थियो । बुवा अस्पतालमा रहँदा लगभग तीन महिनासम्म मूलभूत रुपमा आमाले नै रेखदेख गर्नुभएको थियो । केही राहत दिन मेरी फूपू (बुवाका एकमात्र दिदी प्रतिमा) र भान्जा (सत्यकाम) त्यहाँ पुगेका थिए । म पछिमात्र नयाँ दिल्ली पुगेँ किनभने बुवालाई दिल्ली लैजाँदा, मेरी जेठी छोरी नवश्री भर्खर दुई महिनाकी र ममाथि पूर्ण निर्भर दुधे बालक थिईन् । उनी माघको १ गते जन्मिँदा, बुवाले अस्पतालमा मिठाई ल्याई वरपरका सबैलाई बाँड्नुभएको थियो ।
घर पुगी नीलम आन्टीलाई फोनमा आफ्नो नातिनीको सौन्दर्यको बयान गर्नुभएको रहेछ । नातिनीको नाम मेरो जीवनसाथी नविन र मेरो श्रीजनाको नाम मिलाई नवश्री बुवाले नै राखिदिनुभएको हो ।
बुवा अस्वस्थ भई दिल्ली लगिएको खबर सार्वजनिक भएपछि कतिजनाले सरकारलाई निवेदन लेख्ने देखि सहयोगार्थ कार्यक्रमहरु गर्ने योजनाहरुसम्म बनाउन थालेँ । त्यसबेला मोबाईल फोन थिएन । दिल्लीमा बुवालाई सम्पर्क गर्ने माध्यम ट्रंक कल मात्र थियो । मैले यी कुराहरु दिल्लीमा बुवालाई सुनाउँदा उहाँले मलाई एउटै मात्र आदेश दिनुभयो, “कसैसँग नमाग्नु, कसैबाट भीख नलिनु, विशेषगरि सरकारबाट।” उहाँको यही आदेश मैले त्यस्ता प्रस्ताव लिएर आउनेहरुलाई सुनाएँ । तर, एक दिन स्वास्थ्य मन्त्रालयबाटै तत्कालीन स्वास्थ्य मन्त्री राधाकृष्ण मैनाली स्वयंले घरमा फोन गरी मलाई बोलाउनुभयो ।
मैले बुवालाई सो कुरा भन्दा उहाँले, “उ त मेरो साथी नै हो । ठिकै छ उसलाई भेटे हुन्छ तर केही नलिनु” भन्नुभयो । मलाई थाहा छैन कसरी उहाँहरु साथी हुनुहुन्थ्यो । मन्त्री मैनालीलाई भेट्न नविनका साथ म तीन महिने छोरीलाई लिएर सिंहदरबार पुगे । सरकारबाट साढे दुई लाख उपचार खर्च दिने निर्णय भएको रहेछ । मैले बुवाको कुनै पनि किसिमको कसैबाट अनुदान नलिने ईच्छा मन्त्री सामु राखेँ ।
उहाँले बडो गहनताका साथ, “म गोपालजीको आत्मस्वाभिमानसँग राम्ररी परिचित छु । तर यो कुनै अनुदान नभई राष्ट्रको दायित्व हो”, भनि मलाई सम्झाउनुभयो । त्यसबेला म एकदमै धर्मसंकटमा परेकी थिएँ । त्यस बेलुकी मैले आमालाई फोन गरेँ अनि हामी दुईले बुवालाई थाहा नदिई नेपाल सरकारलाई आफ्नो “दायित्वबोध” पालना गर्न दिने निर्णय गर्यौं । तर त्यो रकमको चेक लिन भवसागर नै तर्नुपर्नेबारे म अनभिज्ञ थिएँ । मलाई गृह मन्त्रालय गई मुख्य सचिवलाई भेट्न निर्देशन दिईएको थियो । मैले त्यसबेला जुन मुख्य सचिवलाई भेटे तिनको नाम अहिले बिर्सेँ ।
तर, ती व्यक्तिको व्यवहार आज सम्झँदा पनि, मैले त्यसबेला तिनलाई तिनकै कार्यालयमा तिनले कहिले नबिर्सनेगरि एक झापड नहानेकोमा आत्मग्लानि हुन्छ । तिनले त मानौं हामी कहींबाट भीख माग्न आएका हौं जस्तै व्यवहार देखाए अनि, “यति सजिलोसँग चेक कहाँ पाइन्छ? यसको लागि त निवेदन लेख्नुपर्छ समय लाग्छ,” जस्ता अनेक अनेक कुरा गर्न थाले । मैले पनि आफ्नो रिस रोक्न सकिनँ, “भैगो तपाईँ नै राख्नुहोस् त्यो रकम” भनी छोरीलाई च्यापेर तिनको कार्यालयबाट निस्किएँ ।
मेरो हातमा छोरी नभएको भए त्यहाँ त्यस दिन एक मुख्य सचिवलाई झापड हानेको काण्ड सार्वजनिक हुनेथियो । बाहिर आई मैले त्यस बखत नविनलाई भनेकी थिएँ, “म यो देशमा अब बस्दै बस्दिनँ ।” मलाई त्यसबेला देशप्रति यति घृणा जागेको थियो । शायद नेपाल सरकारले आफ्नो कर्तब्य निर्वाह गर्ने अवसर पाउन्नथ्यो होला यदि त्यसबेलाका सभामुख बेनी बहादुर कार्कीजी नहुँदो हो त । सभामुख कार्की मेरो ससुराका अनन्य मित्र तथा मेरी नन्द अर्चनाका ससुरा हुनुहुन्थ्यो । गृह मन्त्रालयको कर्तुत नविनले उहाँलाई सुनाएपछि उहाँले हामीलाई आफ्नो कार्य कक्षमा बोलाउनुभयो र त्यहीँ त्यो साढे दुई लाखको चेक पनि आईपुग्यो ।
चेक त आईपुग्यो, तर त्यो चेक लिई राष्ट्र ब्याङ्क पुग्दा, चेक गोपाल योञ्जनको नाममा काटिएको हुनाले, “व्यक्ति नै उपस्थित हुनुपर्छ,” भनि अड्चन त्यहाँका कर्मचारीले तेस्र्याए । त्यसमध्येबाटै अनि कसैले तपाईंले नै चेकको पछाडि गोपाल योञ्जन भनि सही गरिदिन सल्लाह दिए । त्यतिबेलासम्म म गर्मी, रिस र थकानले चूर भई दिक्क भइसकेकी थिएँ । मेरी सानी छोरीलाई घर पनि लैजानु थियो, त्यसैले चेकको पछाडि गोपाल योञ्जन भनी सही गरेँ र नेपाल सरकारको “दायित्व” स्वरुप प्राप्त साढे दुई लाख रकम बोकेर घर फर्किएँ ।
लाख कोशिश गर्दा पनि अन्ततः बुवाको देहावसान भयो । दिल्लीबाट बुवाको पार्थिव शरिर ल्याउने अघिल्लो दिन, फूपु, ठूलो भाइ र म काठमाडौँ फर्कियौँ । तर, त्यही दिन उहाँलाई हामी चढेको जहाजबाट काठमाडौँ ल्याउने हल्ला चलेको रहेछ । यसैले, जब हामी त्रिभुवन विमानस्थलमा ओर्लियौँ– त्यहाँ मिडियाको भीड हामीलाई पर्खिरहेको थियो । त्यस्तो होला भनी मैले अपेक्षा पनि गरेकी थिइनँ । क्यामेरा र फ्यासलाईटहरु हाम्रा अनुहारमा तेर्सिएका थिए । कताकता भीडबाट कस्कसले अनेकन् प्रश्नहरु सोधिरहेका थिए ।
तर, म कुनै प्रश्नको जवाफ दिने मनस्थितिमा थिइन । मलाई त्यसबेला आउट अफ द बडि एक्सपीरियन्स् भइरहेको थियो । मानौं म आफू आफ्नो शरिर बाहिर निस्केर त्यो सब घटना हेरिरहेकी थिएँ । मैले दह्रो पारेर राखेको मेरो मुटुले मलाई सबैको अगाडि आँसु खसाल्न दिएन । त्यसबेला मलाई केवल घर पुगि मैले छोडेर गएकी सानी छोरीलाई अँगाल्नु थियो । मेरो मनमा केवल एक डर थियो, मामले उहाँको छोराको मृत्युको खबरलाई कसरी लिनुहुन्छ होला भनी । तर, शायद ज्योतिषिले, “तपाईंको छोरा छोटो आयु लिएर आएको छ” भनि उहिले नै भनिसकेकाले होला उहाँ यस क्षणको लागि तयार देखिनुहुन्थ्यो । म उहाँको कोठामा पस्दा उहाँ एकदम शान्त भई माला जप्दै आफ्नो खाटमा बसिरहनु भएको थियो । उहाँलाई हेरेर म अझ बलियो बनेँ ।
बरु अनेकन नातेदारहरु, इष्टमित्रहरु जीउ फालेर हाम्रै अगाडि पछारिंदै रोईकराई गर्दा हामीले पो उल्टो उनीहरुलाई सम्झाउनु पर्ने अवस्था आईप¥यो । बुवाको निधन हुँदा हामीले आफूलाई सँधै भीडकै माझमा पाएर होला हामीले बुवा बित्नुहुँदाको आफ्नो पीडालाई न आन्तरिककरण गर्ने मौका पायौं न खुलेर व्यक्त गर्न नै पायौं ।
हामीलाई आफ्नो पीडा दबाउन कर लाग्यो । त्यो पीडासँग जुध्ने मेरो आफ्नो संयत्र स्वरुप मैले बुवा बितेको दुई वर्षसम्म उहाँका गीतहरु सुनिनँ । रेडियो, एफ एम सुनिनँ । मेरी सानी छोरीको रेखदेखमा मैले आफूलाई चुर्लुम्म डुबाएँ । उ नभएकी भए मैले कसरी ती दिनहरु कटाउँथे होला थाहा छैन ।
बुवा बितिसकेपछि, मेरो जीवनको पाश्र्व ध्वनिहरु एकाएक बन्द भए । बुवासँगै मूक बनेका ती ध्वनिहरु र चूपचाप बसेको गोपालय स्टुडियोको सन्नाटामा मैले कोलाहल पाएँ । आफू हुर्कि बढेको घरमा फर्कि जान मलाई गाहे हुन थाल्यो । अन्तिम पटक मैले बुवालाई सचेत रुपमा प्रत्यक्ष भेटेको क्षण आज पनि मेरो आँखामा झल्झल्ति आउँछ । उहाँ काठमाडौँबाट नयाँ दिल्ली उपचारका लागि जान लाग्दा म बाहिरसम्म छोड्न गएकी थिएँ । बिदा गरिसकेपछि पनि किन हो कुन्नि मलाई उहाँलाई एकफेर भेट्न मनलाग्यो अनि टिकट काटेर भित्र छिरेँ । शर्ट, पाइन्ट र ह्याट लगाएका उनी तन्दुरुस्त देखिन्थे ।
अनुहार पनि बिरामीजस्तो देखिएको थिएन । मलाई देखेर छक्क पर्दै, “म ठीक भएर आउँछु” भनी भनेका थिए । मेरो मस्तिष्कमा उनको त्यो छवि छापिएको छ ।
जीवनको उतारचढाव, रमाईलाअप्ठ्यारा क्षणहरुमा म उहाँलाई सम्झिरहेकै हुन्छु । आजकल म अमेरिकामा बस्छु । शायद मेरो मनमा नेपालप्रति उब्जिएको त्यसबेलाको दिक्दारीलाई मेटाउने प्रयास गर्दैछु । मेरो नयाँ देशमा जब म कहिलेकाहीं शपिङ्ग मलमा जान्छु, पुरुषकक्षमा पाइने जाडोमा लाउने फलाटिनको प्लेड शर्टले मलाई बुवा सम्झाउँछ । त्यस्तै शर्टमा (जो त्यसबेला आमाले युरोपबाट ल्याइदिनुहुन्थ्यो) ठाँटिएर बुवा आफ्नो हार्मोनियम अगाडि बस्दा एकजनाले लाजै पचाएर, “गोपाल दाई, तपाईंको शर्ट कति न्यानो र राम्रो – पुरानो छ भने पाऊँ न”, भनी माग्दा बुवाले भित्र गई आफूले पुरानो पहिरी, आफूले लगाएको शर्ट त्यस निर्लज्जलाई दिएको सम्झन्छु ।
बुवा बितिसकेपछि त्यही निर्लज्जले बुवाका कतिवटा गीतहरु आफ्नो भन्दै हिँड्न थाल्यो । बाहिरका मान्छेहरुले दिएका यस्ता घातहरु त कति हामीले वेवास्ता गरिराख्यौं । तर, बुवाको निधन पश्चात र अहिलेसम्म पनि आफ्नै मान्छेले दिएको अनेक घात देख्दा मलाई बुवाको एउटा गीत कानमा गुन्जिन्छः
परायाले मन भाँचे आफन्तले जोड्ने
आफन्त नै बैरी बने कल्लाई गुहार भन्ने
चौतारीमा बसेर रुन पाउँ
मनको पीर आँसुले धुन पाउँ
मेरो विवाहमा मलाई अन्माउने बेलामा बुवा बेपत्ता हुनुभएको थियो । बेलुकीको समय थियो र साईतको समय बित्ला भनी सबैले आत्तिँदै उहाँलाई खोज्न थाले । धेरै बेर पछि उहाँ कालो चस्मा लगाई बाहिर निस्किनुभयो अनि केही नबोलि बिदाइ दिनुभयो । मैले त्यसबेला उहाँको मौनतामा लुकेको भावलाई महसूश गरें । अस्ति भर्खर मेरी कान्छी छोरीसँग चेस खेल्दै गर्दा बुवाले मलाई चेस खेल्न सिकाउनुभएको क्षणहरुलाई सम्झेँ । जब म भेजिटेबल मोमो बनाउँछु, उहाँले चिटिक्क पारेर पोको पारेका मोमोको आकारलाई सम्झन्छु । घरको कुकुरको देब्रे खुट्टामा नङ्गग्रामुनि कीराले टोकी घाउ हुँदा भेटले खुट्टा काट्ने सल्लाह दिएका थिए । तर, बुवाले बिहानबेलुकी घ्यूकुमारी दलिदलि त्यस घाउलाई ठीक पारिदिनुभएको थियो । यस्ता अनेकन यादहरु मसँग छन् जो सबैलाई यहाँ उतार्न सम्भव छैन ।
म कसरी व्यक्त गरुँ त्यस्ता स्नेही पिताको मायाबारे जसले जिन्दगीमा मलाई कहिल्यै ठूलो स्वरले हप्काएनन् । एकैपल्टमात्र उनले मलाई हप्काएका थिए– जब मेरो कान्छो भाइ टुकुटुकु हिंड्ने बालक छँदा मेरो पछिपछि कुद्दा लडेको थियो र उसको निधारमा चोट लागेको थियो । तर त्यसको भोलिपल्टै उहाँले मलाई आफ्नो मोटरसाइकलमा राखेर भोटाहिटीस्थित रत्न पुस्तक भण्डारमा लगेर “जति कमिक किन्न मन लाग्छ किन” भनी फकाउनुभएको थियो । अनि मैले पनि मौकामा चौका हानी एक थाक कमिक छानीछानी किनेकी थिएँ ।
बिहानी बेलुकि सृष्टिकर्ताका सामु हात जोड्दा म बुवाकै एक मूलमन्त्रलाई दोहोराउँछुः
केवल एक शक्ति मलाई दे प्रभु, तेरा सारा वरदानको उपयोग गरुँ
जुनि भर ईश्वर म सुकर्म गरुँ, अनि हाँस्दै एक दिन तेरो काख परुँ ।
बुवाका सिर्जनाहरुले मलाई जीवनलाई सहजै लिन सिकाएको छ । उहाँका कृतिहरु मेरो साथी, सहयात्री, थेरापिस्ट, मार्गदर्शक अनि सत्य र प्रेममा विश्वास दिलाउने आभा बनेका छन् । हो, यस्तै हुनुहुन्थ्यो उहाँ । सौम्य, गहन, शान्त, सम्वेदनशील, सबै प्रतिस्पर्धाबाट अलग, लोभ, इर्ष्याबाट मुक्त, अन्तर्मुखी, आफ्नै साधनामा लीन एक अलग्गै अचम्मकै व्यक्तित्व ।
यस पुस्तक, गोपाल योञ्जनको जीवन र नेपाली सङ्गतिमा उहाँको महत्वपूर्ण भूमिकाको न्यायपूर्ण दस्तावेज बनी प्रस्तुत छ । यस प्रक्रियाका लागि आमाले शुरु गर्नुभएको अध्ययन, अनुसन्धान, संकलन, दस्तावेजीहरण र डिजाइनिङ प्रक्रियामा मेरो भाइ अहिंसा, बुहारी अंश्रीका र म पनि गाँसिन पुग्यौँ एवं लामो समयदेखि संलग्न छौँ । यस यात्राको दौरानमा शायद हामी प्रत्येकले मानसिक, भावनात्मक र शारीरिक रुपमा सबै प्रकारका भावनाहरुको लहर अनुभूति गर्यौं – रोमाञ्च, उत्साह, उल्लास, हताश, थकान, आहत, रिस, आश्चर्य, अध्यात्म, प्राणपोशण, संतुष्टि सबै ।
हामीले जति खोज्दै गयौँ उति बुवाबारे नयाँनयाँ आयामहरु भेटाउँदै गयौं । यस कार्यलाई हामीले हाम्रो धर्म मानी अघि ल्याएका छौं । यस दस्तावेज नेपाली सङ्गीत क्षेत्रलाई माया गर्नेहरुका लागि थप अध्ययन गर्नका लागि श्रोत बनोस् भन्ने हाम्रो चाहना छ । यसबेला मलाई आइस्याक न्युटनले भनेजस्तै पर्सनलि लागिरहेछ – म एक विशाल महासागरको तटमा उभिरहेकिछु, त्यसलाई नियाल्दै, बुझ्न खोज्दै, तर त्यो ज्ञानको अथाह गहिराईबारे म अनभिज्ञ छु ।
प्रतिक्रिया 4