
News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री डा आरजु राणाले भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलाई भियतनामबाट गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गराउन आग्रह गरिन्।
- मन्त्री राणाले बुद्ध जन्मस्थल लुम्बिनीमा भियतनामी पर्यटकको संख्या बढेको उल्लेख गर्दै पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न भनिन्।
- नेपालले सन् २०२७ देखि मानवअधिकार परिषदको सदस्य र २०२९ देखि आर्थिक तथा सामाजिक परिषद सदस्यमा उम्मेदवारी दिएको र भियतनामले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
७ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलाई भियतनामबाट गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गराउन आग्रह गरेकी छन् ।
शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति सुआनसँगको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री राणाले बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षेनी ठूलो संख्यामा भियतनामी आउने गरेको प्रसंग जोड्दै सोझै हवाई उडानको पहल गर्न आग्रह गरेकी हुन् ।
दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा उनको जोड थियो ।
पछिल्ला बर्षहरुमा नेपालमा भियतनामका पर्यटकहरुको संख्या उल्लेख्यरुपमा बढेको बताउँदै मन्त्री राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखिन् ।
साथै उनले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामी उपराष्ट्रपतिलाई आग्रह गरेकी छन् ।
मन्त्री राणाले भियतनामले पछिल्ला वर्षहरूमा हासिल गरेको आर्थिक सफलताका लागि बधाई दिएकी थिइन् । सांस्कृतिक पर्यटन प्रवर्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने उनले बताइन् ।
नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएका उल्लेख गर्दै दक्षिण–दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डाहरूमा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा छलफल भएको छ ।
भेटमा दुवैले जी ७७, नन अलाइन्मेन्ट मुभमेन्ट (नाम) का सदस्य राष्ट्रका रुपमा नेपाल र भियतनाम विकासशील देशहरूको हित रक्षाका लागि एकमत भएर काम गरिरहेको बताएका थिए ।
प्रतिक्रिया 4