
८ भदौ, काठमाडौं । प्रतिनिधि सभा नियमावली अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने अन्तिम दिन हो ।
यो समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाच्न गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
प्रतिनिधि सभा नियमावलीको नियम १७६ मा संसदीय विषयगत सभापतिको निर्वाचन सम्बन्धी व्यवस्था छ । जहाँ सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने व्यवस्था छ ।
संसदीय विषयगत समितिको सभापतिको पद रिक्त हुन आए १५ दिनभित्र निर्वाचन गर्नुपर्ने प्रावधान नियमावलीको नियम १७७ को उपनियम ५ मा छ ।
जहाँ भनिएको छ, ‘…समितिको सभापतिको पद रिक्त हुन आएमा रिक्त भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नु पर्नेछ ।’
यो बाध्यकारी व्यवस्थाको पालना गर्ने हो भने यही भदौ ११ गतेसम्म सभापतिको निर्वाचन भइसक्नुपर्छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचन हुने भन्दा ४८ घण्टा अगाडि सूचना निकाल्नुपर्ने प्रावधान प्रतिनिधि सभा नियमावलीमा छ । यसअनुसार आज नै निर्वाचनको तालिका सार्वजनिक गर्नुपर्ने हुन्छ ।
प्रतिनिधि सभा नियमावलीको नियम १७६ मा भनिएको छ, ‘यस परिच्छेदमा अन्यथा व्यवस्था भएकोमा बाहेक यस परिच्छेद अन्तर्गतका समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुनेछ र त्यसको सूचना सचिवले अठ्चालीस घण्टा अगावै प्रकाशन गर्नेछ ।’
प्रतिक्रिया 4