
काठमाडौं । भरतपुरस्थित आरम्भ कलेजले स्थापनाको छोटो अवधिमै आफूलाई एक अब्बल शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ ।
त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा सञ्चालित यस कलेजले ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (बीआईटीएम) दुवै कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउँदै चितवन जिल्लामा प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
कलेजले आफ्नो तेस्रो वर्षमा प्रवेश गर्दा बीचएएमतर्फका विद्यार्थीहरूले त्रिविको वरीयतामा नेपाल पाँचौं र चौथो हुँदै हाल तेस्रो स्थानसम्म हासिल गरेका छन् । यसै वर्षको बीएचएम पहिलो सेमेस्टरको परीक्षामा कलेजका छात्र सबिन श्रेष्ठले ३.९८ जीपीए प्राप्त गरी चितवन जिल्लामा प्रथम र त्रिवि वरीयतामा तेस्रो स्थान ओगट्न सफल भएका छन् ।
यो परीक्षामा कलेजबाट ३.८ जीपीएभन्दा माथि १३ जना, ३.६ भन्दा माथि १२ जना र ३.२ भन्दा माथि २२ जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।
यसअघि कलेज स्थापनाको पहिलो वर्षमा बीएचएमकी छात्रा ङवाङबम्जन तामाङले ३.९२ जीपीएका साथ नेपालमा पाँचौं र चितवनमा प्रथम स्थान हासिल गरेकी थिइन् । दोस्रो सेमेस्टरमा पनि उनले ३.९४ जीपीए ल्याएर नेपालमा चौथो र चितवनमा दोस्रो स्थान प्राप्त गरेकी थिइन् ।
बीआईटीएमतर्फ पनि कलेजको नतिजा उत्कृष्ट रहेको छ । यस वर्षको पहिलो सेमेस्टरको परीक्षामा छात्रा सेजल खड्की ३.८४ जीपीएका साथ जिल्ला प्रथम भएकी छिन् । यसैगरी ३.६ भन्दा माथि १० जना, ३.४ भन्दा माथि १४ जना र ३.२ भन्दा माथि ११ जनाले राम्रो नतिजा हासिल गरेका छन् ।
कलेजका प्राचार्य सुरज शिवाकोटीले विद्यार्थीहरूको निरन्तरको उत्कृष्ट नतिजाले आफूहरू उत्साहित भएको र अबको लक्ष्य विद्यार्थीलाई त्रिविमा स्वर्णपदक दिलाउने रहेको बताएका छन् ।
बीएचएमको अन्तिम वर्षमा इन्टर्नसिपको व्यवस्था गरिएको र त्यसका लागि अमेरिकाका ४३ वटा होटलसँग सहकार्य गरिरहेको एक नेपाली कम्पनीसँग सम्झौता भइसकेको पनि उनले जानकारी दिए ।
आरम्भ कलेजका बीएचएम विभागीय प्रमुख दीपेन्द्र सुवेदी कलेजले क्रमश: नतिजामा सुधार गर्दै त्रिवि प्रथम हुने दिशामा अगाडि बढिरहेको बताए । उनले अहिलेको नतिजाको क्रम हेर्दा भावी दिनमा सहजै त्रिवि प्रथम हुने सम्भावना रहेको दाबी गरे ।
कलेजका बीआईटीएम विभागीय प्रमुख झविलाल भुसालले कलेज स्थापनाकै वर्ष र यस वर्ष पनि बीआईटीएमका विद्यार्थीले जिल्ला प्रथम भएकाले भावी दिनमा त्रिविकै उच्च स्थानमा नतिजा ल्याउन सक्ने प्रशस्त सम्भावना रहेको बताए । उनले आरम्भ कलेजमा बीआईटीएमतर्फ त्रिविको पाठ्यक्रमका अतिरिक्त आर्टिफिसियल इन्टिलिजेन्स, साइबर सेक्युरिटी, मेसिन लर्निङ लगायत विषयमा पढाइ भइरहेको जानकारी दिए ।
आरम्भ कलेजले त्रिभुवन विश्वविद्यालयबाट बीएचएम र बीआईटीएममा क्रमश: ६६/६६ जना गरी कुल १ सय ३२ विद्यार्थी पढाउने अनुमति पाएको छ । भरतपुर–११ नहरचोकमा अवस्थित यो कलेज २०७९ सालमा चितवन र काठमाडौंका शिक्षाप्रेमीहरूको संयुक्त लगानीमा स्थापना भएको हो । कलेज व्यवस्थापनमा दुई दशकभन्दा बढी अनुभव भएका व्यक्तिहरू संलग्न छन् ।
कलेजले ‘पढ्दै कमाउँदै’ भन्ने नीतिलाई अघि सारेको छ र विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक र अन्तर्राष्ट्रिय स्तरको सिप प्रदान गर्ने लक्ष्य राखेको छ । कलेजका अध्यक्ष तथा काठमाडौं मोडेल कलेजका प्राचार्य सुरेन्द्र सुवेदीले चितवनका विद्यार्थीलाई उच्च शिक्षाका लागि बाहिर जान नपरोस् भन्ने उद्देश्यले कलेज सञ्चालनमा ल्याइएको बताए ।
कलेजमा पूर्ण वातानुकूलित कक्षाकोठा, सेमिनार हल, ल्याब र पुस्तकालय जस्ता सुविधा छन् । साथै, फुटसल, बास्केटबल र स्विमिङ पुल निर्माणको योजना रहेको पनि कलेजले जनाएको छ ।
प्रतिक्रिया 4