+
+
Shares

सामाजिक सञ्जाल र लागुऔषधले बढायो मधेशमा हत्या शृङ्खला

अधिकांश घटना सामाजिक सञ्जाल तथा फोनमार्फत बनेको सम्बन्ध र लागुऔषध जोडिएको कारणले हुने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ भदौ ८ गते २०:२५
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदी (बायाँ) रौतहटको गौरमा सुटकेसमा मृत भेटिएको रुवीकुमारी साहको शव (दायाँ)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८१/०८२ मा ९९ जनाको हत्या भएको छ, जसमा ५३ पुरुष र ३६ महिला छन्।
  • मधेश प्रदेशमा हत्याका घटनामा सामाजिक सञ्जाल र लागुऔषधको प्रभाव बढ्दै गएको प्रहरी अधिकारीहरूले बताएका छन्।
  • मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले हत्याका घटनामा बदलाको भावना र आवेशको भूमिका रहेको बताएका छन्।

८ भदौ, जनकपुरधाम । रौतहटको गौरमा शनिबार राति साढे १० बजे सुटकेसभित्र एक महिलाको शव भेटियो । गौर नगरपालिका-९ मुडवालगेटस्थित सडकमा भेटिएको सुटकेशमा सल र डोरीले घाँटी बेरिएको अवस्थामा महिलाको शव रहेको थियो ।

रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार मृतक रौटहटकै माधवनारायण नगरपालिका-२ माधवपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साह हुन् । भारतको मुजफरपुर घर भएकी रुवी माधवपट्टीमा एक महिनादेखि डेरा गरी बस्दै आएकी थिइन् ।

‘प्रारम्भिक अनुसन्धानमा उनी रुवीकुमारी साह रहेको खुलेको छ । मृतकको घर भारतको मुजफ्फरपुर हो । घटनाको प्रकृतिले उनको हत्या भएको हाम्रो आशंका छ । श्रीमान् पनि सम्पर्कमा आइसकेका छन्,’ डीएसपी कार्कीले भने ।

उनका अनुसार मृतक रुवीका चार वर्षीय एक छोरा छन् । श्रीमान्‌कै सहमतिमा उनी छोरालाई पढाउन महादेवपट्टीमा डेरा लिएर बस्न थालेकी थिइन् ।

४ भदौमा मात्र गौर नगरपालिका-५ गौरीशंकर कलेज अगाडि एक युवकको छुरा प्रहार गरी हत्या भएको थियो । रौतहटकै यमुनामाई गाउँपालिकाका २१ वर्षीय सदाबुद्दिन मियाँको छुरा प्रहार गरी हत्या भएको हो ।

रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार दिउँसो २:४० बजे मियाँमाथि छुरा प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा उपचारको लागि प्रादेशिक अस्पताल गौर लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनास्थलबाट छुरा प्रहार गरेको आरोपमा गौर नगरपालिका-३ का युवक मनोज रामलाई प्रहरीले पक्राउ गरेको थियो । घटनाको प्रारम्भिक अनुसन्धानले उनीहरूबीच गाँजा सेवनको क्रममा विवाद भएको थियो ।

‘गाँजा सेवन गर्दा दुवैजनाबीच विवाद भएको थियो । त्यस क्रममा छुरा प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

गत २९ साउन राति साढे ८ बजेतिर सर्लाहीको हरिपूर्वा नगरपालिका–६ का शिक्षक रामपुकार यादवको आफ्नै घर अगाडि टाउकोमा गोली प्रहार भयो । मोटरसाइकलमा हतियारसहित आएका दुईजनामध्ये पछाडि बस्नेले उनको टाउकोमा गोली प्रहार गरेको थियो । उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार गोली प्रहार गरेर भाग्ने क्रममा बी.आर.३०ए.जी. २३५४ नम्बरको मोटरसाइकल दुर्घटना भयो । चालक हरिपुर्वा नगरपालिका-५ का २६ वर्षीय धर्मेन्द्र भन्ने धीरेन्द्र राय घाइते अवस्थामा पक्राउ परे ।

उनलाई प्रारम्भिक उपचार मोडेल अस्पताल लालबन्दी अनि थप उपचार प्रादेशिक अस्पताल जनकपुरमा गरियो । डिस्चार्ज भएपछि दिएको बयानअनुसार रामपुकारका छोरा सुमितसँग केहीअघि धीरेन्द्रको विवाद भएको थियो ।

एक प्रहरी अधिकारीका अनुसार धीरेन्द्रले सुमितलाई नै हत्या गर्ने योजना बनाएर त्यहाँ पुगेका थिए । तर रामपुकार अगाडि आएपछि उनैको हत्या गरे ।

त्यसअघि धीरेन्द्र १० असोज २०८१ राति आफ्नै श्रीमती चित्रलेखाकुमारी यादवको गोली प्रहार गरी हत्या र बुवा रामदिनेश यादवलाई घाइते बनाएर फरार थिए । पछिल्लो समय उनी मलंगवा नगरपालिका–९ स्थित सुशील साहको घरमा बस्दै आएको खुलेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका-११ आमचौकका ८५ वर्षीय फनिलाल यादवको १४ साउन बिहान सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या भयो । प्रहरीले अनुसन्धान गर्दै जाँदा धनगढीमाई नगरपालिका-२ भवानीपुर टोलका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्तकुमार मण्डललाई पक्राउ गर्यो ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका महेश र प्रशान्त लागुऔषध सेवनकर्ता हुन् ।

सोही राति अचानक चोरी गर्ने योजना बनाएर उनीहरू फनिलालको घरमा प्रवेश गरेका थिए । ढोका खुला देखेर भित्र पसेपछि यादवले हो-हल्ला गरे । खुकुरी बोकेका महेशले फनिलालको टाउकोमा प्रहार गरी फरार भएको अनुसन्धानबाट खुल्यो ।

गत ४ साउन बिहान जनकपुरधाम उपमहानगरपालिका-२३ को होटल एसपी एन्ड गेस्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर २८ वर्षीय शनि भनिने विमलेश यादवको हत्या भयो ।

महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्साका विमलेशको हत्या आरोपमा महोत्तरी बलवा नगरपालिका–७ बनौटाकी २४ वर्षीया जुली झालाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।

प्रहरी अनुसन्धानका क्रममा उनीहरूबीच यौन सम्बन्ध रहँदै आएको खुलेको थियो । जुलीले आफूलाई ब्ल्याकमेल गरेर पटकपटक यौन शोषण गरेका विमलेशमाथि छुरा प्रहार गरेको बयान दिएकी थिइन् ।

यी पछिल्लो एक महिनायता मधेश प्रदेशमा भएका शृङ्खलाबद्ध हत्याका घटना हुन् । साउनमा मात्र मधेश प्रदेशमा ९ जनाको हत्या भएको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा मधेश प्रदेशमा ९९ जनाको हत्या भएको छ । जसमा ५३ जना पुरुष र ३६ जना महिला छन् । यस्तै ५ जना बालक र ६ बालिका रहेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

सबभन्दा बढी धनुषामा १७ जना, सर्लाहीमा १४ जना, महोत्तरीमा १३ जना, सप्तरी र बारामा १२-१२ जना, रौतहटमा ११ जना, सिरहा र पर्सामा १०-१० जनाको हत्या भएको तथ्यांक छ । हत्या हुनेमा १८ देखि ४५ वर्ष उमेरसम्मका आधाभन्दा बढी ६३ जना छन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मधेशमा १२७ जना र आ.व. २०७९/०८० मा १०९ जनाको हत्या भएको थियो ।

बदलिँदै हत्या ट्रेन्ड

तुलनात्मक रूपमा पछिल्लो आर्थिक वर्षमा हत्याका घटनामा केही न्यूनीकरण देखिन्छ । तर हत्याको ट्रेन्डमा भने परिवर्तन आएको छ । अधिकांश घटना सामाजिक सञ्जाल तथा फोनमार्फत बनेको सम्बन्ध र लागुऔषध जोडिएको कारणले हुने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

‘पहिले हत्या प्रायः जग्गा वा घरायसी विवादका क्रममा झगडा हुँदा हुन्थ्यो । तर अहिले लागुऔषध सेवन गर्ने र आकस्मिक विवादमा नशाको आवेशमा हत्या गर्ने प्रवृत्ति बढेको छ,’ मधेशका एक अनुसन्धान अधिकृत भन्छन्, ‘अर्को कारण सामाजिक सञ्जाल र फोनमार्फत बनेका सम्बन्ध हुन् । नैतिक वा अनैतिक सम्बन्ध बनेपछि विवाद उत्पन्न हुने, रिसको आवेशमा हत्या गर्ने वा आफन्तले अरूसँग सम्बन्ध राखेको थाहा पाएर रिसमा हत्या गर्ने प्रवृत्ति देखिन्छ ।’

मधेश प्रदेशका प्रहरी प्रमुख डीआइजी उमाप्रसाद चतुर्वेदी पनि पछिल्ला धेरै हत्याका घटना बदला लिने भावनामा आधारित भएको बताउँछन् । उनका अनुसार मुख्य कारण सामाजिक सञ्जाल र लागुऔषध नै हुन् ।

‘पहिला पैसा दिएर मार्न लगाइन्थ्यो, योजनाबद्ध तरिकाले । अहिले आवेशमा आएर बदलाको भावनामा बढी भएको देखिन्छ । आफ्नो मान्छेसँग आर्काले अनैतिक सम्बन्ध बनायो भनेर मार्ने, आफूले बोलाएको ठाउँमा यौन सम्बन्ध राख्न नआएको भनेर मारिदिने गरेको देखिन्छ । बढी घटनामा तत्कालको आवेश र बदलाको भावना देखिन्छ,’ उनले थपे, ‘यसको एउटा कारण सामाजिक सञ्जाल पनि हो । त्यसमा नेगेटिभ कन्टेन्ट बढी भयो । समाजमा पनि नेगेटिभ गतिविधि बढी भए । त्यसैले मान्छेको मानसिकता नै निगेटिभ हुन थाल्यो । अर्को कारण, लागुऔषध पनि हो ।’

मधेश प्रदेशका डीआइजीसमेत रहिसकेका पूर्वएआईजी लालमणि आचार्य मधेशमा विगतदेखि अहिलेसम्मका घटना हेर्दा समान्य तथा सामाजिक सञ्जालको कारणले जघन्य प्रकृतिका अपराध हुने गरेको बताउँछन् ।

‘साना-साना कारणले जघन्य प्रकृतिका अपराध हुने गरेको छ । बढी घटना सामाजिक सञ्जालको दुरूपयोगबाट भएको देखिन्छ,’ उनी भन्छन्, ‘अन्य विविध कारण पनि छन् ।’

प्रहरीको भूमिकामाथि बढ्दो असन्तुष्टि

एक त भारतसँगको खुला सीमा, त्यसमाथि बढ्दो अपराधले मधेशमा प्रहरीको भूमिकामाथि जहिल्यै प्रश्न उठ्ने गरेको छ । तस्करीको लाइन मिलाउने, अपराधीको संरक्षण गर्ने, पीडितले सहज न्याय नपाउने, कमाउ अड्डाहरू खोजी हिँड्ने, राजनीतिक पहुँच भएका नेताहरूको अघिपछि लाग्ने र कमाउने उद्देश्यले मधेश आउने आरोप लाग्ने गरेको छ ।

मधेशमा प्रहरीको कामप्रति नागरिक खासै सन्तुष्ट देखिँदैनन् । तर स्वयं सरकार पनि मधेशमा प्रहरीको कामदेखि सन्तुष्ट छैन भन्ने कुरा गत ३० साउनमा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पारेका थिए । उनले मधेशमा चाहिने राजश्व उठ्न नसकेको, लागुऔषध ओसारपोसार बढ्दै गएको लगायत असन्तुष्टि व्यक्त गरेका थिए ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी चतुर्वेदी अपराध न्यूनीकरणको लागि गत आर्थिक वर्षमा प्रहरीले १० हजार बढी जनचेतनामुलक कार्यक्रम गरेको बताउँछन् ।

‘४ हजार जनचेतनामुलक कार्यक्रम गर्ने मधेश प्रदेश प्रहरीको लक्ष्य थियो । तर हामीले जनस्तरमा पुगेर १० हजारभन्दा बढी जनचेतना कार्यक्रम सञ्चालन गर्‍यौं,’ उनले भने ।

बढ्दो जघन्य अपराध आमनागरिक सामाज र सरोकारवालाको भूमिकाले न्यूनीकरण गर्न सकिने सुरक्षा क्षेत्रका जानकार पूर्वएआईजी लालमणि आचार्यको भनाइ छ ।

‘सुरक्षाको लागि प्रहरीले विशेष योगदान पुर्याउनै पर्छ । यसका साथै विभिन्न संघसंस्था, समाज, आमनागरिक र सरोकारवाला छन् । बढ्दो अपराध न्यूनीकरणको लागि के गर्न सकिन्छ, यसका कारण र कारक तत्वहरू के-के हुन्, पत्ता लगाएर, योजना बनाएर तल्लो स्तरसम्म सचेतना कार्यक्रम लैजान सकियो भने अवश्य नियन्त्रण गर्न सकिन्छ,’ उनको सुझाव छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?