
News Summary
Generated by OK AI. Editorially reviewed.- गत आर्थिक वर्ष २०८१/८२ मा सेयर धितो कर्जा ५० अर्ब रुपैयाँले बढेर १ खर्ब ४० अर्ब ७० करोड पुगेको छ।
- १ करोडमाथिको सेयर कर्जा ७६.९ प्रतिशतले बढेको छ र असार मसान्तसम्म ९८ अर्ब ९२ करोड पुगेको छ।
- बैंकहरूले सेयर मूल्यको ७० प्रतिशतसम्म मात्रै कर्जा दिन पाउने र कर्जा अवधि एक वर्षभन्दा बढी हुँदैन।
९ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सेयर धितो (मार्जिन प्रकृतिको) कर्जा ५० अर्ब रुपैयाँले बढेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ सम्म ९० अर्ब ९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएकोमा गत आर्थिक वर्षसम्म बढेर १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुगेको छ । एक वर्षमै सेयर कर्जा ५६ प्रतिशतले बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय स्थिति रिपोर्टले जनाएको छ ।
यस्तो कर्जा ठूला ऋणीमा उच्च दरले बढेको छ । १ करोडमाथिको सेयर कर्जा ७६.९ प्रतिशतले बढेको छ । असार मसान्तसम्म १ करोडमाथिको कर्जा ९८ अर्ब ९२ करोड प्रवाह भएको छ ।
५० लाखदेखि १ करोडसम्मको कर्जा २९ प्रतिशतले बढेको छ । यो सीमाको कर्जा असार मसान्तसम्म १६ अर्ब २ करोड पुगेको छ । २५ देखि ५० लाखसम्मको कर्जा २१.८ प्रतिशतले बढेर १७ अर्ब ५६ करोड पुगेको छ भने २५ लाखमुनिको कर्जा ११.८ प्रतिशतले बढेर ८ अर्ब १७ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई २५ करोड रुपैयाँसम्म सेयर धितो कर्जा प्रवाह गर्न पाउँछन् । संस्थाका हकमा यस्तो सीमा छैन । समग्रमा एउटा बैंकले सेयर धितो कर्जामा कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्रै दिन पाउने व्यवस्था छ ।
जुनसुकै कम्पनीका सेयर धितोमा यस्तो कर्जा दिइँदैन/पाइँदैन । नेगेटिभ नेटवर्थ (१ सयभन्दा कम) भएका, नेपाल स्टक एस्क्चेन्जमा सूचीकरण नभएका, आर्थिक वर्ष पूरा भएको एक वर्षसम्म लेखा परीक्षण नगरेका, पछिल्लो तीन वर्षसम्म नोक्सानीमा रहेका, व्यवसायिक सञ्चालनमा आएको एक वर्ष पूरा नभएका, तीन वर्षदेखि साधारणसभा नगरेका कम्पनीका सेयर धितोमा बैंकले यस्तो मार्जिन कर्जा दिन नपाउने व्यवस्था छ । यही आधारमा मार्जिन कर्जा पाउने कम्पनीको सूची नेप्सेले बर्सेनि सार्वजनिक गर्दै आएको छ ।
अर्कातर्फ, कर्जा अवधि एक वर्षभन्दा बढी हुँदैन । सेयर धितोमा मार्जिन प्रकृतिको कर्जा उपभोग गरिरहेका ऋणी आफूले लिएको कर्जाको सम्पूर्ण बक्यौता (ब्याज) भुक्तानी गरी कर्जा नियमित रहेको अवस्थामा मात्रै अवधि सकिएको एक वर्षपछि कर्जा नवीकरण गर्न सकिने व्यवस्था छ ।
कर्जा रकम दिँदा सेयर मूल्यांकन र पाउने रकममा सीमा तोकिएको छ । धितो राखिने सेयरको पछिल्लो १ सय ८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, त्यही रकमको ७० प्रतिशत मात्रै बैंकहरूले सेयर धितोमा कर्जा दिने हुन्छ ।
बैंक तथा वित्तीय संस्थाको १ प्रतिशतभन्दा बढी संस्थापक सेयर धारण गरेका संस्थापक समूहका सेयरधनीले आफूले धारण गरेको संस्थापक सेयरमध्ये ५० प्रतिशतभन्दा बढी सेयर धितो राखी कर्जा लिन पाउँदैनन् ।
त्यतिमात्र नभई धितो राखिएको सेयरको मूल्य तल झरे बैंकहरूले धितो थप्न वा कर्जा चुक्ताका लागि मार्जिन कल गर्न सक्छन् ।
प्रतिक्रिया 4