
९ भदौ, बार्सिलोना। चर्चित राष्ट्रिय गायिका शान्ती श्री परियारले स्वीडेनका नेपालीलाई तीजको संगीतमा झुमाइन्। हरितालिका तीजको अवसरमा स्टकहोम र गोथेनबर्गमा आयोजित भव्य कार्यक्रममा उनले आफ्ना दर्जनभन्दा बढी चर्चित गीत प्रस्तुत गर्दै उपस्थित नेपाली समुदायलाई नचाइन् ।
एनआरएनए स्वीडेनको आयोजनामा स्टकहोममा शुक्रबार र गोथेनबर्गमा शनिबार सम्पन्न कार्यक्रमलाई तीजको उल्लासमय वातावरणले सजाएको थियो। कार्यक्रमलाई अझ आकर्षक बनाउन ‘तीज क्विन कन्टेस्ट २०२५’ आयोजना गरिएको थियो। प्रतियोगितामा स्टकहोमबाट १५ र गोथेनबर्गबाट ११ जना महिलाले सहभागिता जनाए।
कार्यक्रममा स्थानीय कलाकारहरूले पनि मनमोहक प्रस्तुति दिए।स्टकहोममा सलिना पोखरेल, आद्वी थपलिया, रेजिना न्यौपाने, करिना अधिकारी, सदिक्षा पौडेल, प्रबिना खड्का, बिहानी रावल, सुधा कडेल, प्रतिभा राउत र आरुष थापालियाले प्रस्तुति दिए।
यस्तै, गोथेनबर्गमा तोसिका पराजुली, बिपना आचार्य, कृस्टिना लामा, साबित्रा अर्याल र वर्षा गौतमले दर्शकलाई मन्त्रमुग्ध बनाए।
ओपन फ्लोर डान्सले महिलालाई झन् उत्साहित बनायो भने बालबालिकाका लागि अध्यक्ष राजेन्द्र तामाङले आयोजना गरेको ‘र्याप गेम’ र आकर्षक पुरस्कारले कार्यक्रमलाई पारिवारिक र रमाइलो बनाएको थियो।
कार्यक्रमको मुख्य आकर्षण गायिका शान्तिश्री परियारको लाईभ प्रस्तुति थियो। उनले एक दर्जनभन्दा बढी लोकप्रिय गीत गाएर माहोललाई झन् रौनक बनाइन्। उनका गीतमा महिलादेखि पुरुषसम्म सबै सहभागी भई नाचे।
समापनमा स्टकहोममा अध्यक्ष राजेन्द्र तामाङ र गोथेनबर्गमा उपाध्यक्ष डा. दिपराज थापाले गायिका शान्ति श्री परियारलाई मायाको चिनो प्रदान गरे। सहभागीलाई विशेष तीजको ‘दर’ सहितका परिकारको समेत व्यवस्था गरिएको थियो।
स्कटहोमको कार्यक्रमको सञ्चालन गैरआवासीय नेपाली संघकी महासचिव रीना ढकाल र गोथेनबर्गको कार्यक्रमको सञ्चालन तारा न्यौपाने र आशा लामाले गरेका थिए । दुवै कार्यक्रममा २०० भन्दा बढी नेपालीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4