
News Summary
Generated by OK AI. Editorially reviewed.- तीज नजिकिएसँगै नेपाली कलाकारले विदेशमा सांगीतिक प्रस्तुति दिने ब्यस्तता बढेको छ।
- गायिका रचना रिमालले युरोपका ११ देशमा तीन साता लामो सांगीतिक भ्रमण गर्ने कार्यक्रम छ।
- गायिका सुनिता दुलालले २९ अगस्टमा साउदी अरबमा गैरआवासीय नेपाली संघको तीज धमाकामा प्रस्तुति दिनेछिन्।
काठमाडौं । तीज नजिकिएसँगै कलाकारलाई विदेशमा सांगीतिक प्रस्तुति दिन चटारो सुरु भएको छ । नेपाली महिलाको ठूलो पर्व तीज संघारमा आएसँगै कलाकारको ब्यस्तता पनि बढ्दो छ ।
विदेशस्थित नेपाली समुदायले धमाधम सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिरहेका छन् । तीज मात्र होइन, लगातार दशैंतिहार जस्ता चाडपर्व पनि नजिक आउन लागेकाले विशेषगरि लोकसंगीत क्षेत्रका कलाकारको ब्यस्तता सुरु भएको हो ।
गायिका रचना रिमाल ३ साता लामो युरोपको सांगीतिक भ्रमणमा निस्किएकी छन् । उनी बुधबार राती त्यसतर्फ प्रस्थान गरिन् । उनले युरोपमा ११ देशमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ ।
अस्वस्थ भएपछि क्यानडामा आयोजना गरिएको हिमालयन मेलामा जान असमर्थ भएका गायक तथा संगीतकार खेम सेन्चुरी र गायिका जानुका तामाङ इजरालको तेल अभिभ प्रस्थान गरेका छन् ।
प्रवासी सिर्जनशिल महिला समूहले १५ अगस्टमा त्यहाँ ‘वृहत सांस्कृतिक कार्यक्रम २०८२ तीज धमाका’ आयोजना गरेको छ ।
‘हामी तीज मनाउन विशेष उत्साहका साथ इजरायल आइपुगेका छौं र सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई यो सांस्कृतिक मेलामा सहभागी भई तीजको रमाइलो, नाचगान र सद्भाव साटासाट गर्न हार्दिक निमन्त्रणा गर्दछौं । आउनुहोस्, हामी सबै मिलेर परदेशमा पनि देशको माटोको सुगन्ध बोकेको तीज पर्वलाई उत्सवमय बनाऔं’ सेन्चुरीले लेखेका छन् ।
गायिका शान्तिश्री परियार अहिले युुरोपको सांगीतिक टूरमा छिन् । केही दिनअघि नेपाली बहुल माल्टामा प्रस्तुति दिएकी शान्तिश्री बुधबार मात्र पोल्याण्ड पुगेकी छन् ।
मगर संघ पोल्याण्डले अगस्ट १५ मा आयोजना गरेको ‘शान्तिश्री परियार सांगीतिक साँझ’मा उनले प्रस्तुति दिनेछिन् । सँगै उनले तीजका गीत पनि सार्वजनिक गरिरहेकी छन् ।
गायिका सुनिता दुलालले २९ अगस्टमा साउदी अरबमा गैरआवासीय नेपाली संघले आयोजना गरेको ‘तीज धमाका २०२५’मा प्रस्तुति दिनेछिन् ।
गायक प्रमोद र उनको ब्याण्ड परम्पराले ५ वटा अस्ट्रेलियाली सहरमा प्रस्तुति दिने कार्यक्रम छ । २२ अगस्टदेखि १४ सेप्टेम्बरसम्म सिड्नी, क्यानबेरा, ब्रिसबेन, मेलबर्न र न्यूक्यासलमा ब्यान्ड गुञ्जिने तयारी छ ।
चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटीले १६, १७ र २३ अगस्टमा आयोजना हुने तीजका कार्यक्रममा प्रस्तुति दिनेछन् ।
पशुपति शर्मा र खुमन अधिकारी तीजमा निकै ब्यस्त हुने कलाकारमध्ये पर्छन् । सांगीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारी अमेरिकाको सांगीतिक टूरमा ब्यस्त छन् ।
गायिका समीक्षा अधिकारी र एलिना चौहान पनि तीजमा निकै ब्यस्त हुने कलाकारमध्ये पर्छन् । अहिलेसम्म उनीहरूले तीजका कार्यक्रमबारे सार्वजनिक गरिसकेका छैन्न ।
प्रतिक्रिया 4