
News Summary
Generated by OK AI. Editorially reviewed.- कैलाली कारागारमा कैदीबन्दीबीचको झगडाले हिंसात्मक रूप लिएपछि प्रहरीले गोली चलाउन आदेश मागेको तर प्रमुख जिल्ला अधिकारीले नदिएको खुलेको छ।
- शुक्रबार राति भएको आक्रमणमा भरत चौधरीको मृत्यु भएको र ४८ जना घाइते भएका थिए, जसमा २७ जना डिस्चार्ज भएका छन्।
- गृह प्रशासनले कारागार सुरक्षामा लापरबाही देखिएपछि कैलालीका प्रमुख जिल्ला अधिकारीलाई तानेर दाङका कृष्णप्रसाद लम्साललाई पठाएको छ।
२९ साउन, धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीचको मनमुटावले हिंसात्मक रूप लिएपछि प्रहरीले गोली चलाउन आदेश मागेको तर सीडीओले नदिएको खुलेको छ ।
शुक्रबार राति १२:५५ मा ब्लक ‘ए’ का कैदीबन्दीले भित्ता फुटाएर ब्लक ‘बी’ का कैदीबन्दीमाथि आक्रमण गरेका थिए ।
आक्रमणमा धनगढी उपमहानगरपालिका-४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४८ जना कैदीबन्दी घाइते भएका थिए ।
तत्कालै कारागारको सुरक्षा प्रमुखको जिम्मेवारी पाएका प्रहरी वरिष्ठ प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बालनर सिंह राणालाई रिपोर्टिङ गरेका थिए ।
रिपोर्टिङका क्रममा एसपी राणाले कैदीबन्दीबीचको विवादले हिंसात्मक रूप लिन लागेको र गोली चलाउनुपर्ने अवस्था आएको बताएका थिए ।
सुरक्षा स्रोतका अनुसार एसपी राणाले तत्काल कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई टेलिफोन सम्पर्क गरी कारागारको स्थिति बिग्रिएको भन्दै गोली चलाउने आदेश मागेका थिए । तर प्रजिअ हमालले आदेश दिन अस्वीकार गरेपछि प्रहरी रोकिएको थियो ।
‘कैदीबन्दीबीच बन्दीगृहमा कुटाकुट भइरहेको थियो । आक्रमणमा परेकाहरूले गुहार मागिरहेको आवाज बाहिर प्रष्ट सुनिन्थ्यो । स्थिति निकै बिग्रिने देखिएपछि हवाई फायरको आदेश मागिएको थियो,’ उच्च सुरक्षा स्रोतले भन्यो, ‘तर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालबाट आदेश नपाउँदा प्रहरीले रोकिनुपर्ने अवस्था आयो । त्यसपछि कारागारको बन्दीगृह रणभूमिमा परिणत भयो ।’
प्रहरी उपरीक्षक राणाले एकपटक मात्र होइन, प्रमुख जिल्ला अधिकारीसँग राति नै दुईपटक गोली चलाउने आदेश मागेका थिए ।
‘कारागारभित्रको बन्दीगृहमा गोली चलाउने आदेश मागिएको थिएन तर कम्तीमा हवाई फायर गर्दा स्थिति साम्य पार्न सकिने थियो,’ सुरक्षा स्रोतले दाबी गरेको छ, ‘प्रमुख जिल्ला अधिकारीबाट चुस्त रूपमा सुरक्षा कमान्ड नहुँदा सबै सुरक्षा निकाय कारागारको घटनामा चुकेका हुन् ।’
प्रहरीलाई हवाई फायर गर्न आदेश नदिएको, कारागारमा कैदीबन्दीहरूबीच शृङ्खलाबद्ध घटना हुने बेलासमेत गम्भीर रूपमा नलिएको, कैदीबन्दीको स्थानान्तरणमा पारदर्शिता नगरेको जस्ता गम्भीर आरोप लागेपछि गृह प्रशासनले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई तानेको छ ।
गृहमन्त्रालयले गरेको छानबिनका क्रममा प्रमुख जिल्ला अधिकारीबाट कारागार सुरक्षामा गम्भीर लापरबाही भएको तथ्य फेला परेपछि उनी तानिएका हुन् । उनको ठाउँमा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई पठाइएको छ ।
गोली चलाउन आदेश मागेको र प्रमुख जिल्ला अधिकारीले नदिएको सन्दर्भमा कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणाले भने प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
डिस्चार्ज भएका २७ कैदीबन्दी अस्पतालमै, तीनको सरुवा
कैलाली कारागारमा गत शुक्रबार भएको घटनामा घाइते भएका ४८ कैदीबन्दीमध्ये २७ जना डिस्चार्ज भएका छन् । बुधबार साँझ सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्पतालले २७ जनालाई डिस्चार्ज गरे पनि तत्काल भने उनीहरूलाई अस्पतालमै राखिएको छ ।
तर, तीनजना कैदीबन्दीको भने कञ्चनपुर कारागारमा स्थानान्तरण गरिएको छ । कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले कैदीबन्दी डिस्चार्ज भए पनि तत्काललाई अस्पतालमै राखिएको बताए ।
घाइते कैदीबन्दीलाई तत्काल कैलाली कारागारमै फर्काउँदा पुनः झडपको अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले उनीहरूलाई तत्काल नलगिएको प्रहरीले जनाएको छ ।
घाइते भएका अधिकांश कैदीबन्दीले कैलाली कारागार फर्किने अवस्था नभएको भन्दै आफन्तहरूले अन्यत्र स्थानान्तरण गरिदिन माग गरिरहेका छन् । स्थानान्तरणको सम्बन्धमा छलफल भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिक्रिया 4