
२४ साउन, धनगढी । मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले कैलाली कारागारमा शुक्रबार राति भएको घटनामा गम्भीर लापरबाही भएको औंल्याएको छ ।
मानव अधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको जनाएको छ ।
मानव अधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले घटनापछि शनिबार दिउँसो कारागारको निरीक्षण गरिएको बताए ।
निरीक्षणका क्रममा कारागार प्रशासनका प्रमुख विदामा भएको कारण समन्वयको अभाव, आन्तरिक सुरक्षामा लापरवाही,
क्षमता भन्दा बढि कैदीबन्दी र कैदीबन्दीको स्थान्तरण पारदर्शी हिसाबले नभएको लगायतका कारणले घटना हुन पुगेको देखिएको बताए ।
भट्टले कारागारभित्रका अन्य कैदीबन्दीको अवस्था भने समान्य रहेको बताए ।
उनले स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न र उनीहरूका आफन्तलाई सहज रूपमा भेटने वातावरण बनाउन समेत निर्देशन दिइएको बताए ।
उनकाअनुसार यसअघि कारवाहीमा असुरक्षित रहेको भन्दै कैदीबन्दीहरूले सामूहिक निवेदन दिएका आधारमा समेत प्रशासन सचेत गराइएको बताए ।
कैलाली कारागारमा गएराति ब्लक ए मा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ब्लक बी मा रहेका कैदीबन्दीमाथि आक्रमण गरेका थिए ।
सो क्रममा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको छ भने घाइते हुनेको संख्या ४९ पुगेको छ ।
घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनापछि कैदीबन्दीले कारागार नियन्त्रणमा लिएर सुरक्षाकर्मीलाई समेत प्रवेश गर्न दिएका थिएनन् भने कैदीबन्दीको अवरोधका कारण बिहान मानव अधिकार आयोगको टोली समेत प्रवेश गर्न सकेको थिएन ।
तर अहिले भने स्थिति समान्य भएको मानव अधिकार आयोगले जनाएको छ ।
घटनाको छानवीनका लागि जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
प्रतिक्रिया 4