
३ भदौ, धनगढी । कैलाली कारागारमा गत शुक्रबार भएको हिंसात्मक घटनामा परेर घाइते भएका ३९ जना कैदीबन्दी अस्पतालबाट डिस्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालले उपचारपछि ३९ जना कैदीबन्दीलाई डिस्चार्ज गरेपनि उनीहरू अस्पतालमै छन् ।
मंगलबार कैलालीका पत्रकारसँग परिचयात्मक कार्यक्रम गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले उपचारपछि डिस्चार्ज भएका कैदीबन्दीलाई तत्काललाई अस्पातलमै राखिएको बताए । डिस्चार्ज भएकामध्ये पाँच जनाले दिएको निवेदनका आधारमा चारलाई कञ्चनपुर कारागार र एक जनालाई पश्चिम नवलपरासीको कारागारमा स्थानान्तरण गरिएको प्रजिअ लम्सालले बताए ।
अस्पताल रहेकाहरूमध्ये कतिपयले अन्यत्र स्थानान्तरणको इच्छा देखाएकाले निवेदन मागिएको छ भने केहीले कैलाली कारागारमै फर्किन चाहेका छन् । सेती अहिले प्रादेशिक अस्पताल अन्तर्गत रहेको कोरोना अस्पतालमा सुरक्षा दिएर राखिएका कैदीबन्दीको व्यवस्थापनको गृहकार्य भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
गम्भीर अवस्थाका तीन जनाको काठमाडौँमा उपचार भइरहेकोमा उनीहरुको स्वास्थ्यमा समेत क्रमिक सुधार भइरहेको प्रजिअ लम्सालले बताए ।
सम्बन्धित कैदीबन्दी, उनीहरुका आफन्त र सुरक्षाका आधारमा चार जनालाई कञ्चनपुर र एक जनालाई पश्चिम नवलपरासी पठाइएको बताउँदै प्रमुख जिल्ला अधिकारी हमालले थप कैदीबन्दीको व्यवस्थापनको काम भइरहेको बताए ।
हिंसात्मक घटनामा मारिएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको हकमा आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धान भइरहेको उनको भनाइ थियो । कैलाली कारागारमा भएको हिंसात्मक घटनामा गम्भीर लापरवाही देखिएको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई तानेर गृह मन्त्रालयले लम्साललाई कैलाली पठाएको हो ।
गत २३ साउनको राति कैलाली कारागारको ब्लक ए का कैदीबन्दीको समूहले भित्ता फुटाएर ब्लक बी का कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । आक्रमणका क्रममा उक्त ब्लकमा रहेका एक जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए ।
प्रतिक्रिया 4