
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जिम्मेवारी लिएको नेताले त्यसलाई पूरा गर्नुपर्ने बताए।
- अध्यक्ष नेपालले पार्टीलाई गतिशील बनाउन जिम्मेवारी पूरा नभए कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरे।
- उनले कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा रहेको र चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्ने बताए।
९ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जिम्मेवारी लिएपछि पार्टी नेताले त्यसलाई पूरा गर्नुपर्ने बताएका छन् ।
प्रत्येक सदस्यले लिएको जिम्मेवारी पूरा गर्न सके मात्रै पार्टीलाई गतिशील बनाएर अघि बढाउन सकिने अध्यक्ष नेपालको भनाइ थियो ।
‘कुनैपनि नेताले जिम्मेवारी लिइसकेपछि त्यो जिम्मेवारीलाई पूरा गर्नुपर्छ । जिम्मेवारी पूरा गरिएको छ कि छैन ? सोहीअनुसार काम गरिएको छ कि छैन भन्ने कुराको अनुगमन पनि हुनुपर्छ,’ उनले भने, ‘प्रतिवेदन नबुझाउनेलाई आवश्यक कारबाहीको प्रक्रिया पनि अगाडि बढाउनुपर्छ । यी सबै काम गर्न सकेको अवस्थामा मात्र पार्टीलाई गतिशील बनाएर अघि लैजान सकिन्छ ।’
सोमबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
नेपालको कम्युनिष्ट आन्दोलन गम्भीरसंकट र चुनौतीबाट गुज्रिरहेको उनले टिप्पणी गरे । कम्युनिष्ट पार्टीभित्र मात्रै नभई हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरुको लागि चुनौतीपूर्ण रहेको टिप्पणी अध्यक्ष नेपालले गरे ।
राजनीतिक संकट र चुनौतीहरूको सामना गर्नको लागि पार्टीका प्रत्येक नेताहरूले सार्वजनिक कार्यक्रमहरूबाट आम नागरिक र कार्यकर्तामा सकारात्मक सन्देश दिनुपर्ने उनले बताए ।
‘नेपालको कम्युनिष्ट आन्दोलन अहिले पनि निकै ठूलो संकटको अवस्थामा छ । चुनौतीको बीचमा छ,’ अध्यक्ष नेपालले भने, ‘…चुनौती नै चुनौतीहरूको माझबाट हामी अगाडि बढिरहेका छौं । त्यसकारण चुनौतीबाट आत्तिनुपर्ने, संकटबाट तर्सिनुपर्ने कुनै आवश्यकता छैन । संकट कहिले आएन ? चुनौती कहिले थिएन ? चुनौती र संकटहरूलाई पन्छ्याउँदै हामी अगाडि बढिरहेका छौं । त्यसकारण चुनौती र संकटको सामना गर्ने आँटका साथ अगाडि बढाउनुपर्छ ।’
पार्टीका आन्तरिक समस्याका विषयहरुलाई पार्टी कमिटीमा राखेर यथार्थतामा अघि बढ्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।
प्रतिक्रिया 4