+
+
Shares

इतिहास : पञ्चायत हल्लाउने ३७ वर्षअघिको ‘ह्योजु काण्ड’

२०४५ साल भदौ ९ गते भक्तपुरमा घटेको ‘ह्योजु काण्ड’ पञ्चायती व्यवस्था ढाल्ने अनेक मध्येको एक कारण थियो ।

कुम्भराज राई कुम्भराज राई
२०८२ भदौ ९ गते १७:२१
Photo Credit : मीनरत्न बज्राचार्य/नेपाली टाइम्स डटकम
विसं २०४६ सालको जनआन्दोलनमा आन्दोलनकारी र प्रहरी।

९ भदौ, काठमाडौं । संसारका जुनसुकै शासन व्यवस्था परिवर्तन हुनुको पृष्ठभूमिमा शासकको निरंकुशता र स्वयं उनीहरूको निर्णय नै कारक बन्ने गर्छ ।

चाहे त्यो जर्मनीका एडल्फ हिटलर हुन् या रोमानियाका निकोलाइ चाउसेस्कु, आफू थप शक्तिशाली हुने लोभमा रचेका प्रपञ्च ‘ब्याकफायर’ हुँदा ती सबै सत्ताच्यूत भए ।

३७ वर्षअघि ठ्याक्कै आजैका दिन नेपालमा पनि त्यस्तै घटना घटेको थियो । २०४५ साल भदौ ९ गते भक्तपुरमा घटेको ‘ह्योजु काण्ड’ पञ्चायती व्यवस्था ढल्नुमध्येको एक कारण थियो ।

जुन घटनाका बारेमा पछिल्लो पुस्ता अनभिज्ञ छन् भने नेपाली राजनीतिक इतिहासमा यो घटना ओझेलमा छ ।

के थियो ह्योजु काण्ड ?

२०४५ साल भदौ ५ गते उदयपुर केन्द्रविन्दु भएर ६.७ रेक्टर स्केलको भूकम्प गयो । सो भूकम्पले सबैभन्दा बढी धरान र धनकुटामा क्षति भयो । भक्तपुरमा पनि ठूलै क्षति गर्‍यो ।

भूकम्पमा परी भक्तपुरमा ७ जनाको मृत्यु, ४३ घाइते, ८३ घर पूर्ण रूपमा क्षति र एक हजार ४८८ मा आंशिक क्षति भएको थियो ।

सरकारले तत्काल मृतक परिवारलाई दुई हजार रुपैयाँ नगद र पूर्ण क्षति भएका पीडितलाई ४० किलोको दरले चामल दिने निर्णय गरेको थियो ।

पछि पूर्ण क्षति भएकालाई १० हजार रुपैयाँ र आंशिक क्षति भएकालाई पाँच हजार रुपैयाँ ऋण सहयोग गर्‍यो । जुन केही समय पछि अनुदानमा रूपान्तरण गरी मिनाहा गरियो ।

भूकम्प पीडितलाई राहत प्रदान गर्न तत्कालीन भक्तपुर नगरपञ्चायतका प्रधानपञ्च आशाकाजी वासुकलाको अध्यक्षतामा भूकम्प पीडित सहयोग समिति गठन भयो ।

नगरपञ्चायतले पीडितलाई उद्धार तथा सहयोग गर्न दुई लाख रुपैयाँ बजेट विनियोजन गर्‍यो । घर निर्माणमा प्रयोग गरिने काठमा दस्तुर मिनाहा गर्‍यो ।

तत्कालीन सरकारले केन्द्रीय भूकम्प उद्धार तथा पुनर्स्थापना कोष गठन गर्‍यो । भक्तपुर जिल्ला पञ्चायतका उपसभापतिको अध्यक्षतामा जिल्ला भूकम्प उद्धार समिति गठन भयो ।

उनको व्यवहारले वास्तविक पीडितहरू आक्रोशित भए । अनि आक्रोशित भीडले ह्योजुलाई नियन्त्रणमा लियो । भर्खरै सम्म राहत वितरणमा सुरक्षार्थ खटिएका प्रहरीहरू छेउ लागे ।

९ गतेको गोरखापत्रमा प्रकाशित समाचार अनुसार भक्तपुर जिल्ला पञ्चायतका सभापति सुरेन्द्रप्रताप शाहको अध्यक्षतामा उद्धार उपसमिति पनि गठन भयो । उक्त समितिका सदस्यमा राष्ट्रिय पञ्चायतका सदस्य गोविन्द दुवाल, पूर्व राष्ट्रिय पञ्चायतका सदस्य मदनकृष्ण हाडा र प्रमुख जिल्ला अधिकारी लगायत थिए ।

तर पूर्व राष्ट्रिय पञ्चायत सदस्य कर्णप्रसाद ह्योजुलगायतका केही व्यक्ति राहतको प्रस्ताव लिएर प्रधानमन्त्री मरिचमान सिंहकहाँ पुगेका थिए । सायद ह्योजुले प्रधानमन्त्रीबाट कुनै आश्वासन पाए ।

जिल्लामा गठन भएका विभिन्न समिति र उपसमितिले काम सुरु नगर्दै भदौ ९ गते दिउँसो राहत वितरणका लागि ह्योजु भक्तपुर आइपुगे ।

कुनै समितिमा सदस्य समेत नभएका ह्योजुलाई किराना खाद्य संस्थानले उपलब्ध गराएको दाल, चामल, क्वाँटी लगायतका पीडित परिवारलाई राहत सामग्री वितरण गर्ने कुपनको जिम्मा दिइएको थियो ।

ह्योजुले सुरुमा फसिदेग मन्दिर अगाडि ट्रक राखेर राहत सामग्री वितरण सुरु गरे । कुपन लिंदै हुनेखाने वर्गले नै राहत सामग्री लगेको देखेपछि वास्तविक भूकम्प पीडितहरू कुपन माग्न पुगे, तर उनीहरूलाई ह्योजुले कुपन दिएनन् ।

उनले ती कुपनहरू सिडिओ कार्यालयबाट प्राप्त सूचीका आधारमा वितरण गरेको जवाफ दिए । तत्कालीन जनप्रतिनिधिहरूले नगर पञ्चायतको सूची अनुसार राहत सामग्री वितरण गर्नुपर्ने जिकिर गर्दा उल्टै ह्योजुले, ‘यो मेरो अधिकारको कुरा हो कसैसँग सूची माग्नुपर्ने जरुरत छैन’ भन्ने जवाफ दिई राहत वितरणलाई निरन्तरता दिए ।

उनको व्यवहारले वास्तविक पीडितहरू आक्रोशित भए । अनि आक्रोशित भीडले ह्योजुलाई नियन्त्रणमा लियो । भर्खरै सम्म राहत वितरणमा सुरक्षार्थ खटिएका प्रहरीहरू छेउ लागे ।

पीडितहरूले ‘वास्तविक भत्किएका घर हेर्न हिंड्’ भन्दै ह्योजुलाई डोर्‍याउन थाले । अनि ह्योजु र उनका समर्थक चन्द्रबहादुर, उत्तम श्रेष्ठलाई भीडले बिचमा राखेर हिंडायो ।

ह्योजुलाई सुरुमा दत्तात्रय, त्यहाँबाट सुजमारी हुँदै सूर्यमणि तर्फ लगियो ।  डबलीमा उभिन बाध्य बनाइयो । त्यहाँबाट च्यामासिंहतर्फ लान लागिएको थियो । भीडमा उनलाई कसैले लात्ती मुक्काले हानेका थिए ।

तर पनि उनी गम्भीर घाइते थिएनन् । सुरुमा संयमित तवरले ह्योजुलाई भीडले हिंडाएको भए पनि बीचबीचमा उत्तेजित बनाउने नौला मान्छेहरू मिसिएको प्रत्यक्षदर्शीहरू बताउँछन् । जसले सो काण्डमा पञ्चायतका भिजिलान्तेहरू मिश्रित थिए भन्ने स्पष्ट हुन्छ ।

गरुड कुण्ड पुग्दा उनलाई आक्रोशित भीडले जुत्ताको माला  लगाइसकेको थियो । अनि भीडले फेरि च्यामसिंह चोकतर्फ ल्यायो । फेरि सुजमारीतर्फ लगियो ।

सुजमारी पुग्दा प्रहरीको भ्यान आयो । ह्योजुलाई भ्यानमा राखियो । भ्यानमा राखिसकेपछि प्रहरीले पुन: ह्योजुलाई बाहिर निकालेर छाडिदियो । (कतिपयले भीडले तानेर निकाल्यो भन्ने गरेका छन् ।)

भ्यानबाट निस्किएका ह्योजुलाई फेरि भीडले लतार्न छाडेन । लगभग त्यसको एक घण्टापछि उनलाई सुकुल ढोका पछाडिको साकोटाबाट प्रहरी आएर फेरि भ्यानमा लिएर वीर अस्पताल लग्यो । वीर अस्पतालमै उपचारका क्रममा राति साढे ११ बजेतिर ह्योजुको मृत्यु भएको खबर आयो ।

सोही राति २४ जनालाई प्रहरीले समात्यो । पक्राउ पर्नेमा नारायणमान बिजुक्छे ‘रोहित’सहित जनप्रतिनिधिहरू थिए । प्रहरीले महिनौंसम्म पक्राउ गर्ने क्रम जारी राख्यो ।

ह्योजुको पोष्टमार्टम रिपोर्टमा शरीरभरी घाउ, दुवै आँखा र गुप्ताङ्ग समेत फुटेको उल्लेख थियो । उनको मृत्यु अत्यधिक रक्तश्रावका कारण भएको भनिएको थियो ।

भीडले ह्योजुलाई लतारिरहेको बेला नै राष्ट्रिय पञ्चायतका सदस्य गोविन्द दुवाल, प्रधानपञ्च आशाकाजी वासुकला लगायतले सुरक्षाका लागि माथिल्लो निकायमा सम्पर्कको प्रयास गरेका थिए । तर कोही पनि सम्पर्कमा आउन चाहेनन् ।

२०४५ भदौ ११ गते गोरखापत्रको पहिलो पृष्ठमा प्रकाशित समाचारमा ९ गते असामाजिक तत्वहरूको कुटाइबाट ह्योजुको निधन भएको उल्लेख छ ।

सो समाचारमा तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीद्वारा प्रस्तुत गरिएको प्रस्तावमा छलफल गर्दै १० गते बसेको राष्ट्रिय पञ्चायतको बैठकले भूतपूर्व राष्ट्रिय पञ्चायतका सदस्य कर्णप्रसाद ह्योजुको असामयिक निधन भएकोमा गहिरो शोक प्रकट गरेको उल्लेख छ । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले समेत गहिरो दु:ख व्यक्त गर्दै समवेदना प्रकट गरे भनिएको छ ।

पञ्चायतलाई ‘ब्याकफायर’

भोलिपल्ट भदौ १० गते सरकारले भक्तपुरमा शवयात्रा घोषणा गर्‍यो । प्रधानमन्त्री मरिचमान सिंहको नेतृत्वमा राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी, केही मन्त्रीहरू, रापस, पञ्चे, मण्डले, प्रशासनका मान्छेलगायतका जत्था ह्योजुको शवयात्रामा सहभागी भए ।

‘ज्यानमारा रोहितलाई फाँसी दे’ भन्ने नारा लगाउँदै शवयात्राले बजार परिक्रमा गरी साँझ हनुमानघाट पुर्‍याइयो ।

शवयात्राको भोलिपल्टदेखि भक्तपुरका मजदुर, किसान,  व्यापारी एवं श्रमिक वर्गका अधिकांश युवाहरूलाई धरपकड गरी शारीरिक र मानसिक यातना दिन थालियो ।

रातको समय पालैपालो भक्तपुरका विभिन्न टोलहरूमा मण्डलेहरूको सहयोग लिई प्रशासनले घर घेराउ गरी, ढोका र झ्यालहरू फोड्दै सुतिरहेका सर्वसाधारणलाई गिरफ्तार गरी जबरजस्ती हिरासतमा हाल्ने र ‘रोहितले नै कर्ण ह्योजुलाई मार्न आदेश दिएको हो’ नभनुन्जेल शारीरिक यातना दिने काम जारी राख्यो । अवस्था यस्तो सिर्जना भयो कि, पूरै भक्तपुरमा पुरुषहरू देखिन छाडे । जात्राहरूमा समेत पुरुष सहभागी हुन सकेनन् ।

उद्धव सुजखुले लेखेको एक लेख अनुसार २०४५ असोज ४ मा तयार पारिएको १६ पृष्ठ लामो सरकारवादी प्रहरी प्रतिवेदनमा सयौंको नामहरू उल्लेख गरिएको थियो ।

त्यसमध्येका ६७ जनालाई ज्यान मुद्दामा  जाहेरी दिइएको थियो । जाहेरी पत्रमा नेपाल मजदुर किसान सङ्गठनका अध्यक्ष रोहितलगायत २३ जनालाई मुलुकी ऐन ज्यान सम्बन्धी महल १३ (क) को ६ नं अनुसार कारबाही माग गरिएको थियो ।

सो ऐनको महलअनुसार किटानी जाहेरीमा परेकालाई सर्वस्वसहित जन्मकैद वा मृत्युदण्ड हुने कानुनी व्यवस्था थियो ।

सो घटनाले भक्तपुरमा सबैभन्दा बढी महिलाहरूमा चेतनाको बीज रोप्ने काम गर्‍यो । ‘त्यो काण्डपछि मात्र भक्तपुरका महिलाहरू सचेत भएका हुन्’, २०४६ सालको जनआन्दोलनमा भक्तपुरमा गोली लागि घाइते भएका राजेन्द्र डमरू भन्छन्, ‘किनभने कसैको दाजुभाइ, कसैको बुवा, कसैको श्रीमान् परेका थिए । उनीहरू त्यसपछि प्रहरी चौकी, अड्डा, अदालत धाउन र बोल्न बाध्य भए । त्यसभन्दा अगाडि यहाँका महिलाहरू नौलो मान्छेका अगाडि उभिएर बोल्न धक मान्थे ।’ त्यसपछि विस्तारै भक्तपुरका महिलाहरू सडक आन्दोलनमा उत्रिन थाले ।

भक्तपुरका हरेक गल्ली, चोक, कोठा, चोटामा विद्रोहको भाव जागिसकेको थियो । बाहिर नदेखिए पनि भुसको आगो झैं भित्रभित्रै सल्किंदो थियो ।

प्रहरी प्रशासनले परिवारका सदस्यलाई दिएको शारीरिक र मानसिक यातनाको पीडा, जेल सजायले हरेक घरमा फैलाएको त्राससँगै पञ्चायत विरोधी मानसिकता निर्माण भइरहेको थियो ।

सो घटनाको करिब १७ महिनापछि राजनीतिक दलहरूले जनआन्दोलनको घोषणा गरे । जनआन्दोलनमा भक्तपुर यसरी उत्रियो कि काठमाडौं, ललितपुर र कीर्तिपुर सेलाउँदा पनि भक्तपुर जागिरह्यो ।

गोलमढीका कृष्णराम दुवाल, व्यासीका राजकुमार सुवाल, निर्मलकुमार शाक्य, पुष्परत्न शाक्यलगायत जनआन्दोलनमा शहीद भए । कतिलाई गोली र लाठीले घाइते तुल्यायो ।

अन्तत: २०४६ साल चैत २६ गते बहुदल घोषणा भयो । भूमिगत र प्रवासमा रहेका भक्तपुरका किसान सङ्गठनका कार्यकर्ताहरू घर फर्किए ।

२०४७ वैशाख ५ गते भक्तपुर काण्डको मुद्दा राज्यले फिर्ता लियो । रोहितलगायत सो काण्डमा थुनिएका जनप्रतिनिधि र कार्यकर्ताहरू २० महिना पछि मुक्त भए । ह्योजु काण्ड पञ्चायती शासन व्यवस्थाका लागि काल बनेर आयो ।

उक्त घटना केवल भक्तपुरको मात्रै थिएन । त्यो त नेपाली इतिहासको एक विशिष्ट परिघटना थियो । किसान आन्दोलनको जगमा उठेको नेपाल मजदुर किसान पार्टी जनताको मौलिक हक र राजनैतिक अधिकार प्राप्तिका निम्ति स्थापनाकालदेखि निरन्तर सङ्घर्षरत छ ।

त्यसकै फलस्वरुप २०४८ देखि हालसम्म भक्तपुरको राजनीतिमा नेमकिपा मियो बनिरहेको छ । ह्योजु काण्ड पञ्चायती राज्यस्तरबाट रचिएको एउटा ठूलो षडयन्त्र रहेको भक्तपुर नगरपालिकाका प्रमुख तथा नेमकिपाका नेता सुनील प्रजापति स्मरण गर्छन् ।

उनका अनुसार नेपाल मजदुर किसान संगठनले जनमत सङ्ग्रहदेखि पञ्चायतको हरेक निर्वाचनमा भाग लिंदै आएको थियो । पञ्चायतमा भाग लिएर पञ्चहरूकै विरोध गर्ने नीति संगठनको थियो । त्यो बेला  पार्टीहरू प्रतिबन्धित थिए । राजनीतिक रुपमा किसान संगठन दुश्मन भएको थियो ।

अझ त्यो बेला त प्रधानमन्त्री मरिचमान सिंह, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी समेतले ‘रोहितलाई फाँसी दे’ भन्ने नारासहित सडकमा उत्रिएको प्रजापतिले बताए । ‘राज्य नै लागेर नेमकिपालाई नष्ट गर्ने उद्देश्य पञ्चायतको थियो’, उनले भने ।

को थिए ह्योजु ?

तत्कालीन कमरेड रोहित अर्थात् नाराणमान बिजुक्छे नेतृत्वको किसान सङ्गठनमा आबद्ध भइ आन्दोलनमा होमिएका कर्णप्रसाद ह्योजुलाई २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा सदस्यको रुपमा उम्मेद्वार बनाइयो ।

उनले २०३८ वैशाख २७ गतेको निर्वाचनमा १३ हजार ९८३ मत ल्याएर विजयी भए । ह्योजुका प्रतिद्वन्द्वी गणेशबहादुर खत्रीले १२ हजार २९ मत ल्याएका थिए ।

२०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय व्यवस्था पराजित भएपछि राजनीतिक दलहरूले पञ्चायती व्यवस्थाकै निर्वाचनलाई उपयोग गर्ने नीति अङ्गालेको थियो । सोही नीति बमोजिम किसान सङ्गठनबाट रोहितका विश्वासपात्र कर्णप्रसाद ह्योजुलाई उम्मेद्वार बनाइएको थियो ।

उनले किसान सङ्गठनकै बलमा चुनाव जिते पनि विस्तारै जनताको मतलाई सम्मान गर्न सकेनन् । पञ्चायती व्यवस्थातर्फ ढल्किंदै गए । अन्तत: उनलाई दुई वर्ष पछि भक्तपुरको किसान सङ्गठनले कारबाही गरी निष्कासन गर्‍यो ।  त्यसपछि ह्योजु झनै खुलेर पञ्चायती व्यवस्थाका एक हिस्सा बने ।

रापंस सदस्य निर्वाचित हुनुअघि ह्योजु भक्तपुरकै आदर्श आजाद प्राथमिक विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत थिए । नेमकिपाका नेता तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिका अनुसार ह्योजु पञ्चले पनि विश्वास नगरेको र संगठनले पनि पन्छाएको मान्छे थियो ।

उसलाई आक्रमण गरेपछि रोहित लगायतलाई दबाउन सजिलो हुन्छ र नेमकिपालाई पूर्ण रुपमा नष्ट गर्न सजिलो हुन्छ भनेर रचिएको षडयन्त्र मात्र थियो ।

ह्योजु त्यो बेला हिंडेरै प्रहरीको गाडीमा चढेको देख्ने मान्छे अझै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?