+
+
Shares

पञ्चायतका ‘विनोद’, रुवा बेच्नु जीवनको पहिलो अभिनय

मैले बुबाको मेहनत देखेँ । आफ्नो परिवारको अवस्था देखेँ । र, म रुवा बेच्ने काममा लागिरहेँ,’ उनी पुराना दिन सम्झिन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १७ गते ९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता अशोक पाठकले पञ्चायत वेब सिरिजको विनोद पात्रबाट लोकप्रियता पाएका छन् र पाँचौं सिजनको घोषणा भइसकेको छ।
  • अशोकले रुवा बेच्ने क्रममा अभिनय सिकेका थिए र त्यसपछि नाटक र फिल्ममा लागे, जसले उनको अभिनय यात्रामा महत्वपूर्ण भूमिका खेलेको छ।
  • मुम्बईमा साना भूमिकाबाट सुरु गरेका अशोकले पञ्चायत सिरिजबाट लोकप्रियता पाए पनि अन्य विविध पात्रहरूमा काम गर्न चाहन्छन्।

‘मैले अभिनय रुवा बेच्ने क्रममा नै सिकेँ । किनकि केही बेच्नका लागि पनि त अभिनय गर्नुपर्छ’

यो भनाइ अभिनेता अशोक पाठकको हो । यदि तपाईंले पञ्चायत वेब सिरिज हेर्नु भएको छ, ‘विनोद’ पक्कै याद होला । यही पात्र निभाउने अभिनेता हुन्-अशोक । आजकल उनलाई धेरैले अशोकभन्दा पनि विनोदले चिन्छन् ।

अहिले पञ्चायतको चौथो सिजन आइसकेको छ । र पाँचौं सिजनको घोषणा भइसकेको छ । यस्तोमा विनोदको चरित्रले फेरि सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।
तर विनोदको भूमिका निभाउने अशोक पाठकको यो पहिचान अचानक बनेको थिएन । त्यसको पछाडि उनको लामो र सङ्घर्षपूर्ण यात्रा लुकेको छ ।

रुवादेखि सिनेमा हलसम्म

बिहारको सिवान जिल्लाबाट आएका अशोकका आमाबुबा राम्रो जीवनको खोजीमा हरियाणाको फरीदाबाद पुगेका थिए । बुबा धेरै पढेलेखेका नभएकाले सुरुमा काम पाउन पनि समस्या थियो । पछि उनले हेल्पर र फायरम्यानको काम गरे । काम जे गरेता पनि उनको एउटा इच्छा थियो-बच्चाहरू पढेर केही बनून् ।

तर यता अशोकको मन पढाइमा कहिल्यै थिएन । स्कुलको पाठ्यक्रम उनलाई पट्यार लाग्थ्यो ।

अशोक जेठो बच्चा थिए । स्वभाविक रूपमा अभिभावकले उनीबाट धेरै अपेक्षाहरू राखेका थिए । ती मध्येमा पढाइ राम्रो गरोस् भन्ने पनि एक थियो । तर जति गरे पनि उनको मन पढाइमा गएन ।

त्यसैबीचमा उनको भाइलाई बिरामीले सताउन थाल्यो । त्यसपछि घरमा केही सहयोग गर्ने सोचविचारसहित उनि पैसा कमाउनतिर लागे । र एक आफन्तसँग मिलेर रुवा बेच्न थाले ।

अशोको ‘अभिनय’को आधार स्तभ त्यहीँ तयार भयो । ‘रुवा जसरी पनि बेच्नु थियो । मानिसहरूलाई किन्ने बनाउन विभिन्न अभिनय गर्नुपर्थ्यो । कतिपय अवस्थामा त मेरो हालत देखेर पनि मानिसहरूले दयाले किन्थे’ उनी सुनाउँछन् ।

उनको त्यस्तो हालत देखेर अन्य अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई उनीसँग सङ्गत नगर्न सल्लाह दिन्थे । त्यो कुराले अशोकलाई खासै फरक पर्दैनथ्यो । तर, यस कुराले उनका बुबा दुःखी हुन्थे ।

‘मेरो भित्री भावनाहरूले मलाई बचाए । मैले बुबाको मेहनत देखेँ । आफ्नो परिवारको अवस्था देखेँ । र, म रुवा बेच्ने काममा लागिरहेँ,’ उनी पुराना दिन सम्झिन्छन् ।

रुवा बेच्दा मुलत: उनलाई दुईवटा कुरामा फाइदा पुग्यो । एक, हातमा पैसा आउँथ्यो । दुई, उनलाई सिनेमासँग जोड्यो । किनकि रुवा बेचेर कमाएको पैसाले अशोकले सिनेमाघरमा गएर फिल्महरू हेर्न थालिसकेका थिए । यसै चक्करमा उनले बुबाबाट पिटाइ पनि खाए । तर सिनेमाको सौख उनमा छुटेन ।

जीवनमा किताबहरूको प्रवेश

पढाइमा अशोक राम्रो थिएनन् । जसोतसो उनले १२ कक्षा उत्तीर्ण गरे । उनलाई अगाडि पढ्ने इच्छा बिल्कुलै थिएन । तर साथीहरूले सम्झाएपछि जेनतेन उनी स्नातक तहमा भर्ना भए ।

जीवनलाई पछाडि फर्केर हेर्दा त्यो निर्णयलाई उनी आफ्नो जीवनको सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ मान्छन् । यसको कारण कलेजमा उनले नाटक गर्ने मौका पाए । त्यसको तयारीको क्रममा उनले साहित्यिक किताबहरू पढ्न थाले । हुँदाहुँदै उनलाई किताबको लत लाग्यो ।

कलेजमा नाटक गरे पछि अभिनयमा पनि रुचि बस्न थाल्यो । तयारी पनि गर्न थाले । रुचिलाई मूर्त रूप दिन दिल्लीको नेसनल स्कूल अफ ड्रामामा भर्ना हुने उनको ठूलो रहर थियो । तर दुई पटक प्रयास गर्दा पनि उनी त्यहाँ भर्ना हुन सकेनन् ।त्यसपछि प्रयास गरेनन् ।

थकित भएर एकपटक फेरि उनी जागिरमा फर्के । आजकल पनि त्यहाँ भर्ना हुन नपाएकोमा उनलाई एक प्रकारको गुनासो नै छ ।

यद्यपि परिवारले उनलाई साथ थियो । भन्नेहरू त ‘अनुहार नायकको जस्तो छैन, तिमीलाई त्यहाँ कसले काम दिन्छ !’ सम्म भन्थे । तर उनले त्यस्ता कुरा मतलब गरेनन् । आफ्नो मनको कुरा मात्र सुनिरहे ।

त्यसपछि अर्को प्रयास स्वरूप उनी लखनऊको भारतेन्दु नाट्य एकाडेमीमा गए । भर्ना भए । पढाइ पूरा गरेपछि मुम्बई अर्थात् सपनाको मायानगरीतिर लागे ।

विनोदसम्म पुग्न १२ वर्ष

उनका मुम्बईका प्रारम्भिक दिनहरू राम्रा रहे तर केही हुन सकिरहेको थिएन । हुन त उनी फिल्ममै केही काम गरिरहेका थिए । तर स-साना पात्रहरूमा चित्त बुझाउनु परिरहेको थियो ।

कहिले ड्राइभर, कहिले गार्ड । त्यस्ता भूमिकाहरूबाट उनी वाक्कदिक्क भइसकेका थिए । गुजाराका लागि उनले पञ्जाबी सिनेमामा लगातार काम गरिरहेका थिए ।

त्यही सिलसिलामा बिट्टु बोस, साङ्घाई, शुद्र: द राइजिङ, द सेकेन्ड बेस्ट एग्जोटिक मेरिगोल्ड होटल, फोटोग्राफ लगायत धेरै फिल्ममा उनी देखिएका छन् । तर उनलाई सफलता भने वेब सिरिजबाट मिल्यो । खोजिरहेको लोकप्रियता ‘पञ्चायत’मा निभाएको विनोदको चरित्रले उनलाई दिलायो ।

‘पञ्चायतबाट पनि लोकप्रियताको आशा थिएन । उनको ‘देख रहा है विनोद’ संवाद भाइरल भइदियो । नसोचेको कुरा भयो । ‘म त दर्शकबाट पाएको माया देखेर खुब रोएँ’ उनी भन्छन् ।

अशोकले विनोदको भूमिकाबाट लोप्रियता त पाए । तर अर्कोतर्फ उनलाई धेरैले कुनै कलाकार नभई गाउँको कुनै खाँचोमा परेको व्यक्ति सम्झे । त्यसले उनलाई खुसी र दु: खी दुवै बनाएको छ ।

‘एकातर्फ त अभिनय स्वाभाविक रूपमा बाहिर आएको छ भनेर म खुसी छु । तर अर्कोतर्फ त्यसै कारणले म अहिलेसम्म नोटिस हुन सकिरहेको थिइनँ भन्ने पनि लागिरहन्छ’ उनी सुनाउँछन् ।

विनोदभन्दा अगाडि के ?

जे चल्यो, त्यही बिकाउन खोज्ने प्रवृत्ति बलिउडमा उहिल्यै देखिको हो । यो कुरामा अशोक पनि अछुतो रहेनन् । किनकि ‘पञ्चायत’ पछि विनोदसँगका मिल्दोजुल्दो भूमिकामा उनलाई प्रस्तावहरू आए ।

तर उनी स्वयंलाई त्यो कुरामा चित्त बुझेको छैन । उनी विनोदको चर्चा हुनु राम्रो मान्छन् । तर यसै प्रकारका चरित्रहरू आएको उनलाई मन पर्दैन । ‘मेरा अन्य पात्रहरूलाई पनि मानिसहरूले मन पराउन। तिनको बारे कुरा गरून् जस्तो लाग्छ’ उनी भन्छन् ।

यद्यपि उनी विनोद पात्रसँग आफूलाई एकदम नजिक मान्छन् । आफूसँग समान भएको मान्छन् ।

‘मेरो र विनोदको जीवनमा धेरै समानताहरू छन् । जीवन सरल हुनुपर्छ, धेरै जटिल हुनुहुँदैन भन्ने सोच छ’ विनोदबारे अशोक भन्छन्, ‘म त्यो सरलता कायम राख्न प्रयास गर्छु । र विनोद पनि त्यस्तै छ । विनोद पनि सरल छ । र उसले नि सिधा-सिधा कुरा गर्छ,’

जे होस् आगामी दिनहरूमा उनले विनोदबाहेक अन्य सबल पात्रहरू निभाउन सक्ने आशा गर्न सकिन्छ ।

बीबीसी

सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?