+
+
Shares

तीज-पुरानो भाका नयाँ धुन

तीजको दिन महिलाको मन माइतीको प्रेम र सम्झनाले भरिन्छ। दिदीबहिनीको जमघट, बचपनका साथीसँगको याद र जन्मघरको माया सबै पुनर्ताजगी हुन्छ। माइतीको सम्झनाको खाडल कम गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीज पर्वलाई लिने गरिन्छ।

सीमा बन सीमा बन
२०८२ भदौ १० गते ६:५६

हिन्दु महिलाले मनाउने तीज पर्वको विशेषता पार्वतीले भगवान् शिवलाई पाउन गरेको कठोर तपस्यासँग सम्बन्धित छ। कथा अनुसार पार्वतीले कठोर व्रत र उपवास गरेर शिवलाई पतिको रूपमा पाएकी थिइन्। त्यसैले तीजलाई वैवाहिक सुख र समर्पणको प्रतीक मानिन्छ।

तीजमा प्रयोग हुने गहना र पहिरनको आफ्नै महत्व छ। तीजका दिन महिलाले लगाउने रातो सारी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ। रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने विश्वास छ। पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो। हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ। तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। तीजको दिन महिलाको मन माइतीको प्रेम र सम्झनाले भरिन्छ। दिदीबहिनीको जमघट, बचपनका साथीसँगको याद र जन्मघरको माया सबै पुनर्ताजगी हुन्छ। माइतीको सम्झनाको खाडललाई कम गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा यस पर्वलाई लिने गरिन्छ।

पहिले वर्ष दिनमा एकपटक आफू जन्मेको भूमिमा पाइला राख्न पाउँदा आफ्ना पीरव्यथा सबै भुलेर धक फुकाएर नाच्ने गर्थे। माइती आँगनमा पुगेपछि दिदीबहिनीहरू दु:ख–सुखको भेल बगाउँथे। पछिल्लो समय तीज केवल धार्मिक पर्व मात्रै नभएर महिलाको सामाजिक जमघट, आत्मीयता र खुशी साट्ने पर्व भएको छ।

आधुनिक समाजमा तीजको स्वरुप फेरिएको छ। तीज मनोरन्जनात्मक, ग्ल्यामर र सामाजिक सन्देश सहितको उत्सव बनेको छ। पहिलेका गीतहरूमा दु:ख, पीडा, सासूससुरा, नन्दभाउजू, देउरानी जेठानीसँगको व्यवहार तथा दाइजोका कुरा केन्द्रित हुन्थे। अहिलेका गीतहरूमा फेसन, रमाइलो, महिला स्वतन्त्रता, अधिकार, विसंगति र प्रेमका कुराहरू आउँछन्।

पहिले तीज परिवारसँग मात्रै मनाउने प्रचलन थियो तर अहिले यसको क्षेत्र विस्तार भएको छ। परिवारसँग मात्रै सीमित नभई आफू आबद्ध संघ–संस्था, कार्यालय सहकर्मी लगायत अन्य विभिन्न फरक क्षेत्रहरूसँग पार्टी प्यालेस र कतै प्रतियोगिताका रूपमा पनि मनाउने गरिन्छ।

पितृसत्तात्मक सोचले जकडिएको नेपाली परिवेशमा महिलालाई कुनै न कुनै किसिमको हिंसा र नियन्त्रणमा राख्न खोजेको देखिन्छ

आधुनिक जीवनले तीजलाई आफ्ना अधिकार, सामाजिक विकृति र कामकाजमा पर्ने बाधा व्यवधानका विषयमा खुलेर गाउने, नाच्ने र सोसल मिडियामा पोस्ट गरेर आफ्नो खुशी शेयर गर्ने संस्कारसँग पनि जोडिदियो। महिलाहरूले आफ्ना आवाज गीत र सोसल मिडिया मार्फत उठाउन थालेका छन्। गीतहरू मार्फत अधिकार र समानताको सन्देश दिन्छन्। आधुनिकतासँगै तीजको मौलिकतालाई पनि अँगालेका छन्।

पुरानो पुस्ताले भन्छ तीज भनेको पूजा र व्रतको पर्व हो, पार्टी र डिजे होइन। नयाँ पुस्ताले भन्छ तीज भनेको खुशी हो र खुशी आफ्नो तरिकाले मनाउने अधिकार सबैलाई छ। वास्तवमा तीज पुरानो स्मृति र नयाँ जीवनशैली बीचको पुल हो। पुरानो परम्परा र आधुनिक जीवनशैलीको मिलनले तीजलाई अझ रोचक र भावनात्मक बनाएको छ।

नेपाली समाज अहिले पनि पितृसत्तामै आधारित छ। हरेक काम, व्यवहार एवं निर्णयमा पुरुष सर्वेसर्वा रहने नियम अझै कायम छ। आत्मनिर्भर हुन नसकेका ग्रामीण महिलाका कुण्ठा र कामकाजी या सम्पन्न परिवारका महिलाका कुण्ठा फरक होलान् तर पितृसत्तात्मक सोचले जकडिएको नेपाली परिवेशमा महिलाहरूलाई कुनै न कुनै किसिमको हिंसा र नियन्त्रणमा राख्न खोजेको देखिन्छ। आफ्नो परिवारले स्वतन्त्र र खुशी राखेका महिलाहरूलाई पनि सामाजिक संरचना र समाजका कुण्ठित पुरुष चिन्तनले बाधा पुर्‍याउन खोज्छन्। अझ त्यस्ता परिवारमा जीवन बिताउनुपर्ने महिलाहरू कति हिंसामा होलान् सहज अनुमान लगाउन सकिन्छ।

तीज पर्वकै कुरा गर्दा पहिले पनि साउने सङ्क्रान्तिपछि महिला दिदीबहिनीहरू घरको काम धन्दा सकेर साँझमा आलोपालो छिमेकीकहाँ जम्मा भई तीज गीत गाउने, नाच्ने गर्थे। टाढा टाढाबाट दिदीबहिनीहरू मात्रै होइन दाजुभाइहरू समेत जम्मा हुन्थे। त्यतिबेला सोसल मिडियाको प्रभाव नहुँदा हरेक दिनको रमाइलो उही साँझमा मात्रै सीमित हुन्थ्यो।

पहिले पनि तीज महिना दिन चल्थ्यो। त्यसको स्वरुप फेरिएको हो। भाका उनै हुन् धुन फेरिएको हो। हिजो जसरी चल्थ्यो त्यही मात्रै ठिक भन्नु पुरातन सोच हो। हिजो आमा–बा नुन लिन बटौली हिंडेर जानुहुन्थ्यो आज तिमी पनि सोही बाटो हिंड भन्ने हो भने विकास र परिवर्तन किन चाहियो ?

परिवर्तनका नाममा समाज बिथोलिन भने भएन। परिवार बिथोलिन भएन। परिवार र आफ्ना कामकाजलाई व्यवस्थापन गर्दै आजभोलि महिलाहरू फुर्सदको समय मिलाएर दिउँसो वा साँझ जुनसुकै बेला पनि यो तीजको अवसर पारेर पहिले झैं साउने सङ्क्रान्ति पछि करिब महिना दिन रमाउने गरेका देखिन्छन्। नाचगानका भिडियो क्लिपहरू सामाजिक सञ्जालमा पोष्ट्याएर आफ्नो रहर पूरा गरेका देखिन्छन्।

दिनहुँ पार्टी प्यालेसमा भन्दा आ–आफ्ना घरमा दिदीबहिनी जम्मा भएर तीज पर्व मौलिक रूपमा मनाउने हो भने पारिवारिक र सामाजिक सामीप्यता अझ बढ्ने देखिन्छ

यसले एकातिर महिलाहरू आफूलाई रिफ्रेसमेन्ट बनाइरहेका छन् भने अर्कोतिर उनीहरूले पोशाक र शृंगार सामग्री खरीद तथा परिकारका लागि गर्ने खर्चले केही भए पनि बजार चलायमान बनाउँछ। चाडपर्वमा बजारमा छुट्टै खालको तामझाम देखिन्छ जसलाई आर्थिक दृष्टिकोणबाट सकारात्मक रूपमा पनि लिनुपर्छ।

समयसँगै जीवनशैली बदलियो, महिलाहरू शिक्षित, आत्मनिर्भर र स्वतन्त्र बन्न थाले; यही परिवर्तन तीजमा पनि देखिनु स्वाभाविक हो। महिलाहरू शिक्षित र सशक्त हुँदै अगाडि बढेर मानसम्मान, पदक–प्रतिष्ठाको भागीदार हुन पुगेका छन्। हिजोका महिलाका दुःख–पीडा, रोदन–चीत्कार समेटिएका तीजका वेदनाहरू आज महिला सशक्तीकरण, महिला अधिकार र महिला विकास जस्ता कुराहरूमा पुगिसकेका छन्। महिलाहरू पनि पुरुषसरह कामकाजमा खटेका हुन्छन्। दोहोरो भूमिकामा खटिरहने महिलाहरूले आफ्नो सबै चाँजोपाँजो मिलाएर रमाउनुलाई परिवार र समाजले पनि साथ दिने हो भने उनीहरू अझ सक्रिय जीवन बिताउन सक्छन्।

अहिले तीज पर्वलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गरेको पाइन्छ। एकातिर तीज भड्किलो भयो भनेर कोही सामाजिक सञ्जालमै आफ्नो अघोषित आक्रोश पोखेको देखिन्छ भने कोही यसलाई सामान्य परिवर्तनशील प्रक्रियाका रूपमा लिने गरेको बताउँछन्। महिलाहरू स्वतन्त्र भएको अझै पनि समाजले देख्न सक्दैन यो कटु यथार्थ हो। महिलाको तुलनामा पुरुषहरूको बाहिर रमाउने र खर्च गर्ने प्रवृत्ति नै फरक हुन्छ। यसका बारेमा शायदै कमैले विरोध गर्छन् वा स्टाटस बनाउँछन् किनभने त्यहाँका पात्र पुरुष हुन्छन्। पुरुषहरूलाई बाहिर रमाउने लाइसेन्स प्राप्त हुन्छन् तसर्थ यसलाई समाजले सामान्य रूपमा लिन्छ।

पितृसत्तात्मक मानसिकताले महिलाको स्वतन्त्रता र खुशीलाई स्वीकार गर्न सक्दैन। जब महिलाले आफ्ना साथीहरूसँग नाचगान गर्छिन्, पार्टीमा सहभागी हुन्छिन् वा फोटो शेयर गर्छिन्; आफ्नो खुशी र सामाजिक सन्देशलाई प्राथमिकता दिन्छिन्; यसलाई पुरुष चिन्तनले परम्परा विरोधी र अस्वीकार्य ठान्छ। यस्तो सोचले आलोचना र नियन्त्रणको प्रवृत्ति झल्काउँछ। उनीहरूको मानसिकतामा महिलाहरू आफूखुसी रमाउनु पुरुष वा परिवारको विरोध हो। त्यसो हुँदै होइन बरु यो स्वतन्त्रता र आत्मसम्मानको अभिव्यक्ति हो। यसलाई स्वीकार गर्न नसक्नु पुरुषत्व हावी सामाजिक संरचना, पुरातन मानसिकता र सोचको परिणाम हो।

महिलाले नाच्नु, गीत गाउनु, साथीहरूसँग रमाइलो गर्नु तीज पर्वको उद्देश्य र महिलाको स्वतन्त्रता दुवै हो तर हाम्रो समाजमा अझै पनि पुरुषकेन्द्रित मानसिकता छ। धेरै पुरुष महिलालाई स्वतन्त्र भूमिकामा स्वीकार गर्न सक्दैनन्। यही चुनौती र द्वन्द्व नै आधुनिक तीजको संवेदनशील पक्ष हो। जब पुरुषले महिलाको खुशीलाई स्वीकार्छन्, सँगै आनन्दित हुन्छन् तब सम्बन्ध अझ मिठास र प्रेमपूर्ण हुन्छ।

आफैंलाई बुद्धिजीवी ठान्ने, खुबीभन्दा रबैया बढी देखाउन खोज्ने पुरुषहरूमा मात्रै होइन केही महिलाहरूमा समेत यस्तो चिन्तन हावी हुन्छ। आफू को हो भन्ने बिर्संदा मान्छेले बढी टीकाटिप्पणी गर्छ। सामाजिक सञ्जालका भित्ता रंगाउँछ। यस्ता गलत प्रवृत्तिका मान्छेहरूको नकारात्मक टीकाटिप्पणीले जुनसुकै पर्वलाई पनि दूषित बनाउँछन्।

यद्यपि तीज पर्वलाई पछिल्लो समय केही महिलाहरूले भड्किलो रूपमा मनाउँदा यस पर्वको गरिमामा आँच आउन सक्ने कुरालाई नकार्न सकिंदैन। गाईजात्रे पारामा पुरुषहरूले सारी चोली लगाउने, महिलाहरूले छोटो व्लाउजसँग जिन्स पाइन्ट लगाएर नाच्ने, दरखाने निहुँमा रक्सी खाएर उत्ताउला छाडा गीत, संगीत सहितका नाचगान र सामाजिक सञ्जालमा गरिएका पोष्टहरू विकृति नै हुन्। यसलाई भने नियन्त्रण गरिनुपर्छ।

तीजका कतिपय गीतहरू रत्यौली हुन् कि झ्याउरे हुन् छुट्याउन कठिन हुन्छ। सर्जकहरूले पनि यसलाई ख्याल गर्न जरूरी छ। दिनहुँ पार्टी प्यालेसमा भन्दा आ–आफ्ना घरमा दिदीबहिनीहरू जम्मा भएर तीज पर्व मौलिक रूपमा मनाउने हो भने पारिवारिक र सामाजिक सामीप्यता अझ बढ्ने देखिन्छ, यसबाट सामाजिक पर्व तीजको सम्मान हुन्छ।

महिलाहरूको स्वतन्त्रता बोक्ने यो पर्व तीज अन्य पर्वहरूमा विदा नपाएर माइत जान नसकेका या व्यस्तताले नगएका, परिवारको अधीनमा रहेका महिलाहरूका लागि एउटा माइती मिलनको संगम भएको महत्वपूर्ण पारिवारिक आयाम बोकेको पर्व हो। यसको जगेर्ना हुनुपर्दछ। जुन रूपमा अर्थ्याए पनि महिलाहरूले तीज पर्वलाई भड्किलो नबनाई आफूलाई स्वतन्त्र चरी र स्वतन्त्र परीको रूपमा खुलेर खुशियालीका साथ मनाउनुपर्छ।

लेखक
सीमा बन

कृषि विकास बैंकमा कार्यरत वरिष्ठ शाखा प्रमुख रहेकी सीमा बन अधिवक्ता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?