+
+
Shares

‘बिटल्स’लाई विश्वव्यापी बनाउने पर्दा पछाडिको हिरो, जो ३२ वर्षमै बिते

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्रायन एपस्टेनले सन् १९६१ देखि द बिटल्सको म्यानेजेर भएर उनीहरूलाई लिभरपुलको क्याभर्न क्लबबाट विश्वव्यापी ख्याति दिलाए।
  • एपस्टेनले ब्यान्डको छवि सुधार्न स्टेजमा गाली नगर्न, रक्सी र चुरोट छोड्न मनाए र मिल्दो सुट लगाउन प्रेरित गरे।
  • सन् १९६७ मा ३२ वर्षको उमेरमा एपस्टेनको मृत्युले द बिटल्स विक्षिप्त भयो र तीन वर्षभित्रै ब्यान्ड टुक्रियो।

द फ्याब फोर अर्थात् ‘द बिटल्स’का म्यानेजेर ब्रायन एपस्टेनले उनीहरूलाई लिभरपुलको क्याभर्न क्लबबाट विश्वव्यापी ख्याति दिलाए । एपस्टेन नहुँदा हुन् त बिटल्सलाई आज त्यति धेरै मान्छेले सुन्ने थिएनन् ।

उनै ब्रायन एपस्टेनले आज भन्दा ५८ वर्षअघि ३२ वर्षकै उमेरमा संसार छाडे । जसका कारण ब्यान्ड टुहुरो बनेको थियो ।

एपस्टेन बिटल्सका लागि पर्दा पछाडिको हिरो थिए । नेपथ्यका सूर्य थिए । भलै, बिटल्सको संगीत सिर्जनामा एपस्टेनको कुनै हात छैन । तर ब्यान्डलाई लिभरपुलको सानो क्लबबाट विश्वभर पुर्‍याउन उनले दिलोज्यान दिए ।

उनले ब्यान्डलाई दिएको योगदानबारे सबै सदस्यहरूले आ-आफ्नै तरिकामा व्याख्या गरेका छन् । पल म्याकार्टनीले त आफ्नो जीवनी ‘मेनी इयर्स फ्रम नाउ’ले उनको मृत्युपछि आफूहरू निकै डराएको, दु:खी भएको लेखेका छन् ।

हुन त औपचारिक रूपमा द फ्याब फोर गठन भएको लामो समय पछि मात्र एपस्टेन जोडिएका थिए ।

यदि तपाईं बिटल्सको प्रशंसक हुनुहुन्न भने फ्याब फोरमा झुक्किरहनु भएको हुन सक्छ । स्पष्ट पारौं-फ्याब फोर, बिटल्सको उपनाम हो।

बिटल्समा 4 जना सदस्य थिए । जोन लेनन, पल म्याकार्टनी, जर्ज ह्यारिसन र रिङ्गो स्टार । यसकारण प्रंशसक र मिडियाहरूले उनीहरूलाई फ्याब फोर पनि भन्ने गर्छन् । सन् १९६० को दशकदेखि प्रयोगमा आएको यो शब्द बिटल्सलाई प्रेमपूर्वक बोलाइने नाम हो ।

उनीहरूले पहिले लिभरपुलका स्थानीय क्लबहरूमा मात्र बजाउने गर्थे । जसमा रक्सी, चुरोट सबै चल्थ्यो । तर ब्यान्डसँग एपस्टेन जोडिइसकेपछि उनले ती सबै परिवर्तन गरे ।

फ्याब फोरलाई विश्वकै सबैभन्दा ठूलो ब्यान्ड बनाउन महत्त्वपूर्ण भूमिका त खेले नै, त्यससँगसँगै उनीहरूको छवि सुधारे । रेकर्डिङ सम्झौता दिलाउन सहयोग गरे । सबै व्यावसायिक कुराहरू मिलाए । जस्तो परिस्थितिमा पनि निरन्तर उनीहरूको पक्षमा उभिए । र, उनीहरूलाई सधैं विश्वास गरे ।

000

सन् १९३४ मा यहुदी परिवारमा जन्मिएका एपस्टेन जेठा छोरा थिए । लिभरपुलमा उनको परिवारको विभिन्न व्यवसाय थियो । सानैदेखि एपस्टेन रचनात्मक क्षेत्रमा करियर बनाउन चाहन्थे । जुन कुरा उनका परिवारको योजनाभन्दा विपरीत थियो ।

उनले ड्रेस डिजाइनर र अभिनेता बन्ने सपना बोकेर १६ वर्षकै उमेरमै विद्यालय छाडिदिएका थिए । सन् १९५२ मा पारिवारिक व्यवसाय सम्हालिरहेका बेला उनलाई अनिवार्य राष्ट्रिय सेवाका लागि बोलाइयो । र, उनी रोयल आर्मी सर्भिस कोर्प्समा क्लर्क बने । तर सैनिक जीवनको अनुशासनले उनलाई दुःखी बनायो ।

त्यसपछि सैनिक मनोचिकित्सकसँग परामर्श गरेपछि एपस्टेन सेवामुक्त भए । यद्यपि उनले आफ्नो अभिनयको सपना त्यागेका थिएनन् । र, जसोतसो आफ्ना आमाबुबालाई लन्डनको प्रसिद्ध रोयल एकेडेमी अफ ड्रामाटिक आर्ट (राडा) मा भर्ना मुनाइ छाडे । त्यहाँ उनी सन् १९५६ मा विद्यार्थीको रूपमा भर्ना भए ।

त्यही समयताका एपस्टेनले आफू समलिङ्गी भएको थाहा पाए । तर ५० को दशकमा बेलायतमा समलैङ्गिकता गैरकानुनी थियो । त्यसो हुनाले गोप्य रूपमा समलिङ्गी जीवन बिताउँदा कारागारसम्म जाने खतरामा थियो ।

नभन्दै सन् १९५७ मा उनलाई लन्डनको एक भूमिगत रेल स्टेसनको पुरुष शौचालय बाहिर ‘अनुचित व्यवहार’ गरेको आरोपमा प्रहरीले पक्राउ गर्‍यो । उनलाई दुई वर्षको सजाय सुनाइयो । त्यसपछि उनले ‘राडा’ छाडे । र, लिभरपुल नै फर्किए ।

बुबाले उनलाई ‘नर्थ इन्ड म्युजिक स्टोर्स’ (एनईएमएस) को रेकर्ड विभागको जिम्मा दिए । त्यो पनि उनीहरूको पारिवारिक व्यवसाय नै थियो । बल्ल त्यहाँ उनले आफ्नो रुचि भेट्टाएको महसुस गरे । र, दत्तचित्त भएर काम गर्न लागे ।

त्यहाँ उनी कुन पप हिट हुन्छ भन्ने कुराको सहज अनुमान गर्दिन्थे । उनको यो सीपका कारण उक्त पसल लिभरपुलका किशोरकिशोरीहरूबीच लोकप्रिय बनिरहेको थियो । र, यस पसलबाटै बिटल्ससँग उनको सम्बन्ध जोडियो ।

त्यसबेला एक जना ग्राहक उनको पसलमा द बिटल्सको गीत ‘माई बोनी’ खोज्दै आएका थिए । जोन लेनन, पल म्याकार्टनी, जर्ज ह्यारिसन र त्यस समयका ड्रमर पीट बेस्टले सन् १९६१ मा ह्याम्बर्गमा हुँदा गायक टोनी शेरिडानको ब्याकिङ ब्यान्डको रूपमा यो गीत रेकर्ड गराएका थिए । त्यसले गर्दा एपस्टेनले द बिटल्स जर्मनीको हो भन्ने ठानेका थिए । जुन वास्तवमा थिएन । र, त्यो ट्य्राक उनीसँग थिएन ।

त्यसैले ब्यान्डलाई भेटेर ट्रयाक मगाउन उनी द बिटल्स भेट्न पुगे । त्यही सिलसिलामा उनी द बिटल्सको प्रस्तुती हेर्न नजिकैको क्याभर्न क्लबमा गए ।

अँध्यारो र धुवाँले भरिएको त्यस क्लबमा पुग्दा बिटल्सको संगीतले उनलाई तुरुन्तै मोहित बनायो । बिटल्सका सदस्यहरूले लगाएको लुगा पनि उनलाई मनपर्‍यो । पहिलो पटक बिटल्सलाई देख्दै उनीहरूमा स्टार-गुण देखे । उनीहरू धेरै सफल हुन सक्छन् भन्ने कुरा बुझे ।

त्यसपछि कुनै अनुभव नभए पनि एपस्टेनले द बिटल्सको म्यानेजेर बन्नुपर्छ भन्ने सोचे । र, ब्यान्डसँग एउटा मिटिङको प्रस्ताव राखे । मिटिङका लागि ब्यान्ड पनि सहमत भयो ।

तर जसै मिटिङको समय आयो, ब्यान्डका तीन सदस्य मात्र आए । एपस्टेनले ४५ मिनेट कुर्दा पनि म्याकार्टनी आएनन् । बरु ढिला उठेका कारण आउन नसकेको भनी फोन आयो । त्यो कुराले एपस्टेन झर्किए । यस्तो महत्त्वपूर्ण कुरामा उनी कसरी ढिलो हुन सक्छन् भनेर गाली दिए ।

तर त्यो मिटिङ सकारात्मक बन्यो । किनकि द बिटल्सले आफ्नो म्यानेजेरको रूपमा एपस्टेनलाई स्वीकार गर्‍यो । एपस्टेनले आफूलाई प्रमाणित नगरे हटाउन सक्ने विकल्प ब्यान्डले राखेको थियो । यसरी १९६१ देखि एपस्टेन बिटल्सको औपचारिक म्यानेजेर बनेका थिए ।

त्यस मौखिक सम्झौता लगत्तै एपस्टेनले ब्यान्डका लागि ठूला, राम्रा ठाउँहरू सुरक्षित गर्ने काम सुरू गरिहाले । जस्तो: धेरै दर्शकसमक्ष पुग्नु छ भने टेलिभिजनमा जानैपर्छ । कार्यक्रममा जाँदा ब्यान्डका सदस्यहरूको छवि सुधार गर्नुपर्छ । यसका लागि उनले ब्यान्डका सदस्यहरूलाई मिल्दो सुटहरू लगाउन, स्टेजमा गाली नगर्न, चुरोट र रक्सी छोड्न मनाए ।

एपस्टेनले ब्यान्डका सदस्यहरूलाई छालाका ज्याकेट र जिन्स लगाउन, स्टेजमा स्वेटर लगाउन लगाए । यी स-साना परिवर्तनले बिटल्सको सार्वजनिक छवि राम्रो बनाउन ठूलो भूमिका खेलेको थियो ।

 

उनले द बिटल्सलाई व्यवस्थापन गर्न थालेको १० महिनाभित्रै ब्यान्डले आफ्नो पहिलो एकल गीत ‘लभ मी डू’ निकाल्यो । मार्च १९६३ मा दोस्रो एकल गीत ‘प्लीज प्लीज मी’ निकाल्यो । पछि ब्यान्डले यही नामको एल्बम पनि निकाल्यो । जुन बेलायतको चार्टमा नम्बर एकमा पुगेको थियो ।

त्यस्तै सन् १९६३ को अन्त्यतिर उनले द बिटल्सको पहिलो अमेरिकी टेलिभिजन प्रस्तुतिको ‘डिल’ गरे । फेब्रुअरी १९६४ मा दिइएको त्यो सांस्कृतिक प्रस्तुति ब्यान्डका लागि कोसेढुङ्गा सावित भयो । किनकि एकै पटक त्यस कार्यक्रमबाट ७ करोड ३० लाख बढीले बिटल्स सुनेका थिए ।

त्यसपछि बिटल्सका प्रशंसकहरूको लहर आयो । र, अप्रिलसम्ममा द बिटल्सले बिलबोर्ड चार्टमा शीर्ष पाँच स्थान एकसाथ कब्जा जमायो ।

त्यति बेलाका अन्य ब्यान्ड म्यानेजेरहरूले जस्तै एपस्टेनले बिटल्सलाई कुन गीत बजाउने वा उनीहरूको आवाज कस्तो हुनुपर्छ भनेर कहिल्यै बताएनन् । बरु उनीहरूको कन्सर्टको व्यवस्थापन गर्ने, ख्याति बढाउने र रेकर्डिङ सम्झौता दिलाउने काममा मात्र लागे।

यसका लागि उनले थुप्रै रेकर्ड लेबलहरूको भ्रमण गरेका थिए । त्यही क्रममा उनी सङ्गीत निर्माता जर्ज मार्टिनसँग ठोक्किन पुगे । उनै मार्टिन पनि ब्यान्डको सफलताका लागि महत्त्वपूर्ण व्यक्ति हुन् । ब्यान्डलाई आफ्नो आवाज निखार्न र विकास गर्न, साङ्गीतिक विचारहरूलाई साकार पार्न मार्टिनले काम गरेका थिए ।

त्यस्तै लेनन, म्याकार्टनी र ह्यारिसनले रिङ्गो स्टारलाई ब्यान्डको मूल ड्रमर बनाउन पनि एपस्टेनलाई जिम्मा दिएका थिए । त्यसका लागि ब्यान्डका पुराना सदस्य पीट बेस्टलाई हटाउनु पर्ने थियो । यद्यपि त्यो काम पनि एपस्टेनले सहजै गरे ।

ब्यान्ड म्यानेजेरका रूपमा एपस्टेनले गायक लेननसँग पनि गहिरो व्यक्तिगत सम्बन्ध बनाएका थिए । किनकि लेनन ब्यान्डमा देखिने प्रमुख व्यक्ति थिए । सन् १९६२ मा लेननले सिन्थिया पावेलसँग विवाह गर्दा होस् या लिभरपुलको फाल्कनर स्ट्रिटस्थित फ्ल्याटमा उनीहरूको पहिलो सन्तान जुलियन जन्मदा, एपस्टेनले महत्त्वपूर्ण सहयोग गरे ।

000

द बिटल्स अन्तर्राष्ट्रिय रूपमा झन् सफल हुँदै जाँदा एपस्टेनको व्यक्तिगत जीवन भने अव्यवस्थित हुँदै गइरहेको थियो । आफ्नो कामको भार व्यवस्थापन गर्न उनले उत्तेजक औषधिहरू लिन थालिसकेका थिए ।

निदाउन उनलाई गाह्रो हुन थालिसकेको थियो । त्यसका लागि पनि उनी औषधिको साहरा लिने गर्थे । किनकि उनले बिटल्सबाहेक एपस्टेनले गेरी एन्ड द पेसमेकर्स, सिल्ला ब्ल्याक र टमी क्विकली लगायत थुप्रै कलाकारहरूलाई व्यवस्थापन एकै समय गरिरहेका थिए । तर उनको मुख्य ध्यान बिटल्समै थियो ।

१९६६ तिर ब्यान्ड आफैँ पनि थकित भएको थियो । अधिक भएकाले उनीहरूले भ्रमण नै बन्द गर्ने निर्णय गरेका थिए । र नयाँ एल्बम बनाउन लागेका थिए ।

१९६७ मा बिटल्सको ‘सर्जन्ट पेपर्स लोन्ली हार्ट्स क्लब ब्यान्ड’ नामक एल्बमको काम लगभग सकिन लागेको थियो । यता एपस्टेन त्यो बेलामा लागूपदार्थको लतसँग जुधिरहेका थिए । उनले लन्डनको निजी क्लिनिकमा उपचार गराइरहेका थिए । यही अवस्थामा पनि उनले बिटल्सलाई व्यवस्थापन गर्न छाडिरहेका थिएनन् ।

त्यस्तैमा उपचार छाडेर मे १९६७ मा उनले लन्डनस्थित आफ्नो घरमा उक्त एल्बमको लन्च पार्टी आयोजना गरे । त्यसपछि बिटल्सलाई विश्वको पहिलो स्याटेलाइट टेलिभिजन लिन्कमा ‘अल यु निड इज लभ’ नामक प्रस्तुति दिन डिल गरे । त्यसकार्यक्रमबाट बिटल्सलाई २५ देशका ४० करोड दर्शकहरूले हेरेको बताइन्छ ।

त्यसको केही समयपछि नै एपस्टेनका बुबाको मृत्यु भयो । त्यसबाट पनि उनी मर्माहित भए । बुबाको मृत्युको एक महिना नबित्दै ३२ वर्षको उमेरमा २७ अगस्ट १९६७ मा एपस्टेन आफ्नै घरमा मृत भेटिए । उनको मृत्युको कारण लागूपदार्थको अधिक सेवन बताइएको थियो ।

उनको मृत्युले द बिटल्स विक्षिप्त भयो ।

बिटल्सका लेननले त एपस्टेनको मृत्यु हुनु नै ब्यान्डको विखण्डन भएको मिडिया अन्तर्वार्तामा बताएका थिए । किनकि एपस्टेनको मृत्युको तीन वर्षभन्दा कम समयमा द बिटल्स टुक्रिएको थियो ।

यसरी एपस्टेनले बिटल्ससँग ६ वर्ष हाराहारी बिताए । तर, बिटल्स सम्हालेको छोटो समयमा नै उनले उनीहरूलाई विश्वव्यापी रूपमा चिनाउन अहम् भूमिका खेले । प्रतिभा बिटल्सको थियो । तर, त्यसको सही सदुपयोग, त्यसको प्रचारप्रसार गर्न उनले असाधारण काम गरे । र, आज बिटल्स विश्वव्यापी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?