
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आर्थिक वर्ष २०८१/८२ मा उखु किसानलाई अनुदान भुक्तानीका लागि ७० करोड रुपैयाँ निकासा गरेको छ।
- अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले अनुदान रकम विभिन्न ८ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानलाई भुक्तानी गरिने बताए।
- किसानले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पाउनुपर्ने माग गरिरहेका छन्, तर सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँ दरले अनुदान निकासा गरेको छ।
१० भदौ, काठमाडौं । उखु किसानले गत आर्थिक वर्ष २०८१/८२ मा उखु बेचेबापत पाउनुपर्ने अनुदान भुक्तानी गर्न सरकारले ७५ करोड ४९ लाख रुपैयाँ निकासा गरेको छ ।
कृषि मन्त्रालयले गरेको प्रस्ताव बमोजिम यो रकम विभिन्न ८ जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानलाई भुक्तानी गर्ने गरी निकासा गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले अनलाइनखबरलाई बताए ।
उखु किसानले यसअघि पाउँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ नै अनुदान पाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् । तर, सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान हिसाब गरेर रकम निकासा गरेको हो ।
‘अहिले यो रकम निकासा भएको छ । किसानहरूसँग वार्ता भइरहेको छ । त्यसमा केही सहमति भयो भने त्यसै अनुसार हुनेछ,’ प्रवक्ता पाण्डेले भने ।
गत आव २०८१/८२ को बजेटमा उखु खेती प्रवर्द्धनका लागि किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर, सरकारले स्रोत अभाव भएको भन्दै किसानलाई दिने भनेर विनियोजन गरेको रकम पनि घटाइदिएको हो ।
गत २२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । त्यो गत वर्षका लागि हो । चालु आव किसानलाई अनुदानका लागि भन्दै बजेट नै विनियोजन नगरिएकाले अनुदान पूर्णरूपमा खारेज हुने डरमा किसान छन् ।
गत आव कुल २ करोड १६ लाख क्विन्टल उखु क्रसिङ भएको सरकारी तथ्यांक छ । प्रतिक्विन्टल ३५ रुपैयाँका दरले हिसाब गर्दा किसानले पाउने कुल रकम ७५ करोड ४९ लाख रुपैयाँ निकासा भएको हो । यो रकम बिहीबारसम्म किसानको खातामा पुगिसक्ने कृषि मन्त्रालयले जनाएको छ ।
किसानले भने प्रतिक्विन्टल ७० रुपैयाँका दरले १ अर्ब ५१ करोड २० लाख रुपैयाँ भुक्तानी पाउनुपर्ने माग गरिरहेका छन् ।
प्रतिक्रिया 4