+
+
Shares

प्राविधिक शिक्षामा गुणस्तर सुनिश्चित गर्न ‘प्रत्यायन प्रणाली’ सुरु

काठमाडौंमा आयोजित ‘गुणस्तरीय टीभीईटी : अहिलेको आवश्यकता’ शीर्षकको राष्ट्रिय सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त प्रणाली उद्घाटन गर्दै यो प्रक्रिया प्रारम्भ भएको घोषणा गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १३:१९

१२ भदौ, काठमाडौं । नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषदले (टीभीईटी) क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सरकारले ‘विद्यालय गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली’ को औपचारिक सुरुवात गरेको छ।

बुधबार काठमाडौंमा आयोजित ‘गुणस्तरीय टीभीईटी : अहिलेको आवश्यकता’ शीर्षकको राष्ट्रिय सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त प्रणाली उद्घाटन गर्दै यो प्रक्रिया प्रारम्भ भएको घोषणा गरे ।

यो सुरुवातलाई नेपालको टीभीईटी क्षेत्रमा गुणस्तर सुनिश्चितताका लागि एक महत्त्वपूर्ण कोशेढुंगा मानिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले नेपालमा प्राविधिक शिक्षा स्तर तत्काल माथि उकास्नुपर्ने आवश्यकतामा जोड दिए । ‘यदि हामी पछिल्ला दुई दशकलाई तुलना गर्छौं भने डिजिटल उपकरणहरूले जीविका र काम गर्ने तरिकामा ठूलो परिवर्तन ल्याएको महसुस गर्न सक्छौं,’ उनले भने, ‘हाम्रो वर्तमान आवश्यकता के हो भनी बुझ्न जरुरी छ । यसबारे सचेत भएर अघि बढ्दामात्र हामीले शिक्षा, विशेषगरी टीभीईटीमा गुणस्तर अभिवृद्धि गर्न सक्छौं ।’

उनले युवालाई रोजगारीका लागि सक्षम बनाउन र देशमा समावेशी आर्थिक वृद्धि प्रवर्द्धन गर्न गुणस्तरीय टीभीईटीको महत्त्वलाई विशेष रूपमा प्रकाश पारे ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्यसचिव महेश भट्टराईले नेपालको टीभीईटी प्रणाली सुदृढ गर्न प्रमाणीकरण एक अनिवार्य कदम भएको बताए ।

‘यो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रणाली विद्यमान अनुगमन र मूल्यांकन प्रणालीमा आधारित छ,’ उनले भने । गुणस्तर कागजमा मात्रै सीमित नभई परिणाममा देखिनुपर्नेमा जोड दिँदै उनले उद्योगलाई टीभीईटीसँग जोड्नुको विकल्प नभएको उल्लेख गरे ।

सम्मेलनका प्रमुख वक्ता स्विट्जरल्यान्डको ईटीएच ज्युरीचकी प्रा. डा. उर्सुला रेनोल्डले आफ्नो प्रस्तुति मार्फत अन्तर्राष्ट्रिय मापदण्ड, उद्योगसँगको सम्बन्ध, विद्यार्थी–केन्द्रित शिक्षा र विश्वका उत्कृष्ट अभ्यासबारे जानकारी गराइन्।

उनले यी उत्कृष्ट अभ्यासलाई आधार मान्दै नेपालका लागि कार्यान्वयनयोग्य रणनीति बनाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा उपस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वीस विकास सहयोग (एसडीसी) र युनेस्कोका अन्य वक्ताहरूले पनि नेपालमा टीभीईटी रूपान्तरणका लागि आफ्नो निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।

सम्मेलनमा विभिन्न महत्त्वपूर्ण विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल भएको थियो । प्रस्तुत गरिएका मुख्य विषयमा ‘नेपालमा टीभीईटी वित्तीयकरण : रणनीतिक योजना (टीएसएसपी) का अवसर र चुनौतीहरू’, ‘टीभीईटी विद्यालयहरूको प्रमाणीकरण : गुणस्तर सुनिश्चित गर्ने उपाय’, ‘प्रत्यायनको यात्रा’, ‘गुणस्तरीय टीभीईटी रोजगारदाताहरूको दृष्टिकोण’ र ‘हरित टीभीईटी : युनेस्कोको आधार’ अध्ययनका मुख्य निष्कर्षमा आधारित थिए ।

यसैगरी स्वीस कन्ट्याक्टकी डा. उषा भण्डारीको संयोजनमा ‘टीभीईटी विद्यालयहरूको गुणस्तर : हामी कहाँ उभिएका छौं ?’ शीर्षकमा एक विशेष प्यानल छलफल पनि आयोजना गरिएको थियो । उक्त छलफलले प्राविधिक शिक्षाको हालको अवस्था, विद्यमान क्षमता, कमी कमजोरी र भविष्यका प्राथमिकतालाई खुला संवाद मार्फत उजागर गरेको थियो।

त्यसैगरी समापन सत्रमा बोल्दै स्वीस कन्ट्याक्ट नेपालका देशीय निर्देशक सञ्जय कार्कीले युवाको रोजगारी क्षमता बढाउन सबै पक्षबीचको सहकार्य र विशेषगरी निजी क्षेत्रको संलग्नताको महत्त्वलाई पुनः स्मरण गराए ।

शिक्षा मन्त्रालयका सहसचिव प्रसाद भट्टराईले सम्मेलनका प्रमुख बुँदालाई संक्षेपमा प्रस्तुत गर्दै भने, ‘प्रमाणीकरण भनेको गुणस्तरमा देखिने दीर्घकालीन सुधार र वृद्धिको यात्राको सुरुवात मात्र हो ।’

सम्मेलन नेपालको विकास रणनीतिको आधारशिलाका रूपमा गुणस्तरीय टीभीईटी स्थापित गर्ने, युवालाई सशक्त बनाउने र देशको कार्यशक्तिलाई सबल बनाउने सबै सरोकारवालाको सामूहिक प्रतिबद्धता सहित सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?