
News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देही-३ को उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले ९ जना आकांक्षीबीच प्राइमरी इलेक्सन सुरु गरेको छ।
- प्राइमरी इलेक्सनमा मोबाइल एपमार्फत अनलाइन भोटिङ २२ भदौ साँझ ७ बजेसम्म चल्नेछ र सबैभन्दा बढी भोट पाउने उम्मेदवार बन्नेछ।
- अन्य दलबाट समेत विभिन्न उम्मेदवारले स्वतन्त्र वा पार्टीबाट उम्मेदवारी घोषणा गरिसकेका छन् र कांग्रेसले अहिलेसम्म सिफारिस गरेको छैन।
१२ भदौ, बुटवल। रुपन्देही- ३ मा १७ कात्तिकमा हुने उपचुनावको उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ९ जना आकांक्षीबीच बिहीबारदेखि प्राइमरी इलेक्सन सुरु गरेको छ।
प्राइमरी इलेक्सनमा पार्टीको एपमार्फत मोबाइलबाटै अनलाइन भोटिङ गर्न सकिने व्यवस्था रहेको पार्टी सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले बताए । आज बिहान ७ बजेबाट खुला भएको भोटिङ भोलि शुक्रबार साँझ ७ बजेसम्म गर्न सकिने आचार्यले जानकारी दिए ।
उम्मेदवार छनोट विधिअन्तर्गत प्राइमरी इलेक्सनमा पाउने मतको अंक भार सबैभन्दा धेरै ५० रहेकाले यसलाई आकांक्षीहरूले महत्वका साथ हेरेका छन् ।
प्राइमरी इलेक्सनमा धेरै अन्तरले बढी भोट पाउने आकांक्षी नै उम्मेदवार बन्न सक्छ । क्षेत्रीय सभापति मधु अर्यालका अनुसार रुपन्देही-३ मा करिब २ हजार ८०० पार्टी सदस्य छन् ।
पार्टीले ७ देखि २१ साउनसम्म उम्मेदवार बन्न आवदेन माग गरेकोमा ९ जना छनोट भएका थिए । जसमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही-३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् । कुसुम, मधु, सुलभ र जितबहादुरबाहेक ५ जना भैरहवाका हुन् ।
यसअघि पार्टीले २० अंक भार रहेको पोलिटिकल प्रोक्सिमिटी र २५ अंकभार रहेको लिडरसिप एकेडेमीको लागि आकांक्षीहरूबीच विभिन्न गतिविधि गराएर मूल्याङ्कन गरिसकेको छ । १०० अंकमध्ये ५ अंक समावेशितालाई छुट्याइएको छ । यो अंक महिला, आदिवासी जनजाति, मधेशी, अल्पसंख्यक र पछाडि पारिएको समुदायका आकांक्षीले मात्र पाउँछन् ।
प्राइमरी इलेक्सनमा निर्वाचन क्षेत्रमा पार्टी स्थापनाकालदेखि संगठन निर्माणमा खटिएको र कार्यकर्तामाझ भिजेको आकांक्षीले बढी मत पाउने रास्वपाका नेताहरू बताउँछन् ।
प्राइमरी इलेक्सनमा पार्टीले ‘नन अफ द एबोभ’ (माथिका मध्ये कोही पनि हुँदैन ) भन्ने विकल्पमा पनि भोट दिन सकिने व्यवस्था गरेको छ । यसमा सबैभन्दा बढी आएको खण्डमा पुनः नयाँ प्रक्रियाबाट उम्मेदवार चयन गरिने सहमहामन्त्री आचार्यले जानकारी दिए ।
कसले भोट हाल्छन् प्राइमरी इलेक्सनमा ?
रास्वपाको प्राइमरी इलेक्सनमा निर्वाचन क्षेत्रका पार्टी सदस्य, तहगत समितिका सदस्य र केन्द्रीय समिति सदस्यतले मतदान गर्न पाउनेछन् ।
सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतदानको ८० अंक, क्षेत्रभित्रका मतदाता रहेका पार्टीका तहगत समिति सदस्यको मतदानको १० अंक र केन्द्रीय समिति सदस्यको मतदानको १० अंकभार रहनेछ ।
पार्टी सदस्यको मतदानमा २६ साउनसम्म पार्टी सदस्यता लिएकाले मात्र मतदानमा भाग लिन पाउने सहमहामन्त्री आचार्यले बताए ।
यसपटकको ‘प्राइमरी इलेक्सन’ डिजिटल डेमोक्रेसीको अभ्यास सुरुवातको पाइलट प्रोजेक्ट भएको आचार्यको भनाइ छ ।
२३ भदौ साँझ ७ बजेपछि अनलाइन भोटिङ स्वचालित रूपमा बन्द हुने र १४ गते प्राइमरी इलेक्सनको नतिजा, यसअघि सम्पन्न पोलिटिकल प्रोक्सिमिटी र लिडरसिप एकेडेमीको मूल्यांकनबाट प्राप्त अंक र समावेशिताको अंक कम्पाइल गरी १५ गते सबैभन्दा बढी भोट पाउने एकजनालाई उम्मेदवार घोष्णा गरिने सहमहामन्त्री आचार्यले जानकारी दिए ।
गत आमचुनावमा रुपन्देही-३ मा समानुपातिकतर्फ १४ हजार १५४ मत सहित रास्वपा तेस्रो ठूलो दल बनेको थियो ।
अरु दलबाट कोको आकांक्षी ?
रुपन्देही-३ मा हालसम्म बुटवल मोतिपुरका लेखनाथ गैरे, भैरहवाका अजयकुमार गुप्ता र बुटवलका किरण विकले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । यस्तै राष्ट्रिय जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
काठमाडौंका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले पनि उम्मेदवार बन्न क्षेत्रको स्थलगत अध्ययन गरेका छन् ।
बालेनकै खाद्य सल्लाहकार सन्तोष गिरी पनि उम्मेदवार बन्ने भन्दै तीनपटक रुपन्देही आएर घरदैलो गरेका छन् ।
संघीय लोकतान्त्रिक मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिन पाउने सहमति भए पनि उक्त दल निर्वाचन आयोगमा दर्ता भएन । अब उक्त दलबाट स्वतन्त्र उम्मेदवारी दिनुपर्ने बाध्यता आइलागेको छ । जनमत पार्टीले केही दिनअघि नाउपा छाडेका धनिराम चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्यद्वय स्वाती थापा र बसन्तविक्रम शाही, रुपन्देही अध्यक्ष सागरप्रताप राणा, स्वर्गीय दीपक बोहराका छोराहरू गौरव बोहरा र प्रज्ज्वल बोहरा तथा जिल्ला नेता दिलिप मल्लिकको नाम सिफारिस गरेको छ ।
नेकपा एमालेबाट खिमलाल भट्टराई, शशि पौडेल, यज्ञजित शाह, हरि अधिकारी र अमृता गुरुङको नाम केन्द्रमा सिफारिस भएको छ ।
नेपाली कांग्रेसबाट अहिलेसम्म कसैको नाम सिफारिस नभएको र केन्द्रले माग्ने वित्तिकै हुने क्षेत्रीय सभापति सुशील गुरुङ बताउँछन् । कांग्रेसबाट नक्कली भुटानी शरणार्थीको मुद्दा किनारा लागेको खण्डमा बालकृष्ण खाँण नै उम्मेदवार हुने चर्चा पनि छ ।
खाँण नभए पूर्वसांसद प्रमोद यादव, पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल, क्षेत्रीय सभापति सुशील गुरुङ र रमेश खनाल आकांक्षीको चर्चामा छन् ।
प्रतिक्रिया 4