+
+
Shares

अब अविरल संगीतमा बगिरहन्छिन् इन्द्रावतीकी गंगा

इन्द्रावतीको ‘छाल’ सुदूरमात्रै होइन, विश्वभर फैलियो । रमेश विकलको उपन्यास ‘अविरल बग्दछ इन्द्रावती’ जस्तै गंगाको स्वर ‘कलकल’ बग्न थालेको छ ।

रूपक चौलागाईं प्रतिक्षा रिजाल रूपक चौलागाईं, प्रतिक्षा रिजाल
२०८२ भदौ १७ गते २२:३०
गंगा सोनाम

१७ भदौ, काठमाडौं । उज्यालो अनुहार, निधारमा कालो टीका, थोरै डर अनि आइडल बन्ने असीमित सपना ।

सांगीतिक रियालिटी शो नेपाल आइडलको अडिसन राउन्डमा यस्तै भावभंगीमा प्रस्तुत भएकी थिइन्, गंगा सोनाम (कन्टेस्टेन्ट नम्बर ४०४९) ।

लामो कुर्ता-सलवारमा सजिएकी गंगा जब स्टेज चढिन्, निर्णायक मण्डलका सदस्यले सोधे- कस्तो गीत गाउनुहुन्छ धेरै ?

उनी अक्क न बक्क भइन् । बोल्न सकिनन् ।

निर्णायक मण्डलका सदस्य न्ह्यु बज्राचार्यले सहज बनाइदिए- देउडा टाइपको गाउँछौ ?

गंगाले भनिन्- हजुर ।

अर्का निर्णायक कालिप्रसाद बाँस्कोटाबाट थप प्रश्न तेर्सियो- सिन्धुपाल्चोकमा कसरी देउडा गाउनुहुन्छ ?

गंगाको सहज जवाफ थियो- अब गीत त हो ।

गंगाको जवाफले दर्शकदीर्घासम्म हाँसो गुञ्जियो । सवाल-जवाफकै क्रममा बज्राचार्यले भने- संगीतको कुनै सिमाना छैन ।

अनि गंगाले गाउन सुरु गरिन्-

हिमाल हिँउ पडिगयो । काँ छै डाँफ्या चरी ।

बसिगयो हलीको माया, नछुटिन्या गरी… ।

नेपाल आइडल अडिसन राउन्डको पहिलो प्रस्तुति दिने क्रममा गंगा ।

यो पश्चिम नेपालमा गाइने देउडा भाकाको अन्तरा हो । विशेषगरी पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने नृत्यप्रधान गीत ।

वरिष्ठ संगीतकार बज्राचार्यले भनेजस्तै गंगाका लागि गीतको कुनै सिमाना रहेन । सयौं डाँडापाखाका सीमा तोड्दै उनले नेपाल आइडलको ‘गोल्डेन टिकट’ हात पारिन् ।

इन्द्रावतीको काखमा हुर्किएकी गंगाले सुदूरको यो भाका सहजै गाइदिइन् । उनको कर्णप्रिय यो प्रस्तुति आफ्नो करिअरकै उछाल ल्याउने टर्निङ पोइन्ट बन्यो ।

इन्द्रावतीको ‘छाल’ सुदूरमात्रै होइन, विश्वभर फैलियो । रमेश विकलको उपन्यास ‘अविरल बग्दछ इन्द्रावती’ जस्तै गंगाको स्वर ‘कलकल’ बग्न थालेको छ ।

अन्ततः गत आइतबार उनले सोही मञ्चबाट आइडलको उपाधि चुमेकी छिन् ।

०००

गंगाको जन्म इन्द्रावती गाउँपालिका-१० भोटसिपामा भएको हो । २० वर्षअघि बुबा ध्रुव र आमा सीता सोनामको गर्भबाट गंगासँगै अर्की बहिनी जमुनाले पनि धर्तीमा पाइला टेकेकी थिइन् ।

दुर्भाग्य ! जमुनालाई बचाउन सकिएन ।

‘पाँचवटी छोरी जन्मिएर छोरो जन्मिएको थियो,’ बुबा ध्रुव सोनाम सुनाउँछन्, ‘जमुना जन्मनासाथ बितिन् । समय त्यस्तै थियो, बचाउन सकिएन ।’

समय बित्दै गयो । गाउँ नजिकैको स्कुलमा गंगाले ८ कक्षासम्मको अध्ययन पूरा गरिन् । ९ देखि १२ सम्म भने भोटसिपाकै पल्लो गाउँ बडहरेस्थित चण्डेश्वर माविमा पढिन् ।

त्यतिबेलासम्म गंगाका दाजु र दिदीहरू शहर पसिसकेका थिए । उनीहरूसँगै थप अध्ययनका लागि गंगा पनि काठमाडौं आइन् ।

बुबा ध्रुवका अनुसार, बाल्यकालदेखि नै गंगा गीत गुनगुनाउँथिन् । तर उनले यो स्टेजसम्म आफूलाई पुर्‍याउलिन् भन्ने चाहिँ उनले सोचेका थिएनन् ।

आइडलको स्टेजमा गंगाले गाएका गीतहरू यत्रतत्र छन् । सामाजिक सञ्जालमा उनको लोकप्रियता झनझनै चुलिँदै गएको छ ।

‘सानैदेखि अलिअलि गुनगुनाउँथिन् । तर यस्तो होला भन्ने सोचेकै थिएनौं,’ उनले भने ।

गंगा स्कुलमा हुने विभिन्न कार्यक्रममा प्रायःजसो भाग लिन्थिन् । उनका प्रस्तुतिले बेलाबेला केही पुरस्कार पनि घर भित्रिए ।

तर, ध्रुव र सीताले छोरीको गायन कलाबारे भेउ नै पाएनन् ।

आइडल जितेपछिको खुसीमा आमा, बुवा र दाईसँग तस्वीर खिचाउँदै गंगा ।

अन्ततः शहर पसेसँगै दाजु दीपेन्द्रको साथ र सहयोग उनका लागि कोशेढुंगा नै बनिदियो ।

गंगाका दाजु दीपेन्द्र सांगीतिक क्षेत्रमै सक्रिय छन् । केही म्युजिक भिडिओ पनि बजारमा ल्याएका दीपन्द्रको साथले उनलाई हौसला बढायो ।

चण्डेश्वरीमै दाजुले गाएको गीतले गंगालाई गायन क्षेत्रमै लाग्ने हुटहुटी बढायो । ‘स्कुलमा कार्यक्रम हुने भयो भने दाजुबहिनी नै मिलेर राति ९/१० बजेसम्म बसेर गाउँथे,’ ध्रुव सुनाउँछन् ।

उनै दीपेन्द्रको सहयोगमा गंगा नेपाल आइडलको प्लेटफर्मसम्म पुगिन् ।

आइडलको स्टेजमा गंगाले गाएका गीतहरू यत्रतत्र छन् । सामाजिक सञ्जालमा उनको लोकप्रियता झनझनै चुलिँदै गएको छ ।

‘खेलौंला देउडा’, ‘साँघुरी बारी नि हो’ जस्ता कयौं लोकभाकाले गंगालाई स्थापित गराएको छ । उनको लोकप्रियता बढ्दै जाँदा अन्ततः साथ र सहयोगको बाढी नै लाग्यो ।

विशेषगरी सिन्धुपाल्चोकका राजनीतिक दल, नेता, समाजसेवी, शिक्षक, जनप्रतिनिधि लगायतले उनको साथ छाडेनन् । पूर्वमन्त्रीहरू मोहन बस्नेत, युवराज दुलाल, शेरबहादुर तामाङ, सांसद माधव सापकोटा सुबोध लगायतले प्रत्यक्ष सहयोग गरे ।

आफन्त र छरछिमेकले गंगालाई आइडल जिताउन अभियान नै चलाए । गंगाको क्षमता र सहयोगी हातहरूले यतिबेला उनलाई सफलताको चुचुरोमा पुर्‍याएको छ ।

‘हर्षका आँसु बगिरहेका छन् । सगरमाथामा नै पुगेजस्तो भएको छ,’ बुबा ध्रुव सुनाउँछन् । आफ्नो सफलतालाई कसरी अर्थ लगाउने गंगाले अझै भेउ पाउन सकेकी छैनन् ।

०००

गंगाले ग्रान्ड फिनालेमा उपाधि चुम्दा जन्मदिने बुबा-आमा स्टेजको छेउमै थिए । आफ्नो सफलतासँगै बुबा-आमाको खुसीले उनमा हर्षको सीमा छैन ।

अनलाइनखबरसँग कुराकानी गर्ने क्रममा गंगाले भनिन्, ‘अझै आफूलाई तिखारेर संगीतमा अघि बढ्ने सोच बनाएको छु ।’

तारादेवी, रचना रिमाल जस्ता उम्दा गायिकाको गीत सुन्दै अघि बढेकी गंगा अब आफ्नो यात्रा अझै अघि बढ्ने बताउँछिन् ।

गंगाका अनुसार, आइडल बन्नुअघि उनले ‘बोलबोटम’ भन्ने गीत रेकर्ड गराएकी थिइन् । अमृत भारतीको शब्द रहेको उक्त गीत साढे २ लाख पटकभन्दा बढी पटक हेरिइसकेको छ ।

तारादेवी, रचना रिमाल जस्ता उम्दा गायिकाको गीत सुन्दै अघि बढेकी गंगा अब आफ्नो यात्रा अझै अघि बढ्ने बताउँछिन् ।

नेपाल आइडलबाट पाएको २५ लाख रकम आफ्नो सांगीतिक यात्राकै लागि खर्चने उनी बताउँछिन् । गंगा भन्छिन्, ‘मलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ।’

लेखक
रूपक चौलागाईं

चौलागाईं अनलाइनखबर डटकमका उप-सम्पादक हुन् ।

प्रतिक्षा रिजाल

रिजाल अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?