+
एभरेस्ट महिला भलिबल लिग :

यी हुन् एभरेस्ट महिला भलिबल लिग खेल्न आउने १८ विदेशी खेलाडी

२०८२ भदौ  १९ गते ८:४२ २०८२ भदौ १९ गते ८:४२
यी हुन् एभरेस्ट महिला भलिबल लिग खेल्न आउने १८ विदेशी खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वात्सल्या एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखरामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछ।
  • लिगका लागि थाइल्याण्ड, नेदरल्याण्ड्स, रुस, ब्राजिल लगायत १० देशका १८ विदेशी खेलाडी नेपाल आएका छन्।
  • पहिलो संस्करणको विजेता कर्णाली यशविसले ब्राजिल र ग्रीसका खेलाडी अनुबन्ध गरी उपाधि रक्षा गर्ने तयारी गरेको छ।

१८ भदौ, काठमाडौं । नेपाली महिला भलिबलको पहिलो फ्रेन्चाइज लिग वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करण यही भदौ २० गते शुक्रबार देखि पर्यटकीय नगरी पोखरामा सुरु हुँदैछ ।

लिगका लागि सहभागी ६ फ्रेन्चाइज टिमहरु पोखरा पुगिसकेका छन् भने लिग खेल्न विश्वका विभिन्न देशबाट पनि खेलाडीहरु नेपाल आएका छन् ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा गत वर्ष देखि सुरु भएको लिगको पहिलो संस्करण काठमाडौंमा भएको थियो भने दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुँदैछ ।

त्यसमा खेल्न थाइल्याण्ड, नेदरल्याण्ड्स, रुसदेखि ब्राजिलसम्मका खेलाडीहरु नेपाल आइसकेका छन् । दोस्रो संस्करणमा पनि ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस पटक लिगका लागि प्लेअर अक्सन समेत गरिएको थियो । जुन नेपाली भलिबल इतिहासमै पहिलो पटक भएको हो ।

पहिलो संस्करणको विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स गरी चार टिम निरन्तर छन् भने लुम्बिनी लाभाज र पोखरा निन्जाज नयाँ टिमको रुपमा छन् ।

पहिलो संस्करण खेलेको गण्डकी थण्डर्सको स्थानमा पोखरा निन्जाज र चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाज नयाँ टिमको रुपमा लिगमा भित्रिएको हो ।

कुन देशबाट कति खेलाडी ?

एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा खेल्न विभिन्न १० देशबाट १८ खेलाडी नेपालको पर्यटकीय नगरी पोखरा आइपुगिसकेका छन् ।

जसमा एसियाली राष्ट्र थाइल्याण्ड देखि युरोपको नेदरल्याण्ड्स, रुस, क्रोएसिया, ग्रीस, रोमानिया, बुल्गेरिया अनी अमेरिका र ब्राजिलसम्मका खेलाडीहरु छन् ।

लिग खेल्ने ६ फ्रेन्चाइज टिमले ३-३ विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार विदेशी खेलाडी अनुबन्ध गरेका हुन् । ६ वटै फ्रेन्चाइजमा ३-३ विदेशी खेलाडी छन् ।

यस पटक थाइल्याण्डबाट सबैभन्दा धेरै ५ खेलाडी नेपाल आएका छन् । यस्तै नेदरल्याण्ड्सबाट ३, रुस र ब्राजिलबाट २-२ खेलाडी अनुबन्ध भएका छन् ।

यसैगरी अमेरिका, कीर्गिस्तान, क्रोएसिया, ग्रीस, रोमानिया र बुल्गेरियाबाट १-१ खेलाडी अनुबन्ध भएका छन् ।

एभरेस्ट महिला भलिबल लिगमा अनुबन्ध भएका विदेशी खेलाडीहरु नेपालमा आएर लिग खेल्न निकै उत्साहित छन् । त्यसमा अधिकांश खेलाडी पहिलो पटक नेपाल आएर खेल्न लागेका हुन् ।

पहिलो संस्करणमा ललितपुरबाट खेलेका दुई थाइल्याण्डका खेलाडी वारान्या र सान्त्राकुन बाहहेक अरु सबै नयाँ विदेशी खेलाडी छन् ।

यस पटक विश्व महिला भलिबलमा चर्चित राष्ट्र ब्राजिल र नेदरल्याण्ड्सबाट पनि खेलाडीहरु आएका छन् । पहिलो संस्करणमा छिमेकी भारतका खेलाडीहरु पनि खेलेपनि यस पटक भने भारतका खेलाडी छैनन् ।

कुन टिममा कुन विदेशी खेलाडी ?

कर्णाली यशविस

साविक विजेता कर्णाली यशविसले यस सिजन ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलबाट दुई र युरोपियन राष्ट्र ग्रीसबाट एक खेलाडी अनुबन्ध गरेको छ ।

कर्णालीले ब्राजिलबाट सेटर आना फ्लाभिया र आउटसाइड हिटर मायरा भिटोरिया र ग्रीसकी एभान्जेलिया चान्टाभालाई अनुबन्ध गरेको हो ।

पहिलो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको कर्णालीले मार्की प्लेअर सुमित्रा रेग्मीको कप्तानीमा खेल्दैछ । अक्सनबाट नयाँ खेलाडी अनुबन्ध गरेको कर्णालीले विदेशी खेलाडीको आगमनपछि उपाधि रक्षा गर्ने अभियान बनाएको छ ।

कर्णालीको अन्य नेपाली खेलाडीमा सफिया पुन, पुजा थारु, जसना महतो, रश्मिता दुरा, नेविका चौधरी, रेविका लामा तामाङ र एलिसा भुजु छन् ।

ललितपुर क्विन्स

साविक उपविजेता ललितपुर क्विन्सले यस पटक पनि थाइल्याण्डबाटै तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

ललितपुरले पहिलो संस्करणको लिग खेलेको आउटसाइड हिटर वारान्या श्रीलाओङ र सेटर पत्राथिप सान्त्राकुनलाई निरन्तरता दिएको छ भने पहिलो संस्करण खेलेकी सुताड्दा चुएवुलिनको स्थानमा थाइल्याण्डकै राष्ट्रिय टिमबाट खेलिसकेका अर्का खेलाडी आउटसाइड हिटर दारिन पिन्सुवानलाई अनुबन्ध गरेको हो ।

राष्ट्रिय टिमकी लिबेरो सलिना श्रेष्ठलाई मार्कीमा निरन्तरा दिएको ललितपुरले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सलिना बुढा मगर, सुनिता राई, निशा चौधरी, सृष्टी खड्गी र भावना डाँगी छन् । ललितपुरले पनि विदेशी दुई र मार्की सलिना बाहेक नयाँ खेलाडीहरु अनुबन्ध गरेको हो ।

मधेश युनाइटेड

पहिलो संस्करणमा एक खेल पनि नजिती पुछारमा रहेको मधेश युनाइटेडले यस पटक युरोपियन राष्ट्र नेदरल्याण्ड्सबाट तीन जना विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

मधेशले नेदरल्याण्ड्सका आउटसाइड हिटर रोमी भिनस्ट्रा र सेटर डानिक आर्डेमालाई र आउटसाइड हिटर कर्स्टेन वेसेल्सलाई अनुबन्ध गरेको छ ।

मधेशले यस पटक राष्ट्रिय टिमका पूर्व खेलाडी समेत रहेकी कोपिला उप्रेतीलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यसअघि नेदरल्याण्ड्समा गएर विभिन्न कार्यक्रमहरुमा भाग लिइसकेकी कोपिलालाई मुख्य प्रशिक्षक बनाएपछि उनकै सम्बन्धका आधारमा मधेशले नेदरल्याण्ड्सकै खेलाडी अनुबन्ध गरेको हो ।

राष्ट्रिय टिमकी मुख्य स्पाइकर निरुता ठगुन्नालाई मार्कीमा निरन्तरता दिएको मधेशले अक्सनबाट आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट, बबिता बोहरा, बसन्ती साउद र स्नेहा ठगुन्ना लाई अनुबन्ध गरेको थियो ।

काठमाडौं स्पाइकर्स

पहिलो संस्करणमा तेस्रो भएको काठमाडौं स्पाइकर्सले दोस्रो संस्करणमा अझ बलियो भएर आउने लक्ष्यसहित टिम निर्माण गरेको छ ।

त्यसका लागि राष्ट्रिय टिमकी स्पाइकर उषा भण्डारीलाई मार्कीमै निरन्तरता दिएको काठमाडौंले थाइल्याण्डका दुई तथा बुल्गेरियाका एक खेलाडी अनुबन्ध गरेको छ ।

काठमाडौंले थाइल्याण्डका अपोजिट हिटर अपिन्या प्रतिबाथोङ र आउटसाइड हिटर कन्चना सिसाईकाएओ तथा बुल्गेरियन सेटर पोलिना नोकोलाएभा नेकोभालाई अनुबन्ध गरेको हो ।

काठमाडौंले यसअघि बुल्गेरियाकी सेटर पोलिना नेकोभाहसति इटलीकी मिडल ब्लकर/आउटसाइड हिटर ओउमायमा कोडिएल र काजखस्तानकी अपोजित हिटर अलेना कोलोतीजिनालाई अनुबन्ध गरेपनि अलेना र कोडिएल नआउने भएपछि थाईल्याण्डका दुई खेलाडी भित्र्याएको हो ।

नेपाली राष्ट्रिय टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की रहेको काठमाडौंमा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बालमिलका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । उषासहित कमलाले पनि पहिलो संस्करण काठमाडौंबाटै खेलेकी थिइन् ।

लुम्बिनी लाभाज

लुम्बिनी लाभाज एभरेस्ट महिला भलिबल लिगको नयाँ टोली हो । पहिलो संस्करण खेलेको चितवन शक्तिले दोस्रो संस्करण नखेल्ने लुम्बिनी नयाँ टोलीको रुपमा लिग खेल्न लागेको हो ।

लुम्बिनी लाभाजले पहिलो संस्करणमा चितवनको मार्की रहेकी राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीलाई नै मार्की खेलाडी बनाएको छ ।

यस्तै लुम्बिनीले रुसबाट दुई र कीर्गिस्तानबाट एक खेलाडी अनुबन्ध गरेको छ । लुम्बिनीले रुसबाट आउटसाइड हिटर भेरोनिका जुबारेभा र केसेनिय तिसिना तथा कीर्गिस्तानकी आउटसाइड हिटर ओगुलाई कुडाई कुलोभालाई अनुबन्ध गरेको हो ।

अरुणा मार्की रहेको लुम्बिनीमा कामना विष्ट, शान्तिकला तामाङ, एलिशा मानन्धर जेनिशा विश्वकर्मा, अनुशा चौधरी रोमा महतो, रिकजना माझी छन् । यस्तै लुम्बिनीले ट्यालेन्ट हन्टबाट जानकी केसीलाई अनुबन्ध गरेको छ ।

पोखरा निन्जाज

पोखरा निन्जाज यस पटक सिजन अर्को नयाँ टिम हो । पहिलो संस्करण खेलेको गण्डकी थण्डर्सले यस पटक लिग नखेल्ने भएपछि पोखरा निन्जाज नयाँ टोलीको रुपमा खेल्न लागेको हो ।

पोखरामै लिग हुने भएपछि यस पटक पोखरा निन्जा घरेलु टोलीको रुपमा रहनेछ र घरेलु समर्थन पनि पाउनेछ ।

पोखराले युवा सेटर प्रगती नाथलाई मार्की खेलाडी बनाएको छ । यस्तै पोखराले लिगका लागि तीन फरक देशका खेलाडीलाई अनुबन्ध गरेको छ ।

पोखराले अमेरिकन आउटसाइड हिटर एडेओला ओवोकोनिरान, क्रोएसियाकि मिडल ब्लकर लियो बोबान र रोमानियाकी आउटसाइड हिटर एना-मारिया बेरडिलालाई अनुबन्ध गरेको हो ।

पोखराले सुरुमा युरोपियन राष्ट्र सर्वियाकी आउटसाइड हिटर ल्युबिका केकमानलाई पनि अनुबन्ध गरेपनि उनी पारिवारिक समस्याका कारण अकस्मात आफ्नै देश फर्किएपछि उनको स्थानमा रोमानियाकी एना-मारिया बेरडिलालाई भित्र्याएको हो ।

यस्तै पोखराको अन्य खेलाडीमा कामना विष्ट, मिना सुनार, सुनिता खत्री, गरिमा बोहरा, एन्जिला प्रधान, निशा महर र भावना तामाङ छन् ।

एभरेस्ट महिला भलिबल लिग
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय