
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक कृषा चौलागाईंले 'पारस' शीर्षकमा नयाँ प्रेमकथामा आधारित फिल्म बनाउन फागुनदेखि छायांकन सुरु हुने बताएकी छन्।
- 'पारस' फिल्म विशाल चौलागाईंको लगानीमा केपी फिल्मसको ब्यानरमा बन्ने र पटकथा सचिन लादियाले लेखेको छ।
- कृषाले 'जहाजैमा' फिल्म निर्माण कार्य अघि बढेको छैन र 'पारस' पछि निर्माण हुने जानकारी दिइन्।
काठमाडौं । ‘पारस’ फिल्मको शीर्षकसँग नेपाली फिल्ममा अलग्गै विगत छ । सुरुमा ‘लुट’ फेम्ड निर्माता माधव वाग्लेले यो शीर्षकमा फिल्म बनाउन प्रक्रिया अघि बढाए ।
वाग्लेले छाडेपछि भुवन केसी यो शीर्षकमा फिल्म बनाउन तयार भए । तर, साउन महिनामा निर्देशक कृषा चौलागाईंले यो शीर्षकमा फिल्म दर्ता गरेकी छन् ।
यसको औपचारिक घोषणा कृषाले जन्मदिनको अवसरमा बुधबार आयोजित एक भेटघाटमा गरिन् । केही महिनाअघि जापान पुगेर ‘जहाजैमा’ फिल्म बनाउने घोषणा उनले गरेकी थिइन् ।
अहिले त्यो फिल्मको निर्माण कार्य अघि बढेको छैन । अघिल्लो फिल्मबारे अन्योल रहँदा चौलागाईंले ‘पारस’ बनाउने बताएकी छन् ।
विशाल चौलागाईंको लगानीमा बन्ने जनाइएको ‘पारस’को पटकथा सचिन लादियाले लेखेका हुन् । छायांकन पुरुषोत्तम प्रधानले गर्ने जनाइएको छ ।
केपी फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पारस’को छायांकन फागुनदेखि सुरु हुने जनाइएको छ । यो फिल्म प्रेमकथामा आधारित हुने उनले बताएकी छन् ।
यो फिल्मका कलाकारबारे बताइएको छैन । उनले भनिन्, ‘यो फिल्मलाई पुरुषोत्तम दाईले खिच्दै हुनुहुन्छ । मैले निर्देशन गर्दैछु ।’ सो अवसरमा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अतिथि थिए ।
साथै, कृषाले यसअघि बनाउने भनेको फिल्म ‘जहाजैमा’को निर्माताको रुपमा चिनाइएका उज्वल गुरागाईं पनि थिए । उक्त कार्यक्रममा गुरागाईंले ‘पारस’पछि ‘जहाजैमा’ निर्माण हुने बताएका थिए ।
कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐंचोपैंचो’ हो । उनको पछिल्लो फिल्म ‘पिताम्बर’ थियो ।
प्रतिक्रिया 4