+
+
Shares

सामाजिक संजाल बन्द हुँदा फिल्म-संगीतमा कस्तो असर पर्छ ?

पछिल्लो समय नेपाली फिल्म र संगीत क्षेत्रको ‘इको-सिस्टम’ नै सामाजिक संजाल वरिपरि घुमिरहेको थियो । प्रवर्धन होस् या बक्सअफिस, स्टारडम निर्माणको प्रक्रिया होस् या दर्शकसँग अन्तक्रिया गर्ने माध्यम, फिल्मको लागि सोसल मिडिया महत्वपूर्ण प्लाटफर्म भैरहेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते २२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सामाजिक संजाल फेसबुक, मेसेन्जर, युट्युब लगायतलाई बन्द गर्ने निर्णय गरेपछि देशभर यसको प्रभाव फैलिएको छ।
  • सामाजिक संजाल बन्दले नेपाली फिल्म उद्योगमा प्रवर्धन, बक्सअफिस र डायस्पोरासँगको पहुँचमा नकारात्मक असर पर्नेछ।
  • संगीत क्षेत्रमा युट्युब प्रतिबन्धले डिजिटल आम्दानी घटाउने, नयाँ प्रतिभा खोजीमा समस्या र भाइरल ट्रेन्ड रोक्नेछ।

काठमाडौं । सरकारले सामाजिक संजाललाई बन्द गर्ने निर्णय गरेपछि देशब्यापी यसको तरंग फैलिएको छ । फेसबुक, मेसेन्जर, युट्युब, एक्सजस्ता लोकप्रिय सोसल मिडियालाई निष्क्रिय तुल्याउने सरकारी निर्णयपछि यसले वहस पनि निम्ताएको छ ।

कतिपयले यसलाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको लागि धक्का भनिरहेका छन् भने कतिपयले ठूला प्रविधि कम्पनी नेपालको कानून मातहत आउनुपर्ने धारणा राखिरहेका छन् ।

यस्तोमा, सामाजिक संजाल बन्दको असर फिल्म र संगीत क्षेत्रमा ब्यापकरुपमा पर्ने निश्चित छ । पछिल्लो समय नेपाली फिल्म र संगीत क्षेत्रको ‘इको-सिस्टम’ नै सामाजिक संजाल वरिपरि घुमिरहेको थियो । प्रवर्धन होस् या बक्सअफिस, स्टारडम निर्माणको प्रक्रिया होस् या दर्शकसँग अन्तक्रिया गर्ने माध्यम, फिल्मको लागि सोसल मिडिया महत्वपूर्ण प्लाटफर्म भैरहेको थियो ।

फिल्ममा कस्तो असर पर्ला ?

बजारीकरण र प्रवर्धनमा क्षति :

ट्रेलर, पोस्टर, टिजर, गीत लगायतका प्रवर्धन सामग्री फेसबुक, इन्स्टाग्राम, युट्युबमार्फत दर्शकमाझ पुग्छन् । टिकटकको पनि यसमा केही हिस्सा छ । तर, यी सामग्रीको मुख्य माध्यम युट्युब नै हो । यस्तोमा, सोसल मिडिया बिना प्रवर्धन प्रणाली ध्वस्त हुने निश्चित जस्तै छ । बिना लागत प्रवर्धन हुँदै आएकोमा प्रचारको लागत ह्वात्तै वृद्धि हुनेछ । रिलिज तयारीमा रहेका दशैंका फिल्मलाई यसको असर तत्काल पर्नसक्छ ।

दर्शकको पहुँचमा कमी :

सामाजिक सञ्जालले फिल्मलाई विश्वब्यापी दर्शकमाझ लैजान मद्दत गर्छन । तर, प्लाटफर्मको रिक्तताले त्यो पहुुँचलाई सीमित तुल्याउनेछ ।

कमजोर डायस्पोरा सम्बन्ध :

विदेशमा रहेका नेपालीले नेपाली फिल्मको लागि ठूलो बजार ओगटेका छन् । सामाजिक सञ्जाल गुमाउँदा फिल्मले विश्वव्यापी दर्शकबाट टाढा हुनुपर्नेछ ।

इन्फ्लुएन्सरसँगको सहकार्यको अन्त्य :

टिकटक, इन्स्टाग्राम र युट्युबमा कलाकार र कन्टेन्ट क्रिएटरले प्रचारप्रसार र अन्तक्रिया गर्दै आएका छन् । प्रचारको यो शैली रोकिनेछ ।

बक्स अफिसमा प्रभाव :

सामाजिक संजाल प्लेटफर्महरूमा वर्ड अफ माउथ निकै चाँडो फैलिन्छ । सोसल मिडिया बिना फिल्म हेर्न दर्शक हलसम्म पुग्ने संख्यामा भारी गिरावट आउनसक्छ ।

विश्वव्यापी भ्यूअर्समा गिरावट :

अन्तर्राष्ट्रिय महोत्सवमा ध्यान आकर्षित गर्ने नेपाली फिल्मले प्रायः अनलाइनबाट प्रसिद्धी पाउँछन् । फेस्टिभल होस् या विदेशी प्रचारमा, सामाजिक संजाल नहुँदा नेपाली फिल्मले विश्वब्यापी प्रभाव गुमाउन सक्छ ।

संगीतमा कस्तो असर पर्ला ?

डिजिटल आम्दानीमा घाटा :

नेपाली संगीतकर्मी र रेकर्ड लेबलहरूको लागि युट्युब सबैभन्दा ठूलो आम्दानीको स्रोत हो । प्रतिबन्धले प्रत्यक्ष रूपमा आम्दानी घटाउनेछ ।

इन्डिपेन्डेन्स आर्टिस्ट (स्वतन्त्र कलाकार) लाई मुस्किल :

र्‍यापर, इन्डीगायक र उदीयमान ब्यान्डलाई सुन्न दर्शक तथा श्रोता रिल्स/युट्युबमा भर पर्छन् । सामाजिक सञ्जाल बिना, नयाँ प्रतिभाले बाहिर आउन संघर्ष गर्नुपर्ने हुन्छ । यसको संकेत युट्युबले ट्रेन्डिङ पृष्ठ हटाउँदा देखिएको थियो ।

भाइरल ट्रेन्ड रोकिनेछ :

धेरै नेपाली गीतहरू सोसल मिडिया डान्स च्यालेन्ज र रिलहरूमार्फत लोकप्रिय हुन्छन् । यो बिना गीतहरूले व्यापक पहुँच र लोकप्रियता गुमाउँछन् ।

विश्वब्यापी सहकार्यमा कमी आउँछ :

पछिल्लो समय नेपाली संगीतकर्मीले विदेशी कलाकार र ब्रान्डसँग सांगीतिक सहकार्य गरिरहेका छन् । यसको सुरुवात र प्रस्थान सोसल मिडियाबाटै हुन्छ । प्लेटफर्महरू प्रतिबन्धित गर्नाले नेपाली संगीतकर्मीलाई अन्तर्राष्ट्रिय स्तरमा काम गर्ने अवसरहरू कम हुन्छन् । किनभने, पछिल्लो समय नेपाली गीत विदेशी भाषामा पनि आइरहेका छन् ।

फ्यानसँगको अन्तक्रियता घट्ने :

कलाकारले लाइभ, टिप्पणीहरू र इनबक्समार्फत फ्यानहरूसँग अन्तक्र्रिया गर्छन् । यो प्रत्यक्ष सम्बन्ध गुमाउनुले कलाकारको ब्रान्डिङ र अन्तक्रियामा असर पार्छ ।

समग्रमा सोसल मिडिया बन्द हुँदा फिल्म उद्योगमा ३ असर पर्ने देखिन्छ । पहिलो– प्रवर्धनमा क्षति दोस्रो– बक्सअफिसमा असर र तेस्रो– डायस्पोरा पहुँच ।

संगीतमा पनि मुख्यतयाः ३ असर हुनेछन् । पहिलो– कमाइमा गिरावट आउँछ । दोस्रो– नयाँ प्रतिभाको खोजीमा धक्का र तेस्रो– भाइरल एक्सपोजर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?